बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा भ्याक्सिनेसनको ढोका खोलियो

शनिबार, १८ पुस २०७७, १४ : ३६
शनिबार, १८ पुस २०७७

भारतको केन्द्रीय औषध मानक नियन्त्रण संगठनको  ( सेन्ट्रल  ड्रग कन्ट्रोल आर्गनाइजेसन )  कोभिड– १९ सम्बन्धी विशेषज्ञ समितिले हिजो शुक्रवार नयाँ वर्षको दिन अक्सफोर्डको कोरोना भ्याक्सिनलाई  प्रयोगमा ल्याउने आपतकालीन अनुमति दिएको छ।

यस अनुमतिका साथै भारतमा भ्याक्सिनेसनको ढोका खोलिएको छ।

इंग्ल्याण्डको अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिन निर्माता  कम्पनी एस्ट्रेजेनेकाको सहयोगमा यो भ्याक्सिन बनाएको हो।  भारतको पुणे स्थित सीरम इन्स्टिच्यूट ऑफ इण्डियाले एस्ट्रेजेनेकासंग भ्याक्सिन उत्पादन गर्ने समझौता गरेको हो।  सीरम इन्स्टिच्यूट ऑफ इण्डिया विश्व कै सबै भन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी हो।

सीरम इन्स्टिच्यूटले अक्सफोर्ड / एस्ट्रेजेनेकाको भ्याक्सिनलाई 'कोविशील्ड' का नामले उत्पादन गरेको हो।

सीरम इंस्टीयूटका अतिरिक्त अमेरिकन / जर्मन कम्पनी फाइजर / बायोटेकले पनि भारत सरकारसंग आफ्नो फाइजर भ्याक्सिनका लागि अनुमति मागेको थियो।  यसैगरी एक अन्य भारतीय कम्पनी हैदराबादको बायोटेकले स्वदेशमै निर्मित आफ्नो भ्याक्सिन 'कोभ्याक्सिन' का लागि भारत सरकारसंग अनुमति मागेको थियो।  तर पहिलो अनुमति  अक्सफोर्ड कै भ्याक्सिनले पाएको छ।

भारत सरकारले अक्सफोर्डको भारत निर्मित 'कोविशील्ड' लाई अनुमति दिनु २ दिनअघि नै इङ्गल्याण्डले अक्सफोर्डको भ्याक्सिनलाई अनुमति दिएको थियो।  इङ्गल्याण्डले यस अघि गत वर्षको डिसेम्बरमै फाइजर भ्याक्सिनलाई अनुमति दिएको थियो।

अविकसित तथा साधन सुविधा कमजोर भएका देशहरुका लागि अक्सफोर्डको भ्याक्सिन नै अनुकूल रहेको छ।  अक्सफोर्डको भ्याक्सिन पुरानो पद्धति (भाइरसबाटै बनाइने भ्याक्सिन - viral  vector  ) मा आधारित छ भने फाइजरको भ्याक्सिन नयाँ पद्धतिको 'म्यासेन्जर

आरएनए' भ्याक्सिन ( part  of  virus  genetic  code  ) हो।  फाइजरको 'म्यासेन्जर आरएनए' भ्याक्सिनलाई माइनस ७० डिग्री सेल्सियसको तापमानमा राख्नु पर्ने हुन्छ।  यसले गर्दा गरीब तथा  अविकसित देशका लागि फाइजरको भ्याक्सिन भण्डारण तथा वितरणमा ठूलो चुनौती हुन आउँछ।  अक्सफोर्डको भ्याक्सिनलाई भने 'रेगुलर फ्रीज़िंग' तापमानमै राख्न सकिन्छ।

यसै गरी मूल्यका हिसाबले पनि अक्सफोर्डको भ्याक्सिन ४ डालरको हाराहारीमा रहेको छ भने फाइजरको मूल्य २० डालर, मोर्डर्नाको मूल्य २५ डालर र रसियन स्पूतनिकको मूल्य १० डालर रहेको छ।

स्मरणीय छ जुनसुकै भ्याक्सिन होस् यसका दुइ वटा खुराक लिनु आवश्यक हुन्छ।  सीरम इन्स्टिच्यूटका निर्देशक अदार पुनावालाका अनुसार उनको कम्पनीले बनाएको अक्सफोर्ड भ्याक्सिन 'कोविशील्ड' को दुबै खुराकको मूल्य एक हज़ार भारतीय रुपैया भन्दा कम हुनेछ।  उनले आगामी मार्च महीनासम्म कम्पनीले भ्याक्सिनका दस करोड़ 'डोज' उत्पादन गर्ने  जानकारी दिएका छन्।

भारत सरकारले पहिलो चरणमा ३० करोड़ भारतीयलाई भ्याक्सिन दिने घोषणा गरेको छ।  सीरम इन्स्टिच्यूटको  उत्पादनले यो लक्ष्य पूरा हुँदैन।  अब हेर्नु छ भारत सरकारले भ्याक्सिनको कमी पूरा गर्न अर्को कुन भ्याक्सिनलाई अनुमति दिन्छ? हैदराबादको बायोटेक कम्पनीले बनाएको भ्याक्सिन  भारतमै बनेको भ्याक्सिन हो।  भारतीय प्रधानमन्त्रीले स्वयं बायोटेक कम्पनीको भ्रमण गरी सकेका छन्। फाइजर र मोर्डर्नाको भ्याक्सिनलाई अति चिसोमा राख्नु पर्ने भएकोले भारत सरकारले बायोटेकको भ्याक्सिनलाई अनुमति दिने संभावना बढी रहेको छ।

आफ्नो देशका साथै भारतले नेपाल लगायत आफ्ना मित्र देशहरुलाई पनि भ्याक्सिन उपलब्ध गराउने बाचा गर्दै आएको छ।

भ्याक्सिनलाई अनुमति दिनका साथै भारतले आजैदेखि देशभरिमै भ्याक्सिनको 'ड्राई रन' अभ्यास प्रारम्भ गरेको छ।  यो 'ड्राई रन' भारतका प्रत्येक राज्यको २ वटा शहरमा आयोजित हुँदैछ।  'ड्राई रन' भनेको भ्याक्सिनेसनको पूर्वाभ्यास हो ।  'ड्राई रन' अथवा भ्याक्सिनेसनको 'मॉक ड्रिल'मा भ्याक्सिनेसनका लागि 'कोल्ड स्टोर' को व्यस्थापन, ढुवानीको इंतज़ाम, भ्याक्सिनेसन स्थलमा भीड़को प्रबंधन, 'सोसल डिस्टेंसिंग' को पालना आदि परीक्षण गरिने छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप