शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजनैतिक उतारचढावमा काँग्रेस जिम्मेवार बन्नुपर्छ : नेता सिंह

बिहीबार, १६ पुस २०७७, २२ : ३४
बिहीबार, १६ पुस २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको समयमा काँग्रेस जिम्मेवार बन्नुपर्ने बताएका छन् । ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र बिपी कोइराला” विषयक एक दिवसीय प्रवचन कार्यक्रममा उनले राजनीतिक अस्थिरता अन्त्यका लागि अहिले काम गरेर देखाउने समय आएको बताए ।


अहिलेको राजनैतिक अस्थिरताको अन्त्यका लागि कांग्रेस जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, “राजनैतिक उतारचढाव हुँदा कांग्रेसले वागडोर सम्हालेको हो । अहिले फेरि त्यो काम गर्नु आवश्यक छ ।” 

अहिले संविधानको मर्म विपरीत सरकार अघि बढेकाले अस्थिरता बढेको उनले बताए । यसका लागि कांग्रेसले संविधानको मर्मलाई ख्याल गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिए।

“सरकारले संसद् भङ्ग गर्नु संविधान विपरीत हो”, पार्टीका पूर्वमहामन्त्री सिंहले भने । राष्ट्र, प्रजातन्त्र, संविधान जोगाउनका लागि जिम्मेवार बन्नुपर्ने भन्दै उनले भने, “अहिले जनताले स्थिरताका लागि नेकपालाई स्पष्ट बहुमत दिएको हो तर त्यो पूरा भएन ।”

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले काङ्ग्रेसले संबिधान अनुसार हुने निर्वाचन चाहन्छ, असंवैधानिक होइन भने । संविधानको रक्षा गर्ने विषयमा कांग्रेस अघि बढ्नुपर्ने उनको भनाइ थियो । एकता र विश्वासको वातावरण भएमा काँग्रेसले संविधान विरोधी शक्तिलाई ठाउँमा ल्याउन सक्ने उनको भनाइ थियो । 

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष उमा रेग्मी, नेपाली कांग्रेस चितवनका उपसभापति कैलाश कोइरालालगायतले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप