शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् बलिउडका १० ठूला विवाद, जसले सोसल मिडियामा निम्त्यायो ठूलै बहस

मङ्गलबार, १४ पुस २०७७, १० : ४०
मङ्गलबार, १४ पुस २०७७

यो वर्ष यसै पनि कोरोनाभाइरसको महामारी र लकडाउनका लागि याद गरिनेछ तर बलिउडमा यस वर्ष जति पनि विवाद निम्तिए, ती अभूतपूर्व रहे । कुनै एक वर्षमा यति धेरै विवाद सायद पहिले कहिले देखिएको थिएन । लकडाउन थियो, तर विवादमा कुनै तालाबन्दी भने भएन । एकपछि अर्को विवाद आइरहे, त्यसमा सोसल मिडियाको भूमिका उल्लेखनीय रह्यो । 

१. दीपिका पादुकोण – छपाकको रिलिज अघि जेएनयूको भ्रमण

वर्षको सुरुवातमा पहिलो विवादको केन्द्र बनिन् दीपिका पादुकोण । उनको फिल्म छपाक यसैवर्ष रिलज भएको थियो । वास्तवमा, दीपिकाले फिल्मको रिलिज अघि जनवरीमा जवाहर लाल नेहरु विश्वविद्यालयको भ्रमण गरेका थिए जहाँ केही विद्यार्थी प्रहरीविरुद्ध प्रदर्शनमा बसेका थिए । दीपिकाको यो भ्रमण सोसल मिडियामा अत्यधिक छायो  । उनको फिल्म पनि निशानामा आयो । विशेषगरी एक पात्रको  मुश्लिम नाम हिन्दू बनाएको भन्दै आरोप लाग्न थाल्यो । यद्यपि, यो खबर गलत प्रमाणित भयो । 

२. कनिका कपुर – बलिउडकी पहिलो कोभिड–१९ द्वारा संक्रमित सेलिब्रिटी

मार्चको मध्यबाट भारतमा कोरोनाभाइरसको प्रकोप सुरु भएको थियो । यो विषयमा देशभरी सावधानी अपनाउ भन्दै दिशानिर्देश जारी गरिएका बेला बलिउड गायिका कनिका कपुर कोभिड–१९ द्वारा संक्रमित भएको खबरले सनसनी मच्चायो । कनिका कोरोनाद्वारा संक्रमित हुने पहिलो बलिउड सेलिब्रिटी बनिन् । तर समस्या कोरोना पोजेटिभ भएको खबरमा थिएन, उनीमाथि लण्डनबाट फर्किएपछि क्वारेन्टिनमा बस्नुको साटो पार्टी गरेको र यसले करिब ३ सय मानिसहरुमा कोरोना फैलने खतरा निम्तिएको भन्ने  आरोप लाग्यो । कनिकाविरुद्ध उत्तर प्रदेश प्रहरीले ऊजुरी दर्ता पनि गरेको थियो । कनिका कोरोना नेगेटिभ हुनु अघि थुप्रै दिनसम्म लखनउको मेडिकल इन्स्टिच्युटमा भर्ना भइन् । 

३. सुशान्त सिंह मृत्यु प्रकरण – हत्या कि आत्महत्या ?

सुशान्त सिंह राजपूतको दुःखद निधन यो वर्ष उनका करोडौं प्रशंसकका लागि झट्का थियो । तर जुन परिस्थितीमा सुशान्तको मृत्यु भयो, यसले निकै विवाद निम्त्यायो । बलिउडमा पनि यसको असर देखियो । थुप्रै सेलिब्रिटीले सुशान्तको मृत्यु प्रकरणमा आ–आफ्नो धारणा प्रस्तुत गरे । सुशान्तलाई न्याय दिलाउने लडाईं क्रमशः कडा हुँदै गयो र यो केसकी मुख्य आरोपी सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको विषयमा सेलिब्रिटी खेमामा बाँडिए । यो विवादको निशानामा करण जोहर, आलिया भट्ट र थुप्रै सेलिब्रिटी किड्स परे । सुशान्तको मृत शरीर १४ जूनमा उनको फ्ल्याटमा भेटिएको थियो । यसको अनुसन्धान सिबिआईले अझै पनि गरिरहेको छ । 

४. बलिउडमा ड्रग्स कनेक्सन – थुप्रै सेलिब्रिटी निशानामा

सुशान्तको मृत्युपछि प्रवर्तन निर्देशनालयले रिया चक्रवर्तीसँगको सोधपुछको क्रममा केही पुराना ह्वाट्सएप च्याट पनि पायो जसको आधारमा ड्रग एंगलको इन्ट्रि भयो । सुशान्तले ड्रग्स सेवन गर्ने गरेको खुलासा भयो । नारकोटिक्स कन्ट्रोल ब्यूरोको अनुसन्धान जति जति अघि बढ्यो, लागुऔषध कारोबारीको गिरफ्तारी भयो र थुप्रै बलिउड सेलिब्रिटीको नाम अघि आयो । यीसँग एनसीबीले सोधपुछ गर्यो । अर्जुन रामपाल, दीपिका पादुकोण, सारा अली खान, रकुलप्रित, श्रद्धा कपुरसँग सोधपुछ गरियो । यसबारे राज्यसभामा पनि चर्चा भयो । जया बच्चनले नायक तथा सांसद रवि किशनको बलिउडमा ड्रग प्रयोगको बयानका लागि उनीमाथि हमला गरेकी थिइन् । 

५. कंगना रनोट VS बीएमसी VS महाराष्ट सरकार VS दिलजीत दोसांझ

कंगना रनोट यो वर्ष सर्वाधिक विवादमा आइन् । सुशान्तको मृत्युपछि कंगनाले सोसल मिडियामार्फत् नेपोटिजमको मुद्दा उठाइन् र उनको निधन पछि परिवारवाद र बलिउडको गुटबन्दीको मुद्दा उठ्यो । कंगनाले यसका लागि करण जोहर र भट्ट परिवारमाथि पनि निशाना साँधिन् । महाराष्ट्र प्रहरी र सरकारको विषय ट्वीट गरिन् । कंगना शिव सेना सांसद सञ्जय राउत र बीएमसीसँगको मनमुटावका कारण पनि विवादमा रहिन् । बीएमसीले कंगनाको पाली हिलस्थित अफिसमा अवैध निर्माणको आरोपपछि तोडफोड गरेको थियो । यो मामिला बम्बे हाईकोर्टसम्म पुग्यो । यस्तै आफ्नो विवादित ट्वीटका लागि कंगनाविरुद्ध प्रहरी रिपोर्ट पनि दर्ता गराइयो । हालै किसान आन्दोलनका लागि केही विवादित ट्वीट गरेपछि कंगना पंजाबी अभिनेता दिलजीत दोसांझसँग ट्वीटर वारको विषयमा चर्चामा छाइरहिन् । 

६. अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप

बलिउड निर्देशक अनुराग कश्यपमाथि नायिका पायल घोषले यौन उत्पीडनको आरोप लगाइन् । पायल घोषले उनलाई घर बोलाएर यौन दुर्व्यवहार गरेको आरोप कश्यपमाथि लगाइन् । यो मामिलामा पुलिस रिपोर्ट पनि दर्ता गरियो र यसबारे हाल अनुसन्धान चलिरहेको छ । यद्यपि, वकिलले आफ्ना वकिलमार्फत् यी आरोपको खण्डन गरे । यो विषयमा बेस्सरी राजनीतिकरण पनि भयो । 

७. सोनू निगमले भूषण कुमारमाथि लगाए गम्भीर आरोप

सन् २०२० मा सेलिब्रिटी लकडाउनका बेला आफ्नो घरभित्रै रहे । तर विवाद स्वतन्त्र घुम्यो । सोनू निगम त्यतिबेला चर्चामा आए जब सुशान्तको मृत्युपछि बलिउडमा चलिरहेको इनसाइडर–आउटसाइडर बहसका क्रममा सोनूले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेर टि–सिरिजका मालिक भूषण कुमारमाथि गम्भीर आरोप लगाए । यी आरोपले अत्यधिक विवाद निम्त्यायो र यसको जवाफ भूषणकी श्रीमती दिव्या खोसला कुमारले इन्टाग्राममा एउटा भिडियोमार्फत् नै दिइन् । 

८. द कपिल शर्माको विषयमा मुकेश खन्नाको 'महाभारत'

महाभारतमा भीष्म पितामहको भूमिका निभाउने मुकेश खन्ना यो वर्ष निकै चर्चामा रहे । यो विवादको बिउ त्यतिबेला रोपियो जब महाभारतका स्टार कास्टमा गजेन्द्र चौहान, पुनित इस्सर आदि कपिल शर्मा शोमा पुगेका थिए । मुकेश खन्ना यसमा समावेश भएनन् । यसको कारण उनले सोसल मिडियामा एक पोस्ट लेखेर पनि दिए । उनले कार्यक्रमलाई घटिया बताउँदै पुरुषले महिलाको कपडा लगाएर अश्लील व्यवहार गर्ने आरोप लगाए । यसमा गजेन्द्र चौहानले महाभारमा अर्जुनले पनि महिलाको कपडा लगाएका थिए भन्ने जवाफ दिएपछि मुकेश खन्नाले महाभारतमा किन काम गर्यौ भनेर सोधे । दुबैको झगडा थुप्रै दिनसम्म सोसल मिडियामा छाइरह्यो । 

९. गुञ्जन सक्सेना – द कारगिल गर्लको दृश्यमा बबाल

लकडाउनमा सिनेमाघर बन्द भएका कारण गुञ्जन सक्सेना – द कारगिल गर्ल नेटफ्लिक्समा रिलिज भयो । यो पूर्व फ्लाइङ अफिसर गुञ्जन सक्सेनाको बायोपिक थियो । फिल्मका केही दृश्यका लागि वायु सेनाले आपत्ति जताएको थियो जसमा महिला अधिकारीमाथि पक्षपातपूर्ण व्यवहार देखाइएको आरोप लगाइयो । गुञ्जन सक्सेनाले दाबीको विषयमा पनि उनकी साथी अफिसरले बयान दिएका थिए । यो मामिला दिल्ली हाईकोर्ट सम्म पुग्यो । 

१०. अक्षय कुमारको फिल्म लक्ष्मीको टाइटलमा बमले बबालः

डिज्नी प्लस हटस्टारमा रिलिज भएको अक्षय कुमारको फिल्मको टाइटलको विषयमा पनि निकै बबाब भएको थियो । सुरुमा फिल्मको शीर्षक लक्ष्मी बम थियो, यसका लागि सोसल मिडियामा आपत्ति जताइयो । लक्ष्मीसँग बम लगाउँदा आपत्ति देखिएपछि रिलिज हुनु ठिक अघि टाइटल लक्ष्मी बनाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप