शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा बनिरहेको कोरोना भ्याक्सिनमा नेपालको चासो

आइतबार, १२ पुस २०७७, ०७ : ४८
आइतबार, १२ पुस २०७७

भारतमा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण अन्तिम चरणमा पुगिसकेको छ, भ्याक्सिनको उत्पादन पनि तीब्र गतिमा सुरु भइसकेको छ ।

भारत सरकारले एक महिनाभित्र कोरोनाको भ्याक्सिन लगाउन मिल्ने गरी चाँजोपाँजो मिलाएको छ ।

भारतको भ्याक्सिनमा नेपालको पनि रुची छ ।

भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले बीबीसी हिन्दीसँगको कुराकानीमा आफूले भारतमा भ्याक्सिन निर्माता र सरकारी अधिकारीसँग दिल्लीमा चर्चा गरेको जानकारी दिएका छन् ।

पश्चिमी देशमा खोप अभियान सुरु भएसँगै नेपलामा कोरोना भ्याक्सिनको आपूर्ति कसरी गरिन्छ भन्ने बारे थुप्रैले चासो तथा चिन्ता व्यक्त गर्न थालेका छन् ।

राजदूत आचार्यले भारतमा एक भ्याक्सिन निर्माता, सिरम इन्स्टिच्युटका एक वरिष्ठ अधिकारी तथा भारतका नीति आयोगका प्रमुख अभिताभ कान्तसँग कुराकानी गरेको बीबीसीले बताएको छ ।

सिरम इन्स्टिच्युट कम्पनी एस्ट्राजेनेकासँग मिलेर बेलायतको अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित भ्याक्सिनको उत्पादन गरिरहेको छ ।

यो भ्याक्सिनलाई ७० देखि ९० प्रतिशतसम्म प्रभावकारी बताइएको छ ।

आचार्यको भनाई उद्धृत गर्दै बीबीसीले भनेको छ, ‘सिरम इन्स्टिच्युटको क्षमता निकै ठूलो छ । यसले नेपालको आवश्यकता पनि पूरा गर्नसक्छ । यो सम्बन्धमा सिरम इन्स्टिच्युटसँग कुराकानी भइरहेको छ । उनीहरुसँगको कुराकानी आशा गरेअनुसार नै भइरहेको छ ।’

भारतबाट कति भ्याक्सिन आउनेछ ?

गत महिना नेपाल भ्रमणका बेला भारतीय विदेश सचिव हर्ष श्रृङ्गलाले नेपालको भ्याक्सिनको आवश्यकता भारतको प्राथमिकतामा हुने बताएका थिए ।

आचार्यले नेपालले सुरुमा आफ्नो २० प्रतिशत जनसंख्यालाई भ्याक्सिन दिन कोसिस गर्ने जानकारी दिएको बीबीसीले बताएको छ  ।

बीबीसीसँगको कुराकानीमा आचार्यले यो दुई चरणमा गरिने बताएका छन् । सुरुमा तीन प्रतिशतलाई भ्याक्सिन उपलब्ध गराइनेछ भने दोस्रो चरणमा १७ प्रतिशत मानिसहरुलाई भ्याक्सिन दिइनेछ ।

उनी भन्छन्, ‘यसको अर्थ हो लगभग ६० लाख अर्थात् एक करोड २० लाख भ्याक्सिन । हामीलाई आशा छ कि हाम्रो प्रारम्भिक आवश्यकता भारतबाट पूरा हुन सक्छ । यो एकैपटक हुँदैन, एकपटक उत्पादन सुरु भएपछि स्थिती स्पष्ट हुनेछ ।’

भारतको भ्याक्सिन नेपालका लागि उपयोगी किन ?

विशेषज्ञका अनुसार भारत वा छिमेकी देशमा बनेको खोप विभिन्न कारणले नेपालका लागि फाइदाजनक हुनसक्छ । विशेषगरी भारतमा बनेको खोप सस्तो र आपूर्तिका लागि सहज हुने विशेषज्ञको ठम्याइँ छ ।

यो विषयमा डाक्टर समिर मणी दिक्षित भन्छन्, ‘नेपाल भ्याक्सिनका लागि धेरै टाढा जानुपर्दैन । अक्सफोर्ड युनिभर्सिटी–एस्ट्रेजेनेका भ्याक्सिनको निर्माण भारतमा सिरम इन्स्टिच्युटमा गरिँदैछ । दुबै डोजको मूल्य १५ सय रुपैयाँ हो ।’

उनका अनुसार भ्याक्सिन सस्तो छ र सामान्य कोल्ड चेनको प्रयोग गरेर सुरक्षित राख्न सकिन्छ । दीक्षितले चीनमा बन्ने खोप पनि नेपालका लागि फाइदाजनक हुनसक्ने बताए ।

भारतमा कुन खोप अन्तिम चरणमा ?

भारतको सिरम इन्स्टिच्युटको एस्ट्राजेनेका कोवशिल्ड भ्याक्सिन अन्तिम परीक्षणको चरणबाट गुज्रिरहेको छ र यसको आपतकालीन उपयोगका लागि भारत सरकारसँग अनुमति मागिएको छ ।

हैदराबादस्थित कम्पनी भारत बायोटेक भारतीय चिकित्सा अनुसन्धान परिषदको सहयोगले कोभ्याक्सिन नामको बनाइरहेको छ जुन अहिले क्लिनिकल ट्रायलको तेस्रो चरणमा छ ।

यसको आपतकालीन प्रयोगका लागि मञ्जुरी मागिएको छ ।

तेस्रो चरणमा केडलेक हेल्थकेयरको जाकोव–डी भ्याक्सिन र रुसी भ्याक्सिन स्पुतनिक–फाइभको पनि परीक्षण गरिँदैछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप