शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

'बिचौलियाले किसानको रगत र पसिनाको सौदाबाजी गरेर चारबुँदे सम्झौता गरे'

नारायण राय यादवको ज्यान जानुमा सरकार पनि दोषी छ : अशोक यादव, प्रदेश २ का सांसद
बिहीबार, १६ पुस २०७७, ०८ : २०
बिहीबार, १६ पुस २०७७

उखु किसानको काठमाडौँ केन्द्रित आन्दोलनमा जनता समाजवादी पार्टी नेपालका नेता एवं प्रदेश २ का सांसद अशोक यादव पनि सहभागी थिए । उनी सुरुदेखि नै किसान आन्दोलनका लागि माइतीघरमा थिए । पुस १३ गते सरकार र उखु किसानबीच सम्झौता भयो । यो सम्झौताप्रति उनी सन्तुष्ट छैनन् । बिचौलियाले किसानलाई फसाएको उनको आरोप छ । बिचौलियाले सरकारसँग सम्झौता गरेर उखु किसानलाई धोका दिएको उनको भनाइ छ । यो सम्झौतापछि उखु किसान नारायण राय यादवको निधन भयो । यो समाचार सुनेपछि उनी शहीद गङ्गालाल हृदय रोग उपचार केन्द्र पुगे र मृतक किसान नारायण राय यादवलाई शहीद घोषणा गर्नुपर्ने माग गरेका छन् । प्रस्तुत छ सरकार र उखु किसानबीच भएको सम्झौता तथा त्यसभित्र भएको चलखेलका बारेमा अशोक यादवसँग रातोपाटीले गरेको कुराकानी :

तपाईं पनि उखु किसानको आन्दोलनमा सहभागी हुन जिल्लाबाट आउनुभएको थियो तर सरकारसँग सुटुक्क सम्झौता भयो भनिन्छ, यस्तो कसरी हुनगयो ?

–म पनि किसानकै छोरो हुँ । अहिले पनि खेतीपाती नै गर्छु । पसिना सिञ्चित गरी उत्पादन गरेको उखुको मूल्य लिन यस्तो सङ्घर्ष गर्नुपरेको छ । यो त सरकारका लागि एकदमै लज्जाको विषय हो । १७ दिनसम्म आन्दोलन गरियो तर भुक्तानी नपाएको पीडाले एकजनाको हृदयघात भई मृत्यु भयो । म पनि १४ दिनसम्म लगातार  आन्दोलनमा बसेँ । यसक्रममा मैले के देखेँ भने बिचौलिया, सरकार र उद्योगी तीनै पक्षले किसानको वास्तविक समस्या बुझ्न सकेनन् । किसानले ९० करोड रुपियाँ पाउनुपर्ने छ । पसिना बगाएर कमाउने किसानका लागि यो रकम सानो होइन । यसमा किसानका हरेक कुरा जोडिएका छन् । कृषि उत्पादन किसानका लागि जीवन र मरणको कुरा हो । तर पनि भुक्तानी नदिनु किसानमाथि उद्योगीले गरेको ठूलो ज्यादती हो । यो पीडा सहन नसकेर एकजना किसानको ज्यानै गएको छ । यस्तै अवस्था रह्यो भने अरू किसानको पनि यसैगरी ज्यान जान सक्छ । अहिले किसान उखुको भुक्तानी नपाएर छटपटिरहेका छन् । बिचौलियाहरुले किसानलाई भ्रममा राखेर सुटुक्क वार्ता गरेका छन् । किनभने पूरै भुक्तानी नपाएसम्म आन्दोलन स्थगित नगर्ने र सरकारसँग वार्ता पनि नगर्ने आन्दोलनरत किसानबीच सहमति भएको थियो । तर अचानक यस्तो सहमति गरिदिए ।

तपाईं किसानका साथै जनप्रतिनिधि पनि हुनुहुन्छ । तपाईं त्यहाँ हुँदाहुँदै कसरी यस्तो सम्भव भयो ?

–त्यो आन्दोलनमा कुनै जनप्रतिनिधिको नताले म सहभागी भएको थिइनँ । म एउटा किसानका रूपमा सहभागी थिए । वार्तामा जाने बेला एकजना किसानले अशोकजीलाई पनि लग्नु न भनेका थिए तर सम्झौता गर्नेमध्ये एकजनाले भनेका थिए, होइन त्यहाँ राजनीतिक व्यक्तिलाई लग्नु हुँदैन । त्यसपछि मैले पनि जाने इच्छा देखाइनँ । पछि उनीहरुले चारबुँदे सम्झौता गरेर नै आए जुन हामीले अपेक्षा नै गरेका थिएनौँ । सबै भुक्तानी नभएसम्म हामी काठमाडौँबाट नफर्किने समझदारीमा थियौँ । तर बिचौलियाले किसानको रगत र पसिनाको सैदाबाजी गरेर चारबुँदे सम्झौता गरे ।

समझदारीविपरीत यो सम्झौता कसरी भयो त ?

–हेर्नुस् हुनेखाने, टाठाबाठा, सुकिला मुकिलाहरुले लुट्ने र बेवकुफ बनाउने भनेको सर्वसाधारण किसानलाई नै हो । उनीहरु एक थोक बोल्ने अर्कोथोक गर्ने गर्छन् । किसान ठूलो सपना देखाएर काठमाडौँ ल्याएका थिए । दुई चार दिन खुब मीठा मीठा कुरा गरे । तर अन्त्यमा आफ्नो फाइदा देखेपछि किसानलाई धोका दिएर सम्झौता गरे । मिल मालिक र सरकारले पनि ती बिचौलियाहरुलाई यो दिन्छु, त्यो दिन्छु भनेर लोभ्याए ।

भन्नाले यो वार्ता बिचौलियाहरुले गराएका थिए त ?

–हो, यो सम्झौता बिचौलियाले पैसा खाएर गराएका हुन् । विगतदेखि नै किसान र उद्योगबीच बसेर कुरा मिलाउने र कमिसन खाने काम गरिरहेका बिचौलिया नै अहिले यस्तो उपलब्धिहीन सम्झौता गरे । सोच्दै नसोचेका सम्झौता भएपछि नै शोकमा परेर नारायण राय यादवको ज्यान गएको हो । उनको ज्यान जानुमा बिचौलिया र सरकार दुवै दोषी छन् ।

यो आन्दोलनको अगुवाइ तपार्इंकै पार्टीका नेता राकेश मिश्रले गरिरहेका छन्, अनि बिचौलियाचाहिँ को भए त ?

–यसमा पार्टीको कुरा छैन । राकेश मिश्रजी यो आन्दोलनमा कुनै पार्टीको प्रतिनिधि बनेर आउनुभएको थिएन । त्यस्तो भएको भए म पनि जसपा नेपालको कार्यकर्ता हुँ र प्रदेश २ को सांसद पनि हुँ । तर वार्तामा म गइनँ । एउटा सामान्य किसान भएर सडकमै बसेँ । राकेशजीहरुले सुरुदेखि नै अगुवाइ गर्नुभएको कारण जानु भएको हो । तर जसले यी निर्दोष किसानलाई यो अवस्थामा पुर्याए तिनलाई त्यहाँका जनताले माफ गर्ने छैनन् । जनताले यो सबै मूल्याङ्कन गरिरहेका छन् । गत साल पनि कठ्याङ्ग्रिदो जाडेमा आएर एक महिनासम्म आन्दोलन गरेका थिए । त्यतिबेला पनि पाँचबुँदे सम्झौता गरेर घर फर्काइएको थियो र यसपालि पनि चारबुँदे सम्झौता गराएर किसानलाई घर फर्काइएको छ । एकजनाको ज्यान पनि गयो । यस्तो आन्दोलन गर्दा आखिर किसानले के पाए त ? यसको जबाफ बिचौलियाहरुले दिनुपर्ने हुन्छ ।

राकेश मिश्रलगायत केही अगुवाले मन्त्रालयमा गएर चारबुँदे सम्झौता गराए, यसले उनीहरुलाई फाइदा के भयो त ?

–धेरै कुरा आइरहेका छन् । बाहिर सुनिएअनुसार उद्योग, सरकार र ती अगुवा बीचमा लेनदेन भएको हो । तर अहिलेसम्म पुष्टि हुन सकेको छैन । सम्पूर्ण भुक्तानी नभएसम्म घर नफर्किने सहमति हुँदाहुँदै तुरुन्तै के जादु चल्यो, जसले सम्झौत गर्न बाध्य पार्यो ? यसले के पुष्टि गर्छ भने त्यहाँ केही खेल भएको छ । हेर्नुहोला जस्तोसुकै गल्ती गरे पनि आज नभए भोलि सत्य कुरा बाहिर आउँछ र त्यस्ता व्यक्ति दण्डित हुन्छन् नै । अशोकजीले वार्तामा जानुहुँदैन भनेर जुन दिन भन्नुभयो नि त्यही दिन मलाई शङ्का लागेको थियो, दाल में कुछ काला है । म नगएर ठिकै गरेँजस्तो लाग्छ अहिले । म गएर यस्तै सम्झौता भएको भए आज म पनि बदनाम हुन्थेँ । ममाथि आज प्रश्न उठ्थ्यो ।

नारायण राय यादवको शव माइतीघर मण्डलामा ल्याएर प्रदर्शन गर्ने र किसानको माग पूरा गराउने तयारी थियो तर ल्याइएन किन ?

–हो, हामीले नारायणको शव माइतीघर ल्याउन चाहेका थियौँ । किनकि जहाँबाट उखु किसानको आन्दोनल सुरु भएको थियो त्यहीँ ल्याएर सलामी दिने तयारी थियो हाम्रो । उहाँलाई शहीद घोषणा गराउने र क्षतिपूर्ति दिलाउँथ्यौँ । अरू सबै किसानको भुक्तानी पनि दिलाउँथ्यौँ । तर बिचौलियाका कारण त्यो पनि सम्भव हुन सकेन । प्रहरी परिचालन गरेर रोके । तिनै बिचौलियाले नारायण रायको परिवारलाई कन्भिन्स गरेर माइतीघरमा शव ल्याउन दिएनन् । शव लिन हामीले प्रहरी र प्रशासनसँग झगडा गर्यौँ । उनीहरुले दिन मानेनन् । अर्कोतिर नारायणका घरपरिवारका सदस्य पनि त्यहाँ आइपुगेका थिए । रुवाबासी चलिरहेको थियो । घरपरिवारमा शोक थियो । त्यही भएर हामीले पनि बल गरेनौँ, छाडिदियौँ ।

राकेश मिश्रले तपाईंकै जिल्लाबाट प्रतिनिधि सभाको चुनाव लडेका थिए । उनले काठमाडौँ आएर दुई पटक किसान आन्दोलनमा सहभागी भए, त्यसको नेतृत्व पनि गरे । तर उनी  किसान हुन् कि नेता वा अरू केही ? तपाईंले कसरी चिन्नुभएको छ ?

–होइन, उहाँ मेरो आदरणीय नेता हुनुहुन्छ । उहाँले किसानका लागि धेरै गर्नुभएको छ । किसानलाई काठमाडौँसम्म ल्याएर आन्दोलन गर्नुभएको छ । त्यसका लागि धन्यवाद पनि छ । तर उहाँ कस्तो मान्छे हुनुहुन्छ, त्यो तपाईंहरु आफैँ पत्ता लगाउन सक्नुहुन्छ । यसमा म धेरै टिप्पणी गर्न चाहन्न । प्रतिनिधि सभा चुनाव लड्दा उहाँले राम्रै मत ल्याउनुभएको थियो । उहाँको रवैयाका बारेमा पहिलादेखि नै मैले सुन्दै आएको थिएँ । तर कहिल्यै विश्वास गरेको थिइनँ । तर केही दिनदेखि उहाँको क्रियाकलाप हेर्दा मलाई शङ्का लाग्न थालेको छ । उहाँले गङ्गालाल हृदय रोग उपचार केन्द्रमा पनि नराम्रो व्यवहार देखाउनुभयो । उहाँले त अझ आन्दोलनको नेतृत्व नै गरेका कारण नारायण रायलाई माइतीघर मण्डलामा ल्याउनु पथ्र्यो । त्यहाँ ल्याएर श्रद्धाञ्जली दिएर क्षतिपूर्तिको माग गर्नुपथ्यो । उहाँको परिवारलाई क्षतिपूर्ति दिन लगाएर शहीद घोषणा गराउनुपथ्र्यो । उहाँका लागि निकै ठूलो अवसर थियो तर त्यो गर्न चाहनु भएन ।

तपार्इंले भनेको बिचौलिया राकेश मिश्र नै हुन् त ?

–बिचौलिया राकेश मिश्र हुनुहुन्छ कि को हुनुहुन्छ त्यो मैले भन्ने कुरा होइन । त्यसमा म कसैको नाम लिइदिनँ । परिस्थितिले नै सबै कुरा खोल्दै ल्याउनेछ । यस आन्दोलनमा थुप्र्रै बिचौलिया छन् । लाखौँ लाखको खेल हुन्छ हुँदोरहेछ । किसानलाई चलान बाँड्ने बेलादेखि नै बिचौलियाले खेल गरेका हुन्छन् । आन्दोलनमा त चलखेल हुन्छ भने जिल्लामा झन् ठूलो हुन्छ । यो कुरा किसानलाई थाह पनि हुँदैन । बिचौलियाको सञ्जाल किसानको खेतदेखि मन्त्रालयसम्म छ । त्यसलाई तोड्नु आवश्यक छ । राकेश मिश्र बिचौलिया हो वा होइन म भन्न सक्दिनँ तर उहाँले जसरी दुईचोटि किसानलाई काठमाडौँ ल्याएर आन्दोलन गर्नुभयो त्यसमा सफल हुनुभएन । गत साल पनि सम्झौता गराउँदा गलत म्यासेज गएको थियो । यसपालि त झन् एक जनाको ज्यानै गयो । त्यसको जिम्मेवारी उहाँले पनि लिनुपर्छ ।

उद्योग मन्त्री लेखराज भट्टले पनि यो आन्दोलनमा घुसपैठयाहरु छन्, बिचौलियाहरुको घुसपैठ छ भनेका थिए । तपाईं पनि त्यही भनिरहनुभएको छ, वास्तवमै त्यस्तो हो त ?

–यो किसान आन्दोलन मात्र होइन हरेक आन्दोलनमा घुसपैठिया हुन्छन् । आन्दोलन तुहाउने, अर्कै वतावरण बनाइदिने खालका घुसपैठिया हुन्छन् । म फेरि पनि भन्छु, बिचौलियाहरुले आफ्नो स्वार्थका लागि अहिले किसानलाई प्रयोग गरेका हुन् । यो आन्दोलनमा आएका सबै किसान थिएनन्, बिचौलिया पनि थिए ।

त्यसो भए अब उखु किसानले भुक्तानी नपाउने भए त ?

–२१ दिनभित्र किसानले भुक्तानी पाएनन् भने अब अर्कैखालको आन्दोलन हुन्छ । किसान विद्रोह हुन्छ । जसरी मधेस आन्दोलन भएको थियो । नाकाबन्दीसम्मको अवस्था आएको थियो । त्यस्तै हुन्छ अब किसानको आन्दोलन । अब काठमाडौँ आएर आन्दोलन हुँदैन । मधेसबाटै विद्रोह हुन्छ, जसलाई सरकारले थेग्न सक्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप