शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले पुतली सरकार बनाउन खोजेपछि संसद विघटन गरिदिएँ : प्रधानमन्त्री ओली

शनिबार, १८ पुस २०७७, १८ : ३१
शनिबार, १८ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल कमयुनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताए । प्रचण्ड–माधव पक्षले प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोकन प्रतिनिधि सभा विघटन गरेको पनि बताए ।

उनले भने, ‘उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गरिरहनु भएको थियो र प्रतिगमन तर्फको यात्रा गरिरहनु भएको थियो । खास प्रतिगमनको तयारी गरिरहनु भएको थियो । हामीले प्रतिगमन रोक्नु थियो । त्यसलाई ब्रेक लगाउनु थियो । आन्दोलनलाई भिरबाट तल खसाल्न खोज्नु भएको थियो । त्यसलाई रोक्नु थियो । हामीले स्टेरिङ्ग सोझ्याउनु थियो । हामीले स्टेरिङ्ग सोझ्याएका हौं ।’

प्रधानमत्री ओलीले पार्टीलाई प्राप्त भएको दुई तिहाईलाई फुटाएर विभिन्न तत्वहरुसँग भित्रि साँठगाँठ गरेर जोडजाम गरेको पुतली सरकार बनाउने प्रयास गरिएको समेत बताए ।

दुई तिहाईको सरकार ढाल्ने, पार्टीको एकता भताभुङ्ग पार्ने र विभिन्न रंगीविरंगी तत्वहरु जोडेर सरकार बनाउने र हर्स ट्रेडिङको खेल सुरु गर्ने र सँधै अस्थिरता गर्ने प्रयासमा प्रचण्ड–माधव पक्ष लागेको बताए ।

देशमा जनताको इच्छा अनुसारको काम गर्ने र जनतालाई माया गर्ने सरकार चाहिएको हुनाले संसद विघटन गरिएको पनि बताए ।

प्रधानमन्त्री ओलीले सभामुखले तीनवटा अधिवेशन अगाडि सरकारले राखेका प्रस्ताव प्रस्तुत नगरिदिएको र तीन वर्ष देखिका विधेयक समितिमा अडकाउने काम गरेको समेत बताए । सरकारलाई असफल देखाउन तीन वर्ष देखिका विधेयकलाई समितिमा रोकेर राखिएको प्रधानमन्त्री ओलीले बताए । उनले भने ‘संसदमा सरकारले निर्णयका लागि पेश गरेका प्रस्तावहरु प्रस्तुत हुँदैनन् । सभामुखले तीनवटा अधिवेशन भए, तीनवटा अधिवेसन अगाडि सरकारले राखेका प्रस्ताव निर्णायर्थ प्रस्तुत हुँदैनन । तीन वर्ष अगाडि देखि राखेका प्रस्तुत गरेका विधेयक समितिमा लगेर अल्झाइदिएको छ  । समितिबाट अगाडि बढ्दैन । किन भने सरकारलाई असफल देखाउन । त्यस प्रकारको स्थितिबाट देशलाई अगाडि बढाउनका लागि लोकतान्त्रिक विधिबाट देशलाई अगाडि बढाउनका लागि अस्वस्थ षड्यन्त्रको चक्रव्युहमा देशलाई फस्न नदिनका लागि यो प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा गर्नुपरेको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनरस्थापना गर्न सम्भव नभएको पनि बताउनुभयो । ६४ प्रतिशत समर्थन रहेको दलको नेताले सरकार चलाउन्न भनेपछि ताजा जनादेश चाहियो भनेर निर्वाचन घोषणा गरिसकेपछि प्रतिनिधि सभा पुनरस्थापना हुनै नसक्ने बताए । बहुमत प्राप्त सरकार प्रमुखलाई संसद विघटन गर्ने अधिकार संविधानले दिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप