बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थिरता कायम गर्न सरकारले संसद विघटन गरेको होः गृहमन्त्री थापा

शुक्रबार, १७ पुस २०७७, १६ : ४०
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहेका गृहमन्त्री थापाले शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा स्थायित्व ल्याउन सरकारले संसद विघटन गरेको बताएका हुन् ।

सरकारले संसद विघटन गरेर माध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सरकारले अग्रगामी कदम चालेको बताए । उनले भने– ‘ठूलो कदम सरकारले लियो मध्यावधि निर्वाचनमा जाने । संसदलाई विघटन गर्ने, यो संवैधानिक हो की असंवैधानिक हो, यो प्रतिगमनकारी कदम हो की अग्रगामी कदम हो भन्ने ठूलो बहस छ । हाम्रो नजरमा यो कदम अग्रगामी कदम हो । यो ठूलो राजनीतिक कदम हो । देशलाई फेरि स्थायित्व ल्याउनको निम्ति र फेरि कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नको निम्ति यो अपरिहार्य थियो ।’

संसद विघटन भएसँगै पार्टी भित्रको एउटा पक्ष संसद पुनरस्थापनाको माग गर्दै पार्टीबाट अलग भएको समेत उनले बताए । तर पहिलाको संसदले स्थायित्व ल्याउन सक्छ या नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने कुरामा पार्टीलाई एक ढिक्का गरेर जवाफ दिनुपर्ने पनि नेता थापाले बताए । उनले देशमा स्थिरता नचाहने पक्षले संसद पुनरस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप