शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

औंठाछापको हिसाब किताब !

शनिबार, १८ पुस २०७७, २२ : ०४
शनिबार, १८ पुस २०७७

 

 

 

गाउँभन्दा निक्कै पर छ सहर
या सहरभन्दा धेरै पर छ
मेरो घर ?
दुरी तय गर्न बाँकी छ ।

 
रित्तिसके आँखामा आँसु पनि
केवल छन गालामा
आँसुका नागवेली नीला रेखाहरू
ननिदाएको कैयन रात भयो
छट्पटीमै बिते  कैयन रातहरु
सिरानी साक्षी छ
गौंथलीका प्रेमिल जोडीहरू साक्षी छन् ।

अर्धमृत छ शरीर
घरै नजिकको गौंडो उक्लन नसकेर
गौंडामुनि नै बित्छन कुनै रात
उहिले उहिलै
उफ्रेरै कटिन्थ्यो यो नाथे गौंडो
कोरलीमाथि बहर उक्लेजसरी
हिजो आज यही गौंडो
सगरमाथाको बाऊ बनेको छ
र म थला परेको बुढो गोरू

तै पनि खै किन हो
स्वाभिमानपूर्वक ढुकढुक गर्छ मुटु
यो मर्ने बेलामा पनि
पछूतो मान्ने केही काम गरिएको छैन
म एक किसान हुँ
हिलोसँग खेल्ने
धूलोसँग खेल्ने
बालीसँग आलीमा बसेर
माया पिरतीका गफ गर्ने
गरीव एकदमै गरीव
भुइँमान्छे   
दस नङग्रा खियाउने
मैलो मान्छे
तर बालीनाली ए क्लासको फलाउन सक्ने मान्छे !

मलाई केही पनि थाहा छैन
कालो अक्षर भैंसी बराबर
अलिअलि चै थाहा छ
मेरो परिश्रम परेन भने
बाँझो धरती चिरिदैन
बाँझो धरती चिरिएन
र बीऊ रोपिएन भने
धरती वैला बस्छ
श्रृष्टि रोकिन्छ अन्नको
र भोकभोकै पर्छन
यो देशका राजा महाराजा समेत ।

आफू त अनपढ मान्छे
राजनीति केही बुझ्दिनँ
अलिअलि बुझ्छु
हाम्रो पसिनाको नीलो नदीमा पौडदै
नेताहरू सिंहदरबार छिर्छन्
हाम्रो पसिनाको न्यानो दहमा ती
हरेक बिहान स्नान गर्छन्
र मुस्कुराउछन् !

आफू त पढ्ने बेलामा
साहुको बाख्रा चराएको मान्छे
साहुको छोराजस्तो पढेको छैन
हिसाब किताब झन आउदैन
अलि अलि मात्रै बुझ्छु
साहुको घर अग्लिएको
मेरो पसिनाले हो
र मेरा छोराछोरी भोकै बसेका
हिसाब नमिलेर हो ।


आफू त गन्धे किसान
औंठाछाप मान्छे
अक्षरहरू चिन्दिनँ
अङ्कहरूको नियम थाहा छैन
तर यति चै थाहा छ-
औंला भाँचेरै पनि कि
मैले हिसाब गर्न पाउने हो भने
साहुको घर मेरो हुने थियो
मेरो घर साहुको हुने थियो
साहुको भनिएको गैह्री खेत
मेरो हुने थियो
र भोलिबाट मेरो खेत जोत्न
साहुले हलो समाउनु पर्ने थियो ।

आफू त सोझो मान्छे
आफू त लाटो मान्छे
माटाेकाे पुजारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप