बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–नेपालमाथि ओलीको १ घण्टा प्रहार : गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन

शनिबार, १८ पुस २०७७, २२ : १८
शनिबार, १८ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि आरोप प्रत्यारोपको वर्षा जारी छ । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह एक अर्को विरुद्ध आगो ओकालिरहेको छ । प्रचण्ड–नेपाल समूहले ओलीलाई गोमन सर्पको संज्ञा दिएको छ भने ओली समूहले प्रचण्ड र नेपाललाई भेट्नु कुहिएर झरेको फलुसँग तुलना गरेको छ । ५ पुसमा सरकारले प्रतिनिधिसभा विघटन गरेपछि केन्द्रदेखि स्थानीय तहसम्म ओली र प्रचण्ड–नेपाल समूहले आन्तरिक भेलालाई तीव्रता दिएको पाइन्छ ।

भेलामा संसद विघटनबाट उत्पन्न पार्टी विभाजनका सन्दर्भमा तत्लो स्तरको आरोप–प्रत्यारोप प्रमुख स्थान पाएको छ । प्रचण्ड–नेपाल समूहको सडक आन्दोलनको नारा र ओली समूहको भाषण उस्ताउस्तै छ । औपचारिक रुपमा पार्टी विभाजन नहुँदै एक अर्कालाई कम्युनिस्ट आन्दोलनको मुख्य शत्रु करार गर्ने क्रम तीव्र छ । यतिबेला ओलीको बोलीको प्रहारमा विपक्षी पार्टी निरपेक्ष देखिन्छन् । ५ पुसयता ओलीले काँग्रेसलगायतका पार्टी वा नेतामाथि खासै टिप्पणी गरेको पाइँदैन । 

शनिबार काठमाडौंमा ओली समूहको जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा ओलीले प्रचण्ड–नेपालमाथि विषवमन मात्र गरेनन् सर्वाेच्च अदालत र निर्वाचन आयोगमा विचाराधीन विषयमाथि खरो टिप्पणी राखे । कार्यकर्तामाझ ओलीको दलिल ‘अदालतबाट संसद विघटन र निर्वाचनबाट आफ्नो समूहको पक्षमा निर्णय आउने’ थियो । तर एक घण्टा ४ मिनेटको भाषणामा विपक्षी पार्टीमाथि ओलीले कुनै शब्द खर्च गरेको सुनिएन ।

पार्टी विभाजन : भेट्नु कुहिएर दुइटा फल झरे

अंग्रेजी नयाँ वर्षको शुभकामनाबाट सम्बोधन सुरु गरेका ओलीले प्रचण्ड– नेपालमाथि कटाक्ष गरी नयाँ वर्षमा कम्युनिस्ट शुद्धिकरण अभियान चलाइने बताए । ‘त्रिशुली नदीमा फोहोर पर्‍यो भने पानीको छालले किनारमा फाल्छ । अर्को छाल आएर पानीबाट अलि परै फाल्छ, यो वर्ष कम्युनिस्ट शुद्धिकरण अभियान चलाइने छ । त्यस्तै गरी पार्टीभित्रका फोहोरहरु फाल्ने छौँ । शुद्धिकरणको कार्य सफलतापूर्वक अगाडि बढाउने छ । यो एउटा माइलस्टोन हुनेछ,’ ओलीको भनाइ थियो ।

ओलीले ‘प्रचण्ड–नेपाल नेकपाबाट बाहिरिएपछि पार्टी गतिका साथ अगाडि गएको’ पनि बताए । उनले भने, ‘पार्टी एकताको तीन वर्षसम्म काम हुन सकेन । समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि । हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट । खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।’

साथै ओलीले नेकपाको संस्थापन पक्ष आफू भएको भन्दै बरमाझियाको बुढाको पेडा पसल हो र असली र नक्कली हुन भन्दै प्रश्न उठाए ।  ‘उहाँहरूले एउटा निवेदन हाल्नुभएको रहेछ, असली हामी हौं भन्दै । यो बरमाझियाको बुढाको पेडा पसल हो र असली र नक्कली हुन ?  जसको घरको हो, त्यसले यो घर मेरो हो भनेर निवेदन हाल्न जान्छ? घरवाला भन्दैछ  । छानो चुहियो, अर्को बनाउँछु भनेर छानो भत्कायो । पुरानै छानो चाहियो भनेर छिमेकी कराउँछ,’ प्रचण्ड– नेपाल समूहमाथि ओलीको प्रहार थियो । 

जसको घर हो, उ मेरो घर हो भनेर निवेदन हाल्न नजाने उनले बताए । ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाjL गर्ने ?,’ ओलीको प्रश्न छ ।
ओलीले प्रचण्ड–नेपालसँग रहेको भनिएको बहुमतमाथि पनि प्रश्न उठाए । ‘उहाँहरुले बहुमत छ भन्नुहुन्छ । गफै त हो सम्धी ! कुन महाधिवेशनले भन्यो ? उहाँहरुसँग बहुमत छ भनेर । कुनै एउटा जिल्ला र निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउनुहोस् त ! दावी पनि कस्तो ? । हाम्रा कमरेडहरुले पहिले नै माला लगाउन खोज्ने ? कुन कार्यकर्ताले दियो बहुमत ? तपाईंहरुले भोट हाल्नुहुन्छ ? घरमा भनेको बहुमत हो र?,’ ओलीले भने । 

ओलीलाई नेकपाबाट निकाल्यौँ भनेर निर्वाचन आयोगका कर्मचारी हँसाउने काम भएको उनको भनाइ छ । ‘कार्की ब्यंक्वेटमा जानुभएछ । केही खानु भयो होला । अनि केपी ओलीलाई निकाल्यौँ भन्नुभएछ । केपी ओलीलाई पार्टीबाट निकाल्यौँ अरे  । निकाल्यौँ भनेर निर्वाचन आयोगमा जानुभएछ । निर्वाचन आयोगका कर्मचारी कति हाँस्नुभयो मलाई थाहा छैन,’ ओलीले भने ।

आफूरु आधिकारिक भएको दावी गर्दै उनले अहिले पनि प्रचण्डलाई अध्यक्ष, माधवकुमार नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेको बताए । उनले भने, ‘अरु पनि केही साथीहरु बैठकमा आउनु भएको छैन । केही कारणहरु होला, आउनु होला । हामी सम्झाउन खोजिरहेका छौं ।’

ओलीले खेलौना खेलाइरहेको बालकले आफ्नो दावी गरेजस्तै प्रचण्डले पार्टी दावी गरेको बताए । ‘खेलौना रहेको बालकसँग अर्को बालक पुगेछ, एकैछिन सँगै बसेर खेलेछ तर पछि खेलौना मेरो हो भनेर हिँडेछ । कस्तो प्रचण्डको डुप्लिकेड बालक रहेछ ! एकैछिन कार्यकारी के यसो दिएको थिएँ । सबै मेरो पो हो भन्न थाल्नुभयो,’ ओलीले कथा सुनाए ।

यस्तै ओलीले विश्व विख्यात हास्यकलाकार चार्ली च्याप्लिनको कथा सुनाउँदै अदालत र निर्वाचन आयोगले असली चार्ली च्याप्लिन छुट्याउने बताए । ‘एक पटक चार्ली चाप्लिनको क्यारिक्याचेर गर्ने प्रतिस्पर्धा भएछ । कसले गर्ने सबैभन्दा राम्रो क्यारिक्याचर भनेर । त्यहाँ चार्ली पनि सहभागी भएछन् । चार जना फाइनल राउन्डमा पुगेछन्। त्यसमा चार्ली पुगेछन्। क्यारिकेचरको अन्तिममा अरु नै असली चार्ली ठहरिएछ । हाम्रो अदालत चार्ली चाप्लिन कुन हो भनेर छुट्याउन नसक्ने अवस्थामा छैन । जुँगा हेरेर चिन्छ । जेल लगाएको कपाल हेरेर चिन्छ । अनुहार हेरेर चिन्छ । अनेक हिसाबले चिन्छ । कुम हल्लाएको भएपनि चिन्छ,’ ओलीले भने । 

यस्तै आफूहरु छोरी – बुहारीका नभई देशको भविष्यका लागि लडेकाले जनताको साथ आफ्नो समूहलाई रहने उनको भनाइ छ । ‘पेरिसडाँडामा के के चलेको छ ? प्रदेश स्तरीय भेला । आन्दोलन के के चलिरहेको छ । अलि अलि त सिसीमा औषधि राखेर बेच्ने मान्छेले रत्नपार्कमा मान्छे जम्मा पार्छ ।  त्योभन्दा धेरै मान्छे छैनन् । किनभने उहाँमा राजनीति छैन,’ ओलीले भने, ‘उहाँहरू छोरी बुहारीका लागि लड्दै हुनुहुन्छ । उहाँहरु एजेण्डा देश होइन । उहाँको एजेण्डा जनता होइन । उहाँको एजेण्डा लोकतन्त्र होइन । उहाँको एजेण्डा संविधान संशोेधन र संविधानको रक्षा पनि होइन।’  

आफूलाई काम गर्न नदिएर छिर्के लाएर रोक्न खोजेहरु अहिले सडकमा मानवीय संवदेनाको ख्याल नगरी गाली गरिरहेको उनको आरोप छ । ‘यो मान्छेले नेतृत्व गर्न पायो भने त देश सर्लक्कै बन्छ भनेर केही मान्छेको मन भतभत पोल्यो। छिर्के लाउन खोजे, रोक्न खोजे । अहिले सडकमा गएर गाली गर्दैछन् । उहाँहरुले मानवीय संवदेनाको ख्याल राखे हुन्थ्यो । देख्नेलाई लाज लागिसक्यो । उहाँहरुको नारा र कृत्य देख्नेहरुलाई लाज लागिसक्यो । नारा सुन्नुभयो ? गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन,’ ओलीको आक्रोश थियो ।

नाराकै विषयलाई लिएर पार्टीबाट हराएका केही मान्छेहरुबीच विवाद सुरु भइसकेको ओलीको भनाइ छ । ‘हाम्रो पार्टीबाट हराएका केही मान्छेहरुले एउटा सभा गरेछन् । त्यहाँ त दुईवटा दर्शन ढुंगा ठोक्किएजस्तो भएछ । एउटा पक्षले एउटा नारा लगाए अर्कोले अर्कै लगाएछन् । अहिले भर्खरै सुरु हुँदैछ उहाँहरुको हालत,’ ओलीले भने ।

प्रचण्ड–नेपाल सुन्तला खान गएर सल्लाघारी पुगेको ओलीको कटाक्ष गरे । ‘माथिका नेताको ध्यान जम्माजम्मी पदमा छ । पद चाहिएको भए पाउने ठाउँमा यता आउनुपथ्र्याे । सुन्तला खाने भए सुन्तालाघारीमा जानुपर्छ सल्लाघारीमा गएर पाइन्छ ? पद चाहिन्छ ठूलो ठूलो लाग्नुभएको छ खडेरी परेकातिर,’ उनले भने, ‘अहिले धेरै नभनौँ । ठीकै मात्रै भन्दैछु । प्रत्येक्षमा १६५ मध्ये कमसे कम दुईवटा अंक भएको सिट ल्याएर देखाउनुस् । उहाँहरु त्यहाँ पुग्नुहुन्न । फर्किनुहुन्छ । यदि फर्किने हो भने ठाउँ राखेका छौँ ।’

तर अब फर्किएर फेरि गुटबन्दी मच्चाउन नपाइने ओलीले बताए । ‘अब थान्कोमा बस्नुपर्छ । पार्टीको कार्यकर्ताजस्तै बस्नुपर्छ । गुटबन्दी गर्न पाइँदैन । गुटबन्दीलाई बिदा गर्‍यौँ । व्यक्ति फर्किए पनि गुटबन्दी फर्किन दिइने छैन ।’

प्रचण्ड– नेपाल प्रतिगमनकारी, देउवा प्रधानमन्त्री हुने प्रचार प्रायोजित

प्रचण्ड–नेपालबाट भएको प्रतिगमनकारी क्रियाकलापबाट संसद भंगको अवस्थामा पुर्याएको ओलीले दावी गरेका छन् । ‘उहाँहरुले प्रतिगमनकारी क्रियाकलाप गरिरहनु भएको थियो । प्रतिगमन तर्फको यात्रा गरिरहनु भएको थियो । हामीले प्रतिगमनलाई ब्रेक लगाउनु थियो । आन्दोलनलाई भिरबाट तल खसाल्न खोज्नु भएको थियो । त्यसलाई रोक्नु थियो । हामीले स्टेरिङ्ग सोझ्याउनु थियो । हामीले स्टेरिङ्ग सोझ्याएका हौं,’ संसद विघटन गर्नुको कारण सुनाए ।
प्रधानमन्त्री ओलीले सभामुखले तीनवटा अधिवेशन अगाडि सरकारले राखेका प्रस्ताव प्रस्तुत नगरिदिएको र तीन वर्ष देखिका विधेयक समितिमा अडकाउने काम गरेको गुनासो पोखे ।

उनले भने ‘संसदमा सरकारले निर्णयका लागि पेश गरेका प्रस्तावहरु प्रस्तुत हुँदैनन् । सभामुखले तीनवटा अधिवेशन भए, तीनवटा अधिवेशन अगाडि सरकारले राखेका प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदैनन् । तीन वर्ष अगाडिदेखि राखेका प्रस्तुत गरेका विधेयक समितिमा लगेर अल्झाइदिएको छ  । समितिबाट अगाडि बढ्दैन । किनभने सरकारलाई असफल देखाउन । त्यस प्रकारको स्थितिमा देशलाई लोकतान्त्रिक विधिबाट देशलाई अगाडि बढाउनका लागि अस्वस्थ षड्यन्त्रको चक्रव्युहमा देशलाई फँस्न नदिनका लागि यो प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा गर्नुपरेको हो,’ ओलीले थप प्रस्ट्याए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनरस्थापना गर्न सम्भव नभएको पनि बताए । उनले भने, ‘लोकतन्त्र खतरामा परेकाले संसद् विघटन गर्नुप-यो । आजको पत्रिकामा पनि जाली समाचार छपाइएको छ । मान्छेहरुले प्रायोजित समाचार छापेका छन् । पुनःस्थापना भयो भने फलानालाई प्रधानमन्त्री बनाउँछु भनेर छापिएको छ । २–४ मान्छेलाई झुक्याउन भनेका होलान् ? चुनावको तयारी भइसक्यो । मान्छे ताजा जनादेश लिन अघि बढेका छन् ।’
ओलीले संसद पुनर्स्थापना भएमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने समाचार बाहिरिएको थियो । ओलीले त्यसलाई खारेज गरे । 

उनले भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर ? पुनर्स्थापना हुँदैन । मुद्दा लड्न त पाइयो। मुद्दा लड्नु एउटा कुरा हो। तर प्रतिनिधिसभा पुनर्स्थापना हुने सम्भावना छैन।’ झमेलामुक्त भएर काम गर्नका लागि संविधानअनुसार नै प्रतिनिधिसभा विघटन गरिएको ओलीको दावी छ ।

प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा छाप्दा पार्टीका केही नेतामा छटपटी भएको बताए । ‘सरकारले जति काम गर्न सक्थ्यो, गर्न दिइएन । सरकारले जे काम गरेको थियो । त्यो प्रचारित हुन पाएन । कतिसम्म भनेको तपाईँहरुले सुनिसक्नुभयो । धरहरा बनाएको केपी ओलीले होइन इन्जिनियरले हो रे ! त्यति पनि थाहा छैन,’ ओलीले भने ।

यसवीचमा असाधारण र दुनियाँ आश्चयचकित हुनेगरी आर्थिक बृद्धि र प्रगति भएको ओलीको दावी छ । ‘विश्वमा नेपाल कहाँ छ ? थाहा थिएन । अहिले नेपाल कहाँ छ, थाहा छ । पहिले नेपालको प्रधानमन्त्रीको चर्चा पनि हुँदैन थियो । भारतका हरेक व्यक्तिलाई नेपालको प्रधानमन्त्री को छ भनेर सोध्यो भने कण्ठै छ,’ उनले भने ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्मृद्ध नेपाल र सुखी नेपालीको नारा ठीक छ भनेको भन्दै चिनियाँ राष्ट्रपतिले समेत यो राष्ट्रिय आकांक्षा ठीक भएको र सहयोग गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरे ।  तर प्रचण्ड  नेपालबाट त्यो कुरा कहिलै पनि नआएको ओलीको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप