शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली कलाकारहरुका लागि तनावको वर्ष रह्यो सन् २०२०

शुक्रबार, १७ पुस २०७७, १२ : ०२
शुक्रबार, १७ पुस २०७७

लन्डन । सन् २०२० को पात्रो अब छेउ लागेको छ । शताब्दीकै सम्भवतः पीडादायी वर्षलाई विश्वले बिदाइ गरेको छ । कोरोना भाइरस महामारीका कारण सन् २०२० विश्व जगतका लागि ऐतिहासिक तर विपत्तिको वर्ष रह्यो । आर्थिक, सामाजिक, राजनीतिक लगायत हरेक क्षेत्रमा प्रत्यक्ष प्रभावित तुल्याएर ओझेल परेको छ सन् २०२० । नेपाली कलाकार र कला क्षेत्रलाई पनि सन् २०२० अपवादबाहेक पूर्ण रूपमा अफापसिद्ध भयो । विशेषगरी नेपाली कलाकारहरुको रोजीरोटी एवं आयस्रोत हुने विभिन्न खालका साङ्गीतिक कार्यक्रम स्थगित भए । देशविदेशमा हुने सबैजसो निम्ता रोकिए । धेरैजसो नेपाली कलाकारहरुको प्रमुख आयस्रोत विदेश गएर कार्यक्रम प्रस्तुत गर्नु रहँदै आएको छ । नेपाली कलाकारहरुलाई विदेशका नेपालीहरुले गर्ने माया, प्रेरणा र हौसलाले नै नेपाली साङ्गीतिक क्षेत्र टिक्न सम्भव भएको धेरैको बुझाइ छ । सीमित परिधिभित्र रहेको नेपाली साङ्गीतिक बजार नेपालमै बसेर गीतसङ्गीत सिर्जना गरेर मात्र फस्टाउन पक्कै सम्भव  छैन । 

सन् २०२० को सुरुमा नै कोरोना सङ्क्रमणको महामारी सुरु भयो, जुनबेला कलाकारहरुका लागि राम्रो सिजन मान्ने गरिन्छ । विदेशमा तय भएका सबै कार्यक्रम रद्द भए । कार्यक्रमका लागि विदेश पुगेका कतिपय कलाकारहरुले कार्यक्रम गर्नसमेत भ्याएनन् । उल्टै अलपत्र भएर नेपालबाट पैसा मगाएर बस्न बाध्य हुनुपर्यो । तय भइसकेका कार्यक्रमका लागि अमेरिका पुगेका गायक हिमाल सागरको जस्तो तीतो अनुभव अन्य धेरै कलाकारहरुसँग पनि छ । 
पछिल्लो समयमा श्रव्यभन्दा दृश्यको बढी माग भएको नेपाली साङ्गीतिक बजारमा लकडाउन र भाइरस सङ्क्रमणका कारण रेकर्ड गरिएका कतिपय गीतको म्युजिक भिडियो छायाङ्कन रोकिएर दर्शक स्रोतामाझ पुग्नै पाएनन् । यस्तो परिस्थितिमाझ पनि केही कलाकारहरुले आफ्ना गीतसङ्गीतलाई निरन्तरता दिने प्रयास गरे । तर गीत रेकर्ड गरेर मात्र त्यसको प्रतिफल पक्कै पनि प्राप्त हुँदैन । 

 चलचित्र कलाकारहरु समेत फाट्टफुट्ट बन्ने गरेका म्युजिक भिडियोमा अभिनय गर्न बाध्य भए । धेरै कलाकारहरुले आफ्नो पेसालाई निरन्तरता दिने प्रयास गरे पनि आर्थिक रूपमा भने खासै उपलब्धि हुन सकेन । तर केही कलाकारहरुले भने राम्रै उपलब्धि गरे जसलाई उनीहरुको ठूलो भाग्य भन्नुपर्छ । महामारीकै समयमा पनि एउटा म्युजिक भिडियोमा बीसौँ लाखसम्म पनि लगानी गरे । दर्शक श्रोताका मन मुटुमा बस्न सफल गीतसङ्गीतले राम्रै सफलता पनि हात पारे तर आफ्नो पेसालाई निर्धक्क रूपमा निरन्तरता दिन धेरैका लागि सन् २०२० बाधक बन्यो ।  
नेपाली साङ्गीतिक क्षेत्रमा सन् २०२० को कस्तो प्रभाव रह्यो भन्ने बारेमा नेपालका स्थापित केही कलाकारको धारणा समेट्ने प्रयास गरिएको छ । 

रमेश बिजी– अध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल

 राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीका लागि सन् २०२० सामान्य नै रह्यो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष जस्तो गरिमामय पद सम्हाल्न पाउनु उनका लागि सन् २०२० गौरवको विषय बनेको छ । उनले सो अवधिमा झन्डै डेढ दर्जन जति साङ्गीतिक सिर्जना प्रस्तुत गर्न भ्याएका छन् । तर कोरोना माहामारी सबैभन्दा दुःखद क्षण भएको उनले बताए । विश्व नै आतङ्कित बनाएको कोरोना महामारीले सबैलाई सङ्कटमा पारेको छ । कोरोनाका कारण नेपाली साङ्गीतिक क्षेत्रलाई निकै ठूलो क्षति पुगेको छ । सन् २०२१ ले सबै नेपालीमा सुख, शान्ति र समृद्धि मिलोस् भन्ने कामना उनको छ । 

हिमाल सागर – गायक

सन् २०२० आफ्नो लागिमात्र हैन सम्पूर्ण मानव जातिका लागि नै नराम्रो वर्षको रुपमा सावित भएको गायक हिमाल सागर बताउँछन्  । सांगीतिक क्षेत्र पनि कोरोना महामारीको चपेटामा पर्यो, फलस्वरूप देश विदेशमा हुने सम्पूर्ण कार्यक्रममा बाधा पुगेको उनले स्मरण गरे । सन् २०२० मा मात्र हैन सन् २०२१ लाग्दै गर्दा पनि अझै कोरोनाको संकट हटेको छैन्, धेरैलाई तनाव सृजना गराएको बताउंदै उनले आफूले २०२० मा एउटा मात्र गीत गएर चित्त बुझाएको बताए । 'धेरै गीत गएर के गर्ने त्यसको कुनै प्रतिफल छैन् ?' उनले प्रश्न गरे । 

तर, उनको बुझाइमा कोरोनाको सकारात्मक पक्ष पनि छ । यसले राम्रो पाठ सिकाएको उनको ठम्याई छ । 'रोगले धनी गरिब, ठूलो सानो कसैलाई छोड्दैन, मानिसले घमण्ड गर्नु बेकार रहेछ, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने चेतना सबैलाई दिएको छ', उनी भन्छन्, 'तर, मानिसको जनजीवन कष्टकर बनाउनुका साथै धेरैलाई बेरोजगार बनायो धेरैको ज्यान लियो जुन कोरोनाको नराम्रा पक्ष हुन् । जेहोस् देश विदेशमा रहनुहुने सम्पूर्णमा अंग्रेजी नयां वर्षको शुभकामना ।'

सुनिता दुलाल –लोक तथा दोहोरी गायिका

समग्र रुपमा हेर्दा गायिका सुनिता दुलालको मूल्यांकनमा सन् २०२० असफल नै रह्यो । कोभिड १९ का कारण विश्व नै अस्तव्यस्त बन्यो, जसका कारण उनका धेरै योजना र कार्यक्रम स्थगित भए । सन् २०२० मा स्वदेश तथा विदेशमा हुने कुनै पनि कार्यक्रममा नेपाली कलाकारहरुलाई सहभागिता हुने अवसर मिलेन जसका कारण आर्थिक रुपमा पनि ठूलो क्षति व्यहोर्नुपरेको उनी सम्झिन्छिन् । 

'कैयौं मानिसहरुले अकालमा ज्यान गुमाउनुपरयो, देश नै संकटमा परयो । कोरोना भाइरसको एउटा मात्र राम्रो पक्ष छ जुन घर परिवारसंग बस्ने मौका मिलेको छ', उनले सुनाइन्, 'सधैँभरी चाडबाडको समयमा कार्यक्रमको सिलसिलामा घरपरिवारबाट टाढा रहनुपर्दथ्यो तर, सन् २०२० मा भने परिवारसँग बसेर रमाइलो गर्न पाइयो ।'

निर्मला थापा मगर –लोक गायिका

यो वर्ष जम्मा ४ वटा मात्र गित रेकर्ड गर्ने अवसर मिल्यो गायिका निर्मला थापामगरलाई । सबै कार्यक्रमहरु स्थगित भए । तर, विश्वभरी नै फैलिएको महामारीको चपेटामा आफूमात्र नपरेको भन्दै चित्त बुझाउने गरेको उनले बताइन् । 'कलाकारलाई गीत रेकर्ड र कार्यक्रममा सहभागी हुन नपाउँदा गाह्रो त हुने नै भयो नि', गायिका निर्मला थापा मगरले भनिन् । कोरोना संक्रमण र लकडाउनले गर्दा सोचेजति गीत निकाल्न नपाएको गुनासो पोख्दै उनले भनिन् 'सन् २०२० सामान्य नै रह्यो । अबको नयां वर्ष २०२१ सबैका लागि राम्रो होस् यहि प्रार्थना गर्न चाहन्छु ।' 

हेमन्त शर्मा –गायक

गायक हेमन्त शर्माका लागि पनि सन् २०२० खासै उपलब्धिमूलक  रहेन, अपवादबाहेक संसारभर धेरैका लागि नराम्रो नै रह्यो । कोरोना भाइरसले गर्दा आर्थिक पक्षलाई धेरै असर पुरयायो, रेमिट्यान्सले धानिएको हाम्रो जस्तो मुलुकमा आम्दानीको बाटो रोकियो । अझ सबैभन्दा बढी पीडा त खाडी मुलुकमा रोजीरोटी गर्न गएका नेपालीहरुले भोग्नु परेको गायक शर्माले बताए । दर्शक स्रोताहरुको माँझमा माइक समाएर रमाइलो गर्न नपाउँदा आफूलाई नरमाइलो महशुस भएको उनले बताए । आफ्नो पेशालाई निरन्तरता दिने उद्देश्यले सन् २०२० मा करिब आधा आदर्जन गीतहरु रेकर्ड गराए पनि व्यावसायिक रुपमा कुनै प्रतिफल नरहेको उनले बताए । 

'विश्वभर फैलिएको महामारीका कारण धेरै पुस्तक पढ्ने अवसर मिल्यो, चलचित्रहरु हेर्ने अवसर मिल्यो र इष्टमित्र साथीभाई र आफन्तसंग भेटघाट र रमाइलो गर्ने अवसर मिल्यो'- रमाइलो पक्षबारे शर्माले भने । वर्षौंदेखि हतारमा मनाउने गरेको चाडपर्व यसवर्ष परिवारसंग आनन्दले बसेर मनाउन पाइएको हेमन्त बताउंछन् । 'शरीरले आराम खोजेको थियो, त्यो पाइयो यसैमा सन्तुष्ट मिलेको छ', शर्माले बताए ।

सिर्जु अधिकारी –लोक तथा दोहोरी गायिका

गायिका सिर्जु अधिकारीका लागि सन् २०२० आर्थिक र सांगीतिक क्षेत्रमा सोचेजति सफल रहेन । 'स्टेज कार्यक्रमबाहेक गीत रेकर्डिंग र संगीत कम्पोज गर्ने अवसर मिल्यो, घरपरिवारसँग समय बिताउन पाइयो, समाजसेवामा आवद्ध भएर सामजिक सेवा गर्ने मौका पाउँदा धेरै कुरा सिकियो'- सिर्जुले भनिन् । त्यसो त उनले महामारीका बेला १५ वटा गीत गाएकी छन् भने १० वटा गीतमा संगीत भरेकी छन् ।

 'कोभिड १९ ले अभावमा जीवन जीउन, नैतिक कुरा सिक्न, सृजनात्मक बन्न र व्यवहारिक ज्ञान सिक्ने अवसर प्रदान गर्यो, मेरा लागि सकारात्मक पक्ष यही रह्यो', उनी सुनाउंछिन् । सधैं व्यस्त रहंदा घरपरिवारलाई मात्र हैन आफ्नो ख्याल गर्ने समय पनि नहुने भएकोले आफ्नो बारेमा पनि सोच्ने अवसर मिलेको सिर्जुले बताइन् । सन् २०२१ सबैको लागि सफल र सुखमय हुने उनको आशा एवंम् प्रार्थना छ ।

शिव परियार –गायक 

सांगीतिक सृजनाको दृष्टिकोणले गायक शिव परियारको सन् २०२० अघिल्ला वर्षको तुलनामा औसत वर्षको रुपमा रह्यो ।  १० महिनाको अवधिमा उनले लगभग  आधा दर्जन जति  गीत रेकर्ड गरेका छन् ।  शब्द र संगीतले मन छोयो भने मात्र गीत गाउने भएकाले  अघिल्ला वर्षहरुमा पनि संख्यात्मक हिसाबमा खासै गीतहरु नगाएको उनले बताए । कार्यक्रमहरु नहुँदा आफू लगायत थुप्रै कलाकारलाई पीडा भोग्नुपरेको छ, संसारका ९० प्रतिशत कलाकारहरु स्वास्थ्य र सुरक्षाका कारण घरमै क्वारेन्टाइनको रुपमा बस्न बाध्य भएकाले आर्थिक रुपमा मात्र हैन शारिरीक र मानसिक रुपमा समेत असर पुगेको उनको धारणा छ ।

पारिवारिक भेटघाट तथा पारिवारिक मिलन र आत्मीयताको हिसाबले सन् २०२० निकै सफल रहेको उनको बुझाइ छ । कार्यक्रममा व्यस्त भएर घरपरिवारसंगको बिछोडलाई यस दुखद परिस्थितिले मिलनमा परिवर्तन गराएको छ ।

मानिसहरुले आफ्नो शरीर र स्वास्थ्यको महत्व बुझ्ने अवसर पाएका छन् ।एकातिर मानिसहरु त्रसित बनेका छन् भने अर्कातिर इम्युन सिस्टमको लागि स्वस्थ खाने र शारीरिक तन्दुरुस्तिको लागि सबैलाई सचेत बनाएको छ ।
कोरोना संक्रमणका कारण धेरैले पीडा भोग्नुपरेको छ, धेरैको असामयिक निधन भयो, बेरोजगारीका कारण आर्थिक संकटको सामना गर्न परेको छ, धेरै नेपाली जनता भोकभोकै बस्न बाध्य भएका छन् ।महिनौंसम्म सामजिक संस्थाले खान खुवाउनुपरेको दुखद क्षणलाई सम्झिदै यस्ता समस्याप्रति सरकारले जिम्मेवारी लिनुपर्ने उनले बताएका छन् ।

सन् २०२१ को नयाँ वर्षसंगै देश विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहारुको दुख: पीडा हटेर जाने र पुन: सामान्य जीवन बिताउन पाउनेमा आफू विस्वस्त रहेको गायक शिव परियारले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप