शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

नेपाल–भारतबीच किन स्थगित भयो उच्चस्तरीय भ्रमणहरु ?

भारत भन्छ, ‘अब पालो नेपालको’
बिहीबार, १६ पुस २०७७, १५ : २८
बिहीबार, १६ पुस २०७७

नेपाल–भारतबीचको उच्च स्तरीय भ्रमणमा अहिले ब्रेक छ । भारतको तर्फबाट आफ्नो गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई नेपाल पठाएर शुरु भएको भ्रमणलाई अहिले विराम लागेको हो ।

नेपालका लागि भारत र चीनको एकैपटक उच्च स्तरीय भ्रमण शुरु भएको थियो । चीनले त्यसको निरन्तरता दिइरहेको छ भने भारतले भने अहिले नेपालका लागि सम्पूर्ण भ्रमण रोकेको छ । पुसको पहिलो हप्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गएपछि उताबाट भारतीय गृहमन्त्री अमित शाह वा रक्षामन्त्री राजनाथ सिंह आउने कार्यतालिका तय भएको थियो । तर पुस ५ गते नेपालमा भएको राजनीति दुर्घटनाका कारण सबै कार्यतालिका रद्द गरेको बताइएको छ ।

नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार रक्षामन्त्री सिंह वा गृहमन्त्री शाहको भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने कार्यतालिका तय थियो । त्यसको तयारी दुवै देशमा चलिरहेको थियो तर राजनीतिक दुर्घटनाका कारण सबै कुरा स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा राजनीतिक संक्रमण उत्पन्न भएको छ । देशमा अहिले जताततै आन्दोलन चलिरहेको छ । यो राजनीतिक स्थिरतमा कतै न कतै भारत र चीनको पनि भूमिक रहेको राजनीतिक विश्लेषकहरुले भन्दै आएका छन् ।

दुवै देशले आआफ्ना पक्षलाई उचालेको कारण यो राजनीतिक दुर्घटना भएको जानकारहरुको विश्लेषण छ । यस अवस्थामा भारतले ‘रिश्क’ लिन नचाहेको जानकारहरु बताउँछन् । यसअघि सीमा विवाद र त्यसपछि कोभिड–१९ का कारण दुई देशको बीचमा भ्रमण तथा संवाद बन्द थियो । पछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन संवाद भएपछि दुई देशको बीचमा सम्बन्ध सुधार भएको थियो ।

दूतावासका एक पदाधिकारीले भने, ‘अब पालो नेपालको हो । भारतको तर्फबाट तीन चारवटा भ्रमण भयो, अबको पालो नेपालको हो ।’ परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको औपचारिक निम्तो आइसकेको छ तर यताबाट सो भ्रमणको मिति तय गर्न नसकिरहेको दूतावास स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालय भन्छ, ‘भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला नेपाल भ्रमण आउनु भएको बेला औपचारिक निम्तो दिनुभएको थियो । तर जानुअघि एजेण्डा तय गर्नुपर्छ दुवै देशले त्यसको तयारी गर्नुपर्छ, अहिले त्यो नै भएको छैन ।’ परराष्ट्रमन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘भारतबाट भ्रमणको निम्तो आएको छ तर तत्कालै जाने कुनै त्यस्तो तयारी छैन । एजेण्डाहरुको विषयमा दुवै देशमा छलफल चलिरहेको छ ।’

उर्जा सचिव दिनेशकुमार घिमिरे अहिले दिल्लीमा छन् । उर्जा सम्बन्धी छलफलका लागि उनी दिल्ली गएका हुन् । उनी उताबाट फर्केपछि परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणको मिति तय हुनसक्ने सम्भावना रहेको भारतीय दूतावास स्रोतले जनाएको छ । परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमण सकिएपछि प्रधानमन्त्री अ‍ोलीको भ्रमण हुने भनिएको छ तर यी भ्रमणहरु हुने नहुने नेपालको राजनीतिक अवस्थामा भर पर्नेछ ।

प्रधानमन्त्री ओली वा परराष्ट्र मन्त्री ज्ञवालीले विदेश भ्रमण जाँदा संवैधानिक कुरा पनि उठ्नसक्छ । अहिलेको सरकारलाई काम चलाउ सरकार भनिएको छ । त्यो सरकारले कुनै देश गएर महत्त्वपूर्ण निर्णय वा सम्झौताहरु गर्न पाउँदैन । त्यतिकै घुमघामका लागि जान सकिन्छ तर गएर कुनै राष्ट्रिय महत्वको विषयमा सहमति गर्न यो सरकारले पाउँदैन ।

यस बारेमा पनि भारतीय दूतावासले अध्ययन गरिरहेको छ । प्रधानमन्त्री भारत भ्रमणमा जाँदा यहाँ संवैधानिक कुरा उठ्न सक्ने कुरामा दूतावास गम्भीर देखिएको छ । स्रोतले भन्यो, ‘यसको बारेमा दूतावासले अध्ययन गरिरहेको छ । तर, राजनीतिक अवस्था सुधार नभएसम्म उच्च स्तरीय भ्रमण गरेर वा गराएर रिश्क लिन चाहेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप