घरमा बार्दली हाल्ने र शौचालय बनाउने काम अधुरै छाडेर बिदा भए नारायण राय यादव
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–७, छोटौलका किसान नारायण राय यादवको निधनपछि परिवार शोकाकुल छ । आर्थिक दुरावस्थाका बाबजुद उनले यतिन्जेलसम्म हिम्मतका साथ परिवारलाई सम्हाल्दै आएका थिए ।
हृदयाघातका कारण मंगलबार उनको निधन भएपछि भने परिवारमा शोक र अन्योल छाएको छ । ऋणबाट कसरी उक्सने र परिवारलाई कसरी सम्हाल्ने भन्ने चिन्ता बढेको उनका जेठा छोरा सियारामले बताए ।
चिनी मिलले चार वर्ष अघिदेखिको उखुको भुक्तानी नदिएपछि आर्थिक संकटमा परेका नारायण राय यादवले आफूसहित परिवारका १९ सदस्यको जिम्मेवारी आफ्नै काँधमा बोक्दै आएका थिए । उनलाई तीन छोराले कृषि कर्ममा सघाउँदै आए पनि चुनौतीहरु घट्न सकेको थिएन ।
२० बिघा जग्गाजमिनका साथ गाउँमा सम्पन्न परिवारमै मानिने उनी आर्थिक रुपमा भने जर्जर भइसकेका थिए । त्यसैले पनि उनी सबै किसानको वक्यौता रकम भुक्तानी गराएर मात्र उखु किसानहरुको आन्दोलन अन्त्य गर्नुपर्छ भन्ने पक्षमा थिए । सोही अभियानअनुसार आन्दोलनमा होमिन उनी काठमाडौं गएका थिए ।
एक वर्षअघिसम्म उनको परिवार कच्ची घरमा बस्दै आएको थियो । छोराहरुको बिहेपछि सन्तान थपिँदै जानु, आफ्नो अधिकांश जमिनमा लगाएको उखु बालीको भुक्तानी समयमै नपाउनु, खेतीका लागि समेत ऋण काढ्नुपर्ने अवस्था आउनुले गर्दा आर्थिक अवस्था खस्कँदै गएको थियो ।
सियारामका अनुसार परिवारका सदस्य बढेसँगै कच्ची घरमा बस्न साँघुरो भइसकेको थियो । ‘यसै ऋण, उसै ऋण भनेर बुवाले यसपाली नयाँ घर बनाउनुभयो,’ रातोपाटीसँग उनले भने, ‘चिनी मिलले अब त कसो भुक्तानी नगर्ला र भन्ने पनि थियो, चिनी मिलबाटै उखुको भुक्तानी पाइने आशले जसोतसो घर बनाइयो ।’
घर निर्माण कार्य अझै पूरा भइसकेको छैन । कोठाहरु बस्न लायक तुल्याएर ओत लाग्न मिल्ने हुनासाथ नयाँ घरमा उनले बसोबास सारे । तर बार्दली (रेलिङ) हाल्न बाँकी छ । नारायण राय यादवका परिवारमा ११ नाति–नातिना छन् । तीमध्ये आधाभन्दा बढी त स–साना छन् । घरमा रेलिङ नभएका कारण बालबालिका लड्ने खतराका बाबजुद उनी नयाँ घरमा सरे ।
सियारामका अनुसार काठमाडौं जानुअघि उनका पिताले भनेका थिए– म काठमाडौंबाट फर्किएपछि घरको बार्दली हाल्ने र शौचालय बनाउने काम पूरा गरौंला ।
त्यतिन्जेलसम्म घरका बालबच्चाको राम्रो हेरचाह गर्न, उनीहरुलाई बार्दलीविनाको खाली ठाउँमा जान नदिन नारायण राय यादवले छोरा–बुहारीलाई अर्थ्याएर गएका थिए ।
नयाँ घरसँगै जोडेर उनले शौचालय र स्नान घर निर्माण गराएका छन् तर त्यो पनि अपूरै छ । किसानको आन्दोलनमा सहभागी भएर उखुको सबै वक्यौता भुक्तानी गराएरमात्र फर्कन्छु भन्दै उनले पैसा आउनासाथ आफू घर आएर बार्दली हाल्ने र शौचालयको अपूरा काम सम्पन्न गराउने उनको योजना थियो ।
‘उखुको सबै भुक्तानी लिएरमात्र घर आउँछु भनेर बुवा जानुभएको थियो,’ सियारामले भने, ‘भुक्तानी पाउनु त परै जावस्, हृदयाघात भएर बुवालाई अस्पताल भर्ना गरेपछि हामीलाई खबर आयो, हामी काठमाडौं पुग्दा त उहाँको निधन भइसकेको रहेछ ।’
उखु किसानको आन्दोलन संघर्ष समितिले आफूहरुलाई बुवाको निधनपछि सम्पर्क गरेर ‘तिमीहरुको सबै बस्यौता भुक्तानी भएको छ’ भनेर सुनाएको तर भुक्तानी भए÷नभएकोबारे आफूहरुले बैंकमा गएर बुझ्न नभ्याएको उनले सुनाए । ‘अब काजकिरिया सकेर बैंकमा गएर बुझ्छौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख