बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नेपालमा विश्वका ठूला देशहरुले आँखा गाड्नुको प्रमुख कारण यहाँको जलस्रोत : पूर्वराजदुत लीलामणि पौडेल

बिहीबार, १६ पुस २०७७, १९ : ३२
बिहीबार, १६ पुस २०७७


नेपालको जलस्रोत उपयोगको बहुआयामिक नीति बनाउँन विज्ञहरुले जोड दिएका छन् । बिहिबार काठमाडौंमा फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टले गरेको कार्यक्रममा बोल्दै उर्जा तथा जलस्रोत विज्ञहरुले नेपालमा राजनीतिक स्थीरता नभएका कारण जल सम्पदाको उपयोग गर्न समस्या रहेको बताएका हुन् । 

दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्ट्रि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चीनका लागि नेपालका पूर्व राजदुत लीलामणि पौडेलले नेपालमा विश्वका ठूला देशहरुले आँखा गाड्नुको प्रमुख कारणमध्ये एक जलस्रोत रहेको उल्लेख गरे । 

नेपालको प्राकृतिक सम्पदाको रुपमा रहेको जलस्रोतमाथि कब्जा गर्न विभिन्न बाहाना र कारण देखाएर नेपालमा पटक पटक विदेशी स्वार्थहरु घुस्ने गरेको उनको भनाई छ  । उनले भने, ‘त्यसका विरुद्धमा अडान लिन खोज्दा कतिपय अवस्थामा व्यक्तिगत सुरक्षाको समेत खतरा उत्पन्न भएको मैले महशुस गरेको छु ।’

उर्जा सचिव भएका बेला एउटा स्वार्थ समूहले नेपाललाई डुबाउने ठूलो प्रोजेक्ट डिजाइन गर्न खोजेको तर आफूले सफल हुन नदिएको बताए । लोडसेडिङको समयमा लोडसेडिङ घटाउने नाममा निकै मंहगोमा जिडेल प्लान्ट स्थापना गर्ने काम आफूले रोकिदिएको उनले स्मरण गरे ।

महँगो उर्जा हुनुभन्दा नहुनु नै सही भन्दै त्यो बेलाको डिजेल प्लान्ट प्रति युनिट २९ रुपैयाँले नेपालीलाई नै बिक्री गर्ने योजना रहेको तर सबै लागत हेर्दा प्रतियुनिट ४५ रुपैयाँभन्दा बढी पर्ने देखेपछि आफूले उक्त प्रोजेक्ट डिजाइन गर्नेहरुलाई यस्तो देशघाती काम नगर्न चेतावनी दिएको उल्लेख गरे । 

यस्तै उर्जा विकासको नाममा मित्रराष्ट्र अमेरिकाले नेपालको अर्को मित्रराष्ट्र अमेरिकाको बिरुद्धमा असर पर्ने गतिविधि गर्न दिन नहुने बताए । उनले नेपालको जलस्रोत नीति बनाउँदा पहिलो प्राथमिकतामा पिउने पानी, दोश्रो प्राथमिकतामा सिंचाई र तेश्रो प्राथमिकतामा मात्र उर्जा विकास राख्नुपर्ने बताए ।  

कार्यक्रममा पूर्व जलस्रोत मन्त्री तथा जलस्रोत विज्ञ दिपक ज्ञवालीले अमेरिकी परियोजना नेपालको हीतका लागि नभएको तर्क गरे । उनले नेपालीले उत्पादन गरेको बिजुली नेपालभित्रै बाँढ्नका लागि भन्दापनि भारत पु¥याउने उदेश्यका साथ निर्माण गर्न लागिएको बताए । 
अहिले नेपालमा लोडसेडिङ् हटेको दावी गरेपनि नेपालको उत्पादनको अनुपातमा झन्डै ५० प्रतिशत भारतबाट ल्याएका कारण संभव रहेको उल्लेख गरे । 

उनले बिनाकुनै कारण नेपाललाई जलस्रोथमा विश्वकै दोस्रो धनी देश भन्ने गरिएपनि त्यो सही नभएको बताए । नेपाल अर्ध सुख्खा मरुभूमीको रुपमा रहेको भन्दै ४ महिना बाढी र ८ महिना खडेरीको धनी भएको तर्क गरे । उनले अमेरिकी परियोजना एमसीसी र तिब्बती शरणार्थीको सहयोगका लागि ल्याइएको ऐन नेपालको भूमी प्रयोग गरेर अर्को देशका विरुद्ध प्रयोग गर्न ल्याइएको उल्लेख गरे । 

यस्तै अर्का वक्ता रतन भण्डारीले नेपालको जलस्रोतमाथिको बहस केवल उर्जा उत्पादनमा मात्र सिमित रहने भन्दै खानेपानी, सिंचाईको पाटो ओझेलमा पर्ने गरेको बताए । भण्डारीले जलस्रोतको बहुआयामिक उपयोगमा ध्यान दिनुपर्ने बताउँदै पानीलाई केवल विद्युतको आँखाले मात्र हेर्न नहुनेमा जोड दिए । उनले भने–‘नेपाललाई जलस्रोतको दोस्रो धनी देश भनिए पनि नेपालका ग्रामीण भूगोलहरुमा स्वच्छ खानेपानीको समस्या छ,  सिचाईमा आकाशेपानीको भर पर्नुपरेको छ, तराईमा जमिन मुनिको पानी उपभोग भइरहेको छ ।’
उनले केही मानिसले देशमा लोडसेडिङ अन्त्य भएको बताइरहेकोप्रति ब्यङ्ग्य गर्दै भने–‘हाम्रो गाउँमा कहिल्यै लोडसेडिङ हुँदैन किनकी अहिलेसम्म बिजुली पुगेको छैन ।’

उनले जहाँबाट विजुली निकालिन्छ, सबैभन्दा पहिला त्यहाँ स्थानीयलाई समृद्ध बनाउनुपर्ने उल्लेख गरे । यस्तै नेपाल सरकारका जलस्रोत तथा सिंचाई सचिव मधुसुदन अधिकारीले जलस्रोतलाई बहुआयामिक रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए । उनले अहिले सरकारले एकीकृत जलस्रोत नीति ल्याएको जानकारी गराउँदै उनले कुन कुन क्षेत्रमा कति उपयोगिता र कुन कुन क्षेत्रहरु प्राथमिकतामा हुने भन्ने छुट्याइएको स्पष्ट पारे । उनले पानीमा अन्तरक्षेत्रीय द्वन्द्व नहोस भन्ने कुरामा नेपालले ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा जलस्रोतका अभियन्ता भरतबहादुर शाहीले नेपालमा जलस्रोत प्रयोगबारे अहिलेसम्म पर्याप्त छलफल हुन नसकेको बताए । देशको मेरुदण्ड हुनसक्ने जलविद्युत आयोजनाको विकास र उपभोगबारे पर्याप्त अध्ययन हुन नसकेको धारण राखे । 

रमेश भट्टराईले सहजिकरण गरेको कार्यक्रमको सुरुमा फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टका तर्फबाट प्रभात चलाउनेले कार्यक्रमको अवधारणाबारे प्रकाश पारेका थिए । उनले नेपालको प्राकृतिक सम्पदा विश्वका लागि स्वार्थको विषय भएकोले जल तथा उर्जा नेपालको हीतका लागि कसरी प्रयोग भन्नेबारेमा पर्याप्त छलफल हुन आवश्यक रहेको बताए । 

कार्यक्रममा जलस्रोतका क्षेत्रमा लामो समयदेखि अध्ययन, अनुसन्धान, बहस गर्दै आएका विज्ञहरुको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप