शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्तला उत्पादनमा कमी

मङ्गलबार, १४ पुस २०७७, ११ : ४२
मङ्गलबार, १४ पुस २०७७

सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । 

असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम नवलपुरका प्रमुख वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

नवलपुरमा यस  वर्ष करिब २० हजार टन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा २२ हजार ३८ टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष सुन्तला उत्पादनमा करिब १० प्रतिशतले कमी आएको शर्माले जानकारी दिए । यस वर्ष सुन्तला बिक्रीबाट करिब रु आठ करोडको कारोवार हुने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा सुन्तला बिक्रीबाट रु नौ करोड आम्दानी भएको थियो । गत वर्ष किसानले थोक मूल्य सरदर रु ३० देखि ४० प्रतिकिलो मूल्यमा बिक्री गरेका थिए । यस वर्ष सुन्तलाको मूल्यमा खासै गिरावट आएको छैन । 

यस वर्ष सरदर रु ५० देखि ६० प्रतिकिलो किसानले थोकमा बिक्री गरिरहेको शर्माले जानकारी दिए । मूल्यमा यस वर्ष वृद्धि भएकाले उत्पादनमा कमी आए पनि आम्दानीमा भने धेरै फरक नआएको उनको भनाइ छ ।

जिल्लाको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूलको राम्रो उत्पादन हुँदै आएकाले त्यसको उत्पादनलाई वृद्धि गराउँदै, व्यावसायीकरण गराउनका लागि यहाँ  आर्थिक वर्ष २०७५र७६ बाट १० वर्षे जोन परियोजना शुरु भएको हो ।

बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाको ४, ५ र ६ नं वडा, देवचुली नगरपालिका–६, गैँडाकोट नगरपालिका–१८ र हुप्सेकोट गाउँपालिका–५ मा कार्यक्रम लागू भएको छ । पाँच सय ३१ हेक्टर क्षेत्रफलमा यहाँ सुन्तला जात फलफूल खेतीको बगैँचा रहेको भए पनि उत्पादनशील क्षेत्रफल भने १८१ हेक्टर मात्रै रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख शर्माले बताए ।
 
परियोजनाअन्तर्गत समूह, सहकारीको विवरण अद्यावधिक गर्ने, बगैँचा व्यवस्थापन गर्ने, १०० हेक्टर क्षेत्रफल विस्तार गर्ने, सिँचाइ र गोठ सुधारका कार्यक्रम भइरहेको छ । अहिले जिल्लाको दुई स्थानमा सुन्तला र कागतीको नर्सरी निर्माणको कामसमेत थालनी गरिएको छ । सुन्तला र कागतीका बिरुवा अन्यत्रबाट ल्याउनुपर्दा बिरुवा मर्ने, लागत महङ्गो पर्ने गरेकाले यस वर्षबाट जिल्लाको मध्यविन्दुमा कागती नर्सरी र बौदीकालीमा सुन्तलाको नर्सरी निर्माण शुरु गरिएको कार्यालय प्रमुख शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप