शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा ओली पक्षको जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न

विष्णु पौडेल, टोपबहादुर रायमाझी र शंकर पोखरेलका यस्ता छन् तर्क
आइतबार, १९ पुस २०७७, १९ : ०१
आइतबार, १९ पुस २०७७

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । उनले सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचन गराउनका लागि सक्षम र तयारी अवस्था रहेको पनि बताए ।  आज बुटवलमा रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै  पौडेलले सरकारले सबै निकायका पदाधिकारीसँग छलफल गरेर तोकेकै समयमा निर्वाचन गराउने प्रस्ट पारे । उनले भने, ‘निर्वाचन आयोग चुनाव गराउन सक्छ, सुरक्षा निकाय सुरक्षा प्रदान सक्छन्, अर्थ मन्त्रालयले बजेटको स्रोत खोज्न सक्छ, त्यसैले निर्वाचन हुँदैन कि भनेर आशंका नगरे हुन्छ ।’

उनले प्रधानमन्त्री ओलीको काँधमा पार्टीको पुनर्गठन र निर्वाचन गर्ने जिम्मेवारी रहेको चर्चा गर्दै त्यो अभियानमा सघाउन सबैलाई आग्रहसमेत गरे । मन्त्री पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना हुने कुनै आधार नभएको दावीसमेत गरे । सविधानका धाराको व्याख्या गर्दै अहिले बाहिर चर्चा भएजस्तै प्रतिनिधिसभा पुनर्स्थापना हुने कुनै सम्भावना र आधार नभएको बताए । प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले प्रस्ट रुपमा प्रदान गरेको उनको जिकिर थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको ६४ प्रतिशत सांसदको समर्थन रहेको अवस्थामा प्रतिनिधिसभा विघटन गरेको दावी गर्दै उनले जनताको ताजा मत लिन जान पाउने अधिकार प्रधानमन्त्रीसँग हुने भएकोले कुनै पनि आधारमा संसद पुनर्स्थापना नहुने तर्क गरे ।

सोही कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओली साहसी नेता भएको बताए । प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै उनले भूकम्प र नाकाबन्दी एकैपटक थेग्नसक्ने खुबी ओलीबाहेक अरु कसैमा नभएको बताए । 

प्रधानमन्त्री ओलीलाई बोलेको कुरा पूरा गर्न सक्ने नेताको रुपमा आफुले चिनेको  पनि उनले बताए । उनले भने, ‘केपीको बोली गोली जस्तै, बोलेपछि बोल्यो बोल्यो । नेता त यस्तो पो हुनुपर्छ । अरु कहाँ छन् र यस्ता ?’ पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेकपामा दुर्घटना गराएको उनको आरोप थियो । आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई असफल बनाउन दाहाल–नेपाल एकपछि अर्को पडयन्त्र बनाउन थालेको आरोप पनि उनले लगाए ।

प्रधानमन्त्रीले ससंद विघटन गरेर सही काम गरेको मन्त्री रायमाझीले बताए । सरकारलाई काम गर्न नदिइएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जान निर्वाचनको मिति तोकेको प्रस्ट पार्दै उनले भने, ‘प्रचण्डलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष चाहियो, माधव नेपाललाई क्यासमा चाहियो भन्दै कराउँदा समस्या भयो । सधैं वार्तामा प्रचण्डले अध्यक्ष र प्रधानमन्त्री माग्ने, माधवले उधारोमा हुँदैन मलाई क्यास चाहिन्छ भन्ने ।’

दाहाल र नेपालले देशलाई गलत दिशामा लगेर अस्थिरता निम्त्याएकैले आफूलगायतका नेताले अध्यक्ष ओलीलाई समर्थन गरेको र देशलाई संकटबाट पार लगाउन मन्त्री भएको उनले बताए । दाहालमाथि उनले आफ्ना पुराना नेताहरु, क्षमतामान नेताहरुको संरक्षण गर्न नसेको आरोप पनि लगाए । 

जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘आरोप पत्र’ नै पार्टी फुटाउने कारण बनेको बताए । उनले उक्त अरोप पत्रमा प्रधानमन्त्रीलाई  ‘नेतामा हुने कुनै पनि गुण र नेतृत्व गर्न सक्ने क्षमता नै नभएको’ जस्ता छलफल नै हुन नसक्ने आरोप लगाएपछि पार्टी एकता टुटेको बताए । 

प्रचण्डले पूर्व एमालेभित्र रहेको अन्तरविरोधमा खेलेर पार्टीको नेतृत्व कब्जा गर्न खोजेको उनको आरोप थियो ।  नेकपाका स्थायी समिती सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले पूर्व एमालेको अन्तरविरोधमा खेलेर नै कार्यकारी अध्यक्षका रुपमा रहेका प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीमाथि अरोप पत्र प्रस्तुत गरेको दावी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप