केरा आन्दोलनका अगुवा आचार्यसहित कृषकहरू सम्मानित
सुदूरपश्चिम प्रदेशमा भारतीय केरा आयात रोक्नु पर्ने मागसहित आन्दोलनमा उत्रिएका केरा केरा कृषक लक्षीराम आचार्यलाई सम्मान गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा शनिबार हाटबजार उद्घाटन समारोहमा कृषक आचार्य सहितका कृषकहरूलाई सम्मान गरियो ।
कार्यक्रममा कैलालीको टीकापुरका किसान टेकेन्द्र धामी, कञ्चनपुर गुलरियाका सुरेन्द्र चौधरी तथा महेन्द्रनगरका किसान पूर्ण साउदलाई सम्मान गरियो । त्यस्तै, तरकारी कृषक राजु चौधरी, टेकराज जोशी, भगीरथ भण्डारी र टेकराज ओझालाई पनि सो अवसरमा सम्मान गरियो ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले किसानहरुलाई दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र प्रदान गरेका थिए ।
कार्यक्रममा सम्मान गरिएका केरा आन्दोलनका अगुवा कृषक लक्षीरामले सरकारले किसानहरूका समस्या सम्बोधन गर्न जहिले पनि उदासिनता देखाउने गरेको गुनासो गरे ।
उनले भने– सरकारी ऐनकानून, नीति कृषकका पक्षमा छन्, तर व्यवहारमा वास्तविक किसानका समस्या ज्यूँ का त्यूँ नै रहेको अवस्था छ । उनले कृषकहरूलाई समयमै मलखाद, आवश्यक वीऊबिजन, कृषि उपकरणहरू उपलब्ध गराउनेतर्फ सरकारले ध्यान दिन माग गरे ।
उनले भने– कृषिबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ । यसका लागि सबैभन्दा बढी सरकार नै गम्भीर हुनु पर्दछ । उनले युवाहरूलाई कृषिमा आकर्षण गर्न सरकारले समयानुकुल नीति ल्याउनु पर्ने र विद्यमान नीति, ऐनकानून प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
समयमै कृषकका समस्या सम्बोधन हुनुपर्छ : नगर प्रमुख वड
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सरकारहरुले समयमै कृषकहरूका समस्या सम्बोधन गर्नेतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।
हाटबजार उद्घाटन कार्यक्रममा नगर प्रमुख वडले भने– धनगढी उपमहानगरपालिकाले आफ्नो कुल बजेटमध्ये १० करोड रुपैया कृषि क्षेत्रका लागि विनियोजन गरेको छ । तर, रकम विनियोजन गरेर मात्र पुग्दैन, त्यसलाई कृषकको हकहितको पक्षमा खर्च गर्न पनि हामी गम्भीर छौं ।
उनले समयमै कृषकलाई आवश्यक मलखादको व्यवस्था गर्न, उपकरण उपलब्ध लगायतका कार्यक्रममा खर्च गरिनुपर्ने बताए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले हाटबजार सञ्चालन गरेर मात्र नहुने भन्दै कृषकहरूले कृषि उत्पादनमा पनि बढी लाग्नु पर्ने बताए ।
उनले भने– किसानहरूले उत्पादन बृद्धि गर्न सकेनन् भने हाटबजार सञ्चालन ल्याए पनि किसानलाई कुनै लाभ पुग्दैन । प्रमुख प्रशासकीय अधिकृत पन्तले धनगढी उपमहानगरपालिकाले कृषिलाई बढी प्राथमिकता राखेर कार्यक्रम तथा बजेट बनाएको चर्चा गरे ।
उनले भने– उपमहानगरपालिकाका केही वडामा कृषि उब्जनी राम्रो छ । र, कृषि उपादकत्व राम्रो रहेका वडा तथा गाउमा उपमहानगरपालिकाले अझ बढी प्रयास गर्नुपर्दछ ।
हाटबजार उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीले हाटबजारले यहाँका किसानहरूलाई सहज बनाएको बताए ।
उनले भने– यो हाटबजारले यहाँका उत्पादनलाई बिक्री वितरण गर्न सहज बनाएको छ । छिट्टै यही कोल्ड स्टोर पनि सञ्चालन हुँदै छ । त्यसले पनि किसानलाई राहत हुन्छ ।’
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रामबजारी चौधरीले विगतमा कृषकहरूले उत्पादन गरेको तरकारी बिक्री गर्ने स्थान नपाउ“दा समस्या भोग्नुपरेको बताए ।
उद्घाटन कार्यक्रम समितिका अध्यक्ष कृष्ण चौधरीको अध्यक्षतामा भएको थियो ।