शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाग्लुङमा तङ्ग्रिदै पर्यटन

आइतबार, १९ पुस २०७७, १३ : २६
आइतबार, १९ पुस २०७७

बाग्लुङ । कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ ।  बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्वलाउन थालेका छन् ।  बागलुङमा पनि तङ्ग्रिदै गरेको पर्यटनको प्रभाव छ । धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि विस्तारै गति लिन थालेका छन् । महामारीको चपेटामा परेको पर्यटन क्षेत्रको विकासमा स्थानीय, प्रदेश र सङ्घीय सरकारद्वारा विनियोजित कार्यक्रम सञ्चालनको चरणमा प्रवेश गरेका छन् ।

 यस वर्ष जिल्लामा पर्यटकीय क्षेत्रको विकास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले १३ वटा उद्यान निर्माणको काम गर्दैछ । यही पुसको १५ बितिसक्दा जिल्लाभर निर्माण हुने उद्यानमध्ये चार वटाको काम शुरु भएको छ । बाँकी उद्यानको नापजाँच र लगत अनुमान तयार गर्ने काम चलिरहेको डिभिजन वन कार्यालयले जनाएको छ । 

जिल्लाभर छ वटा स्थानीय तहमा ११ वटा उद्यान र २ वटा विद्यालय तथा क्याम्पसमा हरियाली विकास कार्यक्रम चालू आर्थिक वर्षको लागि विनियोजित छन् । “उद्यान आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य हुन्, अन्य पर्यटकीय पूर्वाधारसँग जोडेर उद्यानको विकास गर्ने योजनामा छ  ” गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल भन्छन्, “यो वर्ष पर्यटन क्षेत्रमा विनियोजित सबै बजेटको काम हुनेगरी प्रक्रिया थाल्न निर्देशन दिएका छौं ।” 

 ताराखोलामा दुईवटा उद्यान बन्ने छन् । शहीद उद्यान, ताराखोला र मोतीमोर बराह पर्यापर्यटन कार्यक्रमका लागि रु १०÷१० लाख बजेट छ । मोतीमोर बराह पर्यापर्यटनको काम सम्झौता भएर शुरु भइसकेको कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । 

जैमिनी नगरपालिकामा दश लाखमा दुईवटा उद्यान बन्नेछन् । पाकोट, हिलपार्क, जैदी र देवल मन्दिर क्षेत्र बिनामारेमा पर्यापर्यटनको कार्यक्रम सञ्चालन हुनेछ । बागलुङ नगरपालिकाको अमलाचौरमा शहीद पार्क, रामरेखामा बिपी स्मृति पार्क, नारायणस्थानमा हरियाली पर्यापर्यटन, रामरेखामा हरियाली उद्यान र कालापानी हरियाली उद्यान निर्माण हुनेछन् । 

बिपी स्मृति उद्यानका लागि पाँच लाख र अन्यमा दश लाख बजेट छ । ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा हरियाली उद्यान बन्ने अधिकारीले बताए । त्यहाँ रु दश लाख बजेट खर्च हुनेछ । गलकोटमा भगत सर्वजित हरियाली उद्यान निर्माणका लागि ६ लाख ८३ हजार बजेट छ । 

जिल्लाभरका विद्यालयबाट प्रस्ताव मागेर पाँचवटा विद्यालयमा विद्यालय परिसर हरित प्रवद्र्धन कार्यक्रम र विद्यालय तथा कलेजमा हरियाली उद्यान निर्माणको कार्यक्रम सञ्चालन हुनेछन् । दुवै योजनाका लागि जम्मा रु २० लाख बजेट रहेको उनले बताए । पर्यटकीय गतिविधि बढाउने र युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा समेट्ने योजनाअन्तर्गत प्रदेशले उद्यान विकासका कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री लम्साल बताउँछन् । 

स्थानीय तहसँगको सहकार्यमा सबै योजनाको काम उपभोक्ता समितिले गर्नेछन् । हालसम्म डिभिजन वन कार्यालयमा रहेको तथ्याङ्कअनुसार चार वटा योजनाको मात्रै सम्झौता भएको छ । बाँकी योजनाको उपभोक्ता समिति गठन र योजना सम्झौताका लागि आवश्यक प्रक्रिया थालेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप