शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैङ्कका सीईओले कति कमाउँछन् ?

आठ बैङ्कले भुक्तानी गरे १५ करोड ६८ लाख
आइतबार, १९ पुस २०७७, ०८ : १८
आइतबार, १९ पुस २०७७

काठमाडौं । श्रम बजारमा अहिले पनि बैंकिङ क्षेत्रलाई प्रमुख आकर्षण मानिन्छ । राम्रो सेवा सुविधा, रोजगारीको सुरक्षा र कार्यालयभित्रै बसेर काम गर्नुपर्ने भएका कारण यो रोजगारी प्रमुख निजी क्षेत्रको रोजगारीमध्येकै प्रमुख आकर्षण बनेको हो ।

बैङ्कमा काम गर्ने साधारण कर्मचारीले पनि अन्य क्षेत्रका उच्च तहका कर्मचारीको भन्दा बढी आम्दानी हुने भएकोले सबैको ‘ह्वाइट कलर वर्कर’हरुको पहिलो रोजाई यही क्षेत्र बन्ने गरेको छ ।  तर, त्यही बैङ्कका प्रमुख कार्यकारी अधिकृतको तलब चाहिँ कति होला ? भन्ने विषयमा सबैलाई चासो हुनसक्छ ।

प्रत्येक बैङ्कले आफ्नो वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृतसहित बैङ्कका सञ्चालक समिति र उच्च व्यवस्थापनले पाएको तलब तथा अन्य सुविधा उल्लेख गर्नुपर्ने व्यवस्था छ । सो अनुसार हालसम्म १० वटा बैङ्कहरुले आर्थिक वर्ष २०७६/७७ को वार्षिक गरिसकेको छ ।

हाल नबिल बैङ्क, एनआईशी एशिया बैङ्क, कुमारी बैङ्क, सिटिजन्स बैङ्क, सनराइज बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, बैङ्क अफ काठमाण्डू, नेपाल बंगलादेश बैङ्क र एभरेष्ट बैङ्कले आफ्नो वार्षिक विवरण प्रकाशन गरेका छन् । उक्त विवरणका बैङ्कहरुले आफ्ना सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापकीय तहका कर्मचारीलाई अघिल्लो वर्ष दिएको तलब तथा अन्य सुविधा उल्लेख गरेका छन् ।

त्यसमध्ये एभरेष्ट बैङ्कले प्रमुख कार्यकारी अधिकृतको सुविधा उल्लेख नगरेर उच्च व्यवस्थापनको एकमुष्ट विवरण दिएको छ । नेपाल बंगलादेश बैङ्कले भने प्रमुख कार्यकारी अधिकृतको तलब मात्रै सार्वजनिक गरेको छ । अरु सुविधा सार्वजनिक गरेको छैन । बाँकी ८ वटा बैङ्कहरुले भने प्रमुख कार्यकारी अधिकृतले पाएका सेवा सुविधाको विवरण छुट्टै उल्लेख गरेका छन् ।

उल्लेखित ८ बैङ्कका कार्यकारी प्रमुखले अघिल्लो वर्ष १५ करोड ६८ लाख रुपैयाँ बराबरको तलब तथा अन्य सुविधाहरु बुझेका छन् । अघिल्लो वर्ष ती बैङ्कहरुले १४ करोड ९२ लाख रुपैयाँ खर्चेका थिए । त्यसमध्ये यो वर्ष ३ बैङ्कको सुविधा घटेको छ भने ५ बैङ्कको सुविधा बढेको छ । ८ वटा बैङ्कका सीईओहरुको औसत सुविधा अघिल्लो आर्थिक वर्षमा औसत १६ लाख ३३ हजार रुपैयाँ रहेको देखिएको छ ।

कसको कति लिए ?

हालसम्म प्रकाशित विवरणमध्ये गत वर्ष सबैभन्दा धेरै तलब सुविधा बैङ्क अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तलाई दिइएको छ । उनले अघिल्लो वर्षमा २ करोड ८१ लाख रुपैंया बुझेका छन् । यो अघिल्लो वर्ष उनले पाएको सुविधाको तुलनामा करिब २०.८९ प्रतिशत बढी हो । अघिल्लो वर्ष उनले २ करोड ३२ लाख रुपैंया पाएका थिए ।

त्यस्तै, एनआईशी एशिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले गतवर्ष २ करोड ५० लाख रुपैयाँ बुझेको सो बैङ्कको वार्षिक विवरणमा उल्लेख गरिएको छ । उनले पाएको यो तलब र सुविधा अघिल्लो वर्षको तुलनामा करिब १७.२७ प्रतिशत बढी हो । अघिल्लो वर्ष उनले २ करोड १३ लाख रुपैंया पाएका थिए ।

त्यस्तै, कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले १ वर्षको अवधिमा २ करोड ३८ लाख रुपैयाँ बराबरको तलब र सुविधा लिएका छन् । यो अघिल्लो वर्ष उनले पाएको रकम भन्दा ११.०३ प्रतिशत बढी हो । अघिल्लो वर्ष उनले २ करोड १४ लाख रुपैंया पाएका थिए ।

माछापुच्छ्रे बैङ्कले अघिल्लो वर्ष प्रमुख कार्यकारी अधिकृतका लागि २ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष बैङ्कले प्रमुख कार्यकारी अधिकृतका लागि १ करोड १८ लाख मात्रै खर्च गरेको थियो ।

बैङ्कले खर्च गरेको यो तलब तथा सुविधा सुमन शर्मा र सन्तोष कोइराला समेतको हो । शर्माले कार्यकाल सकिनुअगावै राजीनामा दिएपछि कोइराला निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी पाएका थिए । बैशाख १ गतेदेखि उनलाई पूर्णकालीन सीईओको जिम्मेवारी दिइएको थियो । समय नहुँदै बाहिरिएपछि शर्मालाई दिनुपर्ने अतिरिक्त सुविधाका कारण बैङ्कको व्ययभार थपिएको हो ।

बाँकी रहेका ४ वटा बैङ्कहरुका सीईओले भने गत वर्ष २ करोडभन्दा कम आम्दानी गरेका छन् । नबिल बैङ्कका सीईओ अनिलकेशरी शाहले यस वर्ष सो बैङ्कबाट १ करोड ६२ लाख रुपैयाँ मात्रै बुझेका छन् । यो अघिल्लो वर्षको भन्दा १८.०७ प्रतिशत कम हो । अघिल्लो वर्ष उनलाई बैङ्कले १ करोड ९८ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

त्यस्तै, सानिमा बैङ्कका सीईओ भुवन दाहालले गत आर्थिक वर्षमा बैङ्कबाट १ करोड ४६ लाख रुपैयाँ मात्रै पाएका छन् । अघिल्लो वर्ष उनको यस्तो आम्दानी २ करोड ८ लाख रुपैयाँ थियो । यो वर्ष उनको आम्दानी करिब ३० प्रतिशतले घटेको छ ।

उता, सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौड्यालले अघिल्लो वर्ष बैङ्कबाट १ करोड ३१ लाख रुपैंया बुझेका छन् । यो सुविधा अघिल्लो वर्षको भन्दा करिब ६ प्रतिशतले बढी हो । २०७६ बैशाखमा रत्नराज बज्राचार्यको कार्यकाल सकिएपछि पौड्याल सोही वर्षको साउनदेखि सो बैङ्कको कार्यकारी प्रमुखको जिम्मेवारीमा छन् ।

हालसम्म विवरण प्रकाशन गरेकामध्ये सबैभन्दा कम तलब सुविधा चाहिँ सिटिजन्स बैङ्क लिमिटेडका सीईओ गणेश पोखरेलले पाएका छन् । उनले बैङ्कबाट एक वर्षमा १ करोड ३१ लाख रुपैयाँ बुझेका छन् ।

अघिल्लो वर्ष बैङ्कले प्रमुख कार्यकारी अधिकृतका लागि १ करोड ७९ लाख रुपैंया खर्चेको थियो । यो रकम तात्कालिन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र पोखरेलले संयुक्त रुपमा बुझेको रकम हो । भण्डारीले पाएको सुविधा पोखरेलको भन्दा बढी भएका कारण यस्तो सुविधा घटेको जस्तो देखिएको हो ।

यसबाहेक नेपाल बंगलादेश बैङ्कले सीईओ ज्ञानेन्द्र ढुंगानालाई १ करोड ४१ लाख तलब दिएको जनाएको छ । यसमा भत्ता तथा अन्य सुविधा जोडिएको छैन । एभरेष्ट बैङ्कले सीईओलाई दिएको भुक्तानी उल्लेख गरेको छैन । उच्च व्यवस्थापनका कर्मचारीलाई भने यो वर्ष ४ करोड ८८ लाख भुक्तानी गरेको विवरण सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको भन्दा १८.७३ प्रतिशतले बढी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप