शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव

शनिबार, १८ पुस २०७७, १८ : १०
शनिबार, १८ पुस २०७७

कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन् ।

शिक्षा पत्रकार समाजले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा पोषणविद् डा अरुणा उप्रेती, जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेलगायतले विद्यालय सञ्चालन भएको या नभएको अवस्थामा पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिन नसकिए उनीहरुको स्वास्थ्य जीवन र असल सिकाइमा नकारात्मक असर पर्ने बताए । 

    डा उप्रेतीले घर र वरिपरि पाइने खानालाई छाडेर पत्रु खाना खाएर स्वास्थ्य बिगार्ने वा खाना नखाएर कुपोषित हुने स्थिति ल्याउने अभिभावकले जानी नजानी आफ्ना बच्चाको जीवन बर्बाद पारिरहेको टिप्पणी गरिन् । 

    डा पाण्डेले सबै स्थानमा विद्यालय खोल्ने स्थिति अझै नभएको र खोल्नु परेमा अनिवार्य मास्क लगाउने, हात धुने र सेनिटाइजर लगाउन छोड्न नहुने सुझाव दिए । उनले शहरी क्षेत्रमा अन्य व्यवसाय खुले पनि विद्यालय खुलेमा र जनस्वास्थ्यका मापदण्ड पालना नभएमा विद्यालयबाट समुदायस्तरमा दोस्रो लहरको महामारी फैलन सक्ने बताए । शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले विज्ञहरुका सुझावका आधारमा जनस्वास्थ्यका मापदण्ड पालना गरी शैक्षिक क्रियाकलाप अघि बढ्नुपर्ने बताए ।  

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका सचिव देवी खड्काले जनस्वास्थ्यका विषयवस्तुबारे अभिभावकलाई सचेतना फैलाउन आवश्यक रहेको जनाउँदै महासङ्घबाट पनि कार्यक्रम सञ्चालन गरिएको बताइन् । 

    काठमाडौँको पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारीले विद्यालयमा नर्सको समेत व्यवस्था भएकाले पत्रु खाना निषेध गराइएको जानकारी दिइन्। ललितपुरको आदर्शशौल युवक माविका प्रधानाध्यापक सरोजभक्त आचार्यले दैनिक तीन सत्रमा सञ्चालन हुनेगरी जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप