बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रोकर कमिसन समायोजनबारे व्यवसायी र लगानीकर्ता दुवै असन्तुष्ट !

व्यवसायी पलायन हुने खतरा बढ्यो - धितोपत्र व्यवसायी; साना लगानीकर्ता मारमा परे सन्तुष्ट छैनौं - लगानीकर्ता
शुक्रबार, १० पुस २०७७, १९ : २७
शुक्रबार, १० पुस २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घटाएको कमिसनदेखि लगानीकर्ता र ब्रोकरहरु सबै असन्तुष्ट देखिएका छन् । शुक्रबार बोर्डले धितोपत्र कारोबारमा लाग्दै आएको शुल्कमा ३३ प्रतिशतदेखि ६० प्रतिशतसम्म घटाउँदै नयाँ शुल्क सार्वजनिक गरेको थियो । 

यो कारोबार शुल्कले लगानीकर्ताहरु दीर्घकालीन रुपमा टिक्न नसक्ने ब्रोकर एशोसिएसनले जनाएको छ । बजारमा अहिलेको कारोबार बजार तरलताका कारण अल्पकालीन रुपमा बढेको भन्दै ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले तरलता अवस्था सहज भएपछि कारोबार घट्ने र यसपछि लगानीकर्ताहरु टिक्नसक्ने अवस्था नरहने बताए । 

व्यवसाय कसरी टिकाउने भन्ने छट्पटी सुरु भयो : स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनाली

ब्रोकर कमिसनको बारेमा धितोपत्र बोर्डले हामीसँग पटक पटक छलफल गरेको थियो । बोर्डले आफैं पनि ब्रोकर कमिसनको बारेमा अध्ययन गरेको थियो । हामीले पनि एउटा अध्ययन प्रतिवेदन बोर्डलाई बुझाएका थियौं । 

अहिले जसरी कमिसन परिमार्जन भएर, आयो यसमा हाम्रो कुरा नसमेटिएको भन्ने हाम्रो बुझाई रह्यो । र, यसले विगतको १÷२ महिना व्यवसायीलाई थेग्न समस्या नहोला, तर दीर्घकालमा यो कमिसनमा टिक्न गाह्रो हुन्छ । विगत २÷३ वर्षको कारोबारमा यो शुल्क लगाएर हेर्ने हो भने व्यवसायीहरु दीर्घकालसम्म यो व्यवसायमा टिक्ने अवस्था गाह्रो नै देखिन्छ । 

अहिलेको कारोबार उच्च तरलताले उचालेको कारोबार हो । हामीले यसको स्थायित्व कति हुन्छ हेरौं भनेका थियौं र योअनुसार निर्णय गरौं भनेका थियौं । त्यो भएन । हुन त यसमा ब्रोकरको व्यवसायिक अवस्थाको विश्लेषण गनि गरेका छौं भनिएको छ । तर, हाम्रो विगत ३ वर्षको वित्तीय अवस्था हेर्ने हो भने नाजुक छ । 

उहाँहरुले विगत २÷३ महिनाको वित्तीय अवस्था हेरेर यो निर्णय गरिएको हो कि भन्ने हाम्रो बुझाई रह्यो ।  हामीले कमिसनबाट मात्रै आम्दानी खोजेको होइन । अरु विभिन्न स्रोतबाट पनि आम्दानी होस् भनेर चाहेका थियौं । त्यो भएपछि कमिसन अलिकति घटे पनि हामीले अरु सेवा प्रवाहबाट प्राप्त हुने आम्दानीबाट टिक्न सक्छौं भनेका थियौं । तर, अहिलेसम्म यो बाटो पनि खोलिएको छैन ।

हामीले अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धी खालको उच्च गुणस्तरको प्रणाली ल्याउने भनेका छौं । धितोपत्र बोर्डले अघि सारेका कार्यक्रमका लागि क्षमताको वृद्धि गर्ने, मानव संसाधन र सूचना प्रविधिको विस्तार गर्ने विषयलाई पनि हेरियोस् भन्ने थियो । तर, यी सबै विषयलाई हेरिएन कि भन्ने हामीलाई लागेको छ । 

नियामकले गरेको निर्णय पालना गर्नु परिहाल्यो । तर हाम्रो रिजर्भेसन के मात्रै हो भने हामी दीर्घकालमा कसरी टिक्ने, कर्मचारीको वृत्तिविकास कसरी गर्ने भन्ने छट्पटी चाहिँ यो विज्ञप्ती आएलगत्तै हामीलाई सुरु भइसकेको छ । 

स्टक ब्रोकर एशोसिएसनले व्यवसाय टिक्न नसक्ने अवस्था रह्यो भन्दै गर्दा लगानीकर्ता नेताहरुले भने घटेको ब्रोकर कमिसनले लगानीकर्तालाई राहतको महशुस गर्न नसक्ने दाबी गरेका छन् । यद्यपि अहिले घटेको कदमलाई केही सकारात्मक मान्नुपर्ने उनीहरुको भनाई छ । 

कमिसज घटाउने हाम्रो यात्रा अझै जारी रहन्छ : नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार

सर्वप्रथम त हामीले धेरै समयदेखि माग राख्दै आएका थियौं, ब्रोकर कमिसन अधिकतम ०.२५ प्रतिशतसम्म मात्रै हुनुपर्छ भनेर । त्यसअन्तर्गत हामीले धितोपध बोर्डमा गएर कार्यक्रम पनि गर्यौं । यसले गर्दा अलिकति हलचल पनि भयो । यसमा हामीलाई धितोपत्र बोर्डले पनि साथ दियो । यसबारे अध्ययन गरेर लागु गर्न धितोपत्र बोर्डका अध्यक्षले निर्देशन दिनुभयो । अध्ययन गरेर कािसन घटाउन बोर्डका उपकार्यकारी निर्देशक नवराज अधिकारीले भूमिका खेल्नुभयो । 

बोर्डमात्रै नभएर यसमा अर्थमन्त्रीले पनि साथ दिनुभयो । अर्थ मन्त्रालयका अधिकारीहरुले, सबै मिडियाका साथीहरुले र लगानीकर्ता साथीहरुले पनि साथ दिनुभयो । यही कारणले अहिले ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्म ब्रोकर कमिसन घट्यो । यो ३३ प्रतिशत कम हो । यो सफलताका लागि सबैलाई धन्यवाद दिनुपर्छ । तर, यो मागअनुसार चाहिँ छैन । 

हाम्रो सरोकार कहाँनिर छ, पहिले २०\३० करोडको कारोबार हुन्थ्यो । अहिले ७/८ अर्बको कारोबार भइरहेको छ । लगानीकर्ताले घरघरमा बसेर कारोबार गरिरहेका छन् । अनलाइन कारोबारले ब्रोकरको सहभागिता कम भएको छ । यसैले यो पर्याप्त छैन । त्यसैले हाम्रो यो माग पूरा गर्ने यात्रा जारी रहन्छ । 

हामी सन्तुष्ट छैनौं, निर्णयमा हाम्रो सहमति छैन : शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल

धितोपत्र बोर्डले गर्ने हरेक निर्णयमा साना लगानीकर्ता नै बढी मारमा पर्छन् । तयसको सट्टामा ठूला लगानीकर्ता नै बढी पोसिन्छन् । अहिले पनि त्यस्तै भएको छ । हामीले जे भनेका थियौं त्यो अनुसार कमिसन घटेको छैन । 

धितोपत्र बोर्डले गरेको यो निर्णयमा हाम्रो सहमति छैन, हामी यसमा सन्तुष्ट छैनौं । हामी यस विषयमा आइतबार नै बोर्डमा जान्छौं । यसमा आफ्नो धारणा प्रस्तुत गर्छौं । उहाँहरुले के प्रतिक्रिया दिनुहुन्छ । उहाँहरुले के आधारले यो कमिसन तोक्नुभएको रहेछ । त्यसलाई हेरेर हामी थप कदम चाल्छौं ।

धेरै खुसी हुने ठाउँ छैन, ज्यादै दुःखी हुनु पनि पर्दैन : पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल

हामीले ब्रोकर कमिसन अधिकतम ०.२५ प्रतिशत हुनुपर्छ भनेका थियौं । त्यसमा पनि लगानीकर्ताहरुले यो पनि धेरै भयो, ०.१० प्रतिशत हुनुपर्छ भन्नुभएको थियो । यो विषयमा धेरै ब्रोकरहरुले ‘अहिले बजार बढेको बेलालाई मात्रै हेरेर हुँदैन, भोलि बजार घट्न पनि सक्छ, काठमाडौं मात्रै नभएर देशभरी ब्रोकर पुग्दा स्टाफ खर्च पनि उठाउन सकेनौं भने के हुन्छ’ भन्नु भएकोले सबै पक्षलाई विचार गरेर ०.२५ प्रतिशत हुनुपर्छ भनेका थियौं । हामीले जुन रुपमा चाहेका थियौं, त्यो रुपमा ब्रोकर कमिसन घटेको छैन । 

आज ९ अर्बको कारोबार हुँदा भोलि २० अर्बको पनि हुन सक्छ । त्यतिखेर फेरि कमिसन घटाउने हो कि के गर्ने हो ? तर पनि सेबोन सबैको अभिभावक भएकोले उहाँहरुले सोचेरै गर्नुभएको होला भन्ने लागेको छ । त्यसैले यसमा धेरै खुसी हुने ठाउँ छैन, ज्यादै दुःखी हुने अवस्था पनि छैन ।

हामी यो कमिसनबारे आफ्नो संघ र सबै लगानीकर्ता संघहरु बसेर छलफल गर्छौं र आगामी दिनमा के गर्ने भन्ने निर्णय गर्छौं ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप