पेप गार्डीओला भन्छन्-‘लामो समय प्रशिक्षणमै रमाउन सक्छु’
एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओलाले पहिले अपेक्षा गरेभन्दा लामो समय प्रशिक्षणमा सक्रिय रहन सक्ने बताएका छन् । ४९ वर्षीय गार्डिओलाले यसअघि आफ्ना अन्य अभिरुचीहरु पुरा गर्नका लागि चाडैं प्रशिक्षणबाट सन्यास लिने बताएका थिए ।
‘पहिले मैले चाडैं अवकाश लिने सोचेको थिएँ । अहिले मलाई लागिरहेछ कि म बुढो भएपछि मात्रै अवकाश लिनेछु । त्यसैले के हुन्छ मलाई थाहा छैन,’ गार्डिओलाले भने । गत नोभेम्बरमा म्यानचेस्टर सिटीसँग गार्डिओलाले दुई वर्षे नयाँ सम्झौता गरेका थिए । उनले अहिलेसम्म सिटीलाई ६ वटा प्रमुख उपाधि जिताइसकेका छन् । सिटीभन्दा अघि उनले तीन वर्ष बार्यन म्युनिख र चार वर्ष बार्सिलोनामा प्रशिक्षकका रुपमा बिताएका थिए ।
‘अनुभवले तपाईलाई सहयोग गर्छ, विशेषगरी पेशामा बाँच्ने मेरो शैलीमा’ गार्डिओलाले भने । आफ्नो प्रशिक्षण करियरमा गार्डिओलाले सबैभन्दा लामो समय बिताएको सिटीमै हो । उनले यहाँ पाँच वर्ष बिताइसकेका छन् । यसक्रममा उनले दुईपटक इङ्लिस प्रिमियर लिग, एकपटक एफए कप र तीनवटा लिग कप जितिसकेका छन् ।
आइतबार प्रिमियर लिगमा गार्डिओलाको म्यानचेस्टर सिटीले चेल्सीको सामना गर्दैछ । आठौं स्थानमा रहेको सिटी यस खेल जित्नसके छैटौं स्थानमा उक्लनेछ । शीर्ष चारभित्र रहेका टोलीहरुभन्दा सिटीले २ खेल कम खेलेको छ । त्यसैले आगामी दुई खेल लगातार जित्नसके सिटी तेस्रो स्थानमा उक्लनेछ ।
यद्यपि, उपाधिको सम्भावनाबारे उनी बोल्न तयार छैनन् । ‘यदि जनवरी र फेब्रुअरीमा के हुन्छ भने सोच्नुभयो भने हामी दुबै खेल हार्न पनि सक्छौं र जेसुकै पनि हुनसक्छ । प्रिमियर लिगमा हरेक खेल कठिन हुने भएकाले शान्त बस्नु नै राम्रो हुन्छ’ गार्डिओलाले भने ।