माइतीघर मण्डलामा २ हप्तादेखि उखु किसानको प्रदर्शन जारी, अझै भएन सुनुवाई (भिडियो सहित)

काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर पनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेकोभन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरु बताउँछन् ।
हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिनदेखि उखु किसानहरु आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् । विगत सात वर्ष देखिको भुक्तानी मिल सञ्चालकहरुले नदिएपछि किसानहरु निर्णयक आन्दोलन गर्न भन्दै काठमाडौं आएका हुन् ।
गत वर्ष पनि उनीहरुले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिना भित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए । तर एक वर्ष सम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरि काठमाडौंआई आन्दोलन गरिरहेका छन् ।
१५ दिनसम्म आन्दोलन गर्दा पनि सरकार नसुनेझैं गरी बसिरहेको छ । किसानहरु आन्दोलन गरेको देखेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन् । तर सरकारले तोकेको मूल्य भन्दा पनि कम दरमा भुक्तानी पठाएको किसानहरुको गुनासो छ ।
उखु किसान संघर्ष समितिका सदस्य माया शंकरप्रसाद यादवले सरकारले प्रति क्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भएपनि उद्योगीहरुले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गरे । सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने पनि उनले बताए ।
चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । विगत सात वर्ष देखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानहरुले बताएका छन् । आफूहरुले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदा सम्म आन्दोलनलाई जारी राख्ने किसानहरुले बताए ।
आन्दोलनरत किसानहरुले ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौं’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देउ’ लगायतका नारा समेत लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
-
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
-
भाटभटेनीमा ढुङ्गा हानेर राजतन्त्र फर्किँदैन, दुर्गा प्रसाईं गुन्डा नाइके हो : गुरुङ
-
नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाएसकेको छैन
-
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत (तस्बिरहरु)
-
‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कसले दिँदै छन् प्रस्तुति ?