शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

अनेरास्ववियूका संयोजक महरलाई कारवाही सिफारिस

शुक्रबार, १० पुस २०७७, १६ : ३८
शुक्रबार, १० पुस २०७७

काठमाडौं । नेकपा विभाजनसँगै एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने सिलसिला चलिरहेको छ ।  यसै क्रममा नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओली पक्षमा लागेका संयोजक ऐनसिंह महरलाई कारवाहीको सिफारिस गरेका छन् । 

महर संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा लागेकाले उनलाई कारवहीको सिफारिस गरिएको तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  ‘अनेरास्ववियूको गौरवशाली छविलाई धुमिल वनाउँदै यसका संयोजक ऐन महर निरन्तर रुपमा सत्ताको निरपेक्ष  भजन किर्तन गर्ने काममा मात्र तल्लिन हुन थाल्नुभयो । उहाँले संगठनको पारित विधान र प्रतिवेदनका वर्खिलापमा अनेक गुटपरस्त र फुटपरस्त गतिविधि जारी राख्नुभयो । समाजमा ब्याप्त विकृति ,विसङ्गति र भष्ट्राचार विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने  संगठनको परम्परा विपरित उहाँ स्वयं तिनको बाहक भएर अनेरास्ववियूलाई मण्डलकरण गर्न उद्धत भइरहनुभयो’, विज्ञप्तिमा कारवाही गर्नुपर्ने कारणबारे खुलाइएको छ ।  

त्यस्तै कोभिड १९ विरुद्धको स्वास्थ्य सामाग्रीमा भएको भष्ट्राचार, यति र ओम्नीको नाममा भएको भ्रष्टाचार, वालुवाटार जग्गामा भएको भष्ट्राचार र सेक्युरिटी प्रिन्टिङ् प्रेसमा भएका भष्टाचारका विरुद्ध सङ्घर्ष गर्नुपर्ने अनेरास्ववियूको  दायित्वलाई पूर्ण रुपमा महरले लत्याएर  तिनको ढाल वनेर प्रस्तुत भएको पनि तामाङ पक्षले बताएको छ । 

‘एकातिर वाह्य रुपमा अनेरास्ववियूको छविलाई धुलिसात् गर्ने र अर्कोतिर आन्तरिक रुपमा संगठनको जीवनलाई तहसनहस गर्ने काममा उहाँ निरन्तर लागिरहनुभयो । एउटा सानो झुण्ड वोकेर संगठनको एकताको मर्म र विधि विधानलाई पूर्ण रुपमा लत्याउँदै एकलौटी रुपमा अराजक गतिविधि र गुटबन्दी गर्नु उहाँको एकमात्र काम वनिरह्यो ।  फरक मत राख्नेहरुलाई दमन गर्ने, संगठनलाई एकताबद्ध बनाउनुको सट्टा छिद्रहरु खोज्दै फाटो पार्ने, शैक्षिक मुद्धाहरुको सवालमा निजी शिक्षण संस्थाका मालिकाहरुको पक्षमा उभिने र संगठनलाई आन्दोलनको पक्षमा नभएर  सत्ताको भजन मण्डलीको रुपमा बदल्ने जस्ता काममा  संयोजक महर निरन्तर उभिरहनुभयो । उहाँबाट पार्टीभित्र चलेको बहसलाई संगठनमा लगेर  अस्वस्थ बनाउने, आफ्नै कार्यकर्ता विरुद्ध  गुण्डागर्दी शैलीमा भौतिक आक्रमणमा  उत्रने समेत काम भयो ।’ 

तामाङले भनेका छन्, ‘यसै सन्दर्भमा पछिल्लो चरणमा आइपुग्दा प्रधानमन्त्री केपी ओलीले चालेको संसद विघटनको कदम असंवैधानिक  र अलोकतान्त्रिक भएको वहुमत सदस्य सहितको सिङ्गो अनेरास्ववियूको निर्णयलाई अवज्ञा गरी प्रतिगमनकारी कदमको पक्षमा समेत आफुलाई उभ्याउन पुग्नुभयो । यससँगै उहाँले संगठनको विधान विपरीत एकतर्फी रुपमा अल्पमत सदस्यहरुको वैठक समेत वोलाएर संगठनको एकतालाई नै खण्डित तुल्याउने कामको अगुवाइ  गर्न पुग्नुभयो ।’

अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ वमोजिम संगठनको वहुमतको निर्णयअनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कार्वाही गरिएको र उक्त कार्वाहीलाई अनुमोदन गर्न पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी समक्ष  शिफारिश गरिएको अनेरास्ववियु तामाङ पक्षले जनाएको छ ।

‘यसका साथै निकट भविष्यमा वस्ने केन्द्रीय कमिटीको पूर्ण वैठकवाट अन्य राजनीतिक तथा सांगठनिक निर्णय लिइने समेत जानकारी गराउँदछौं । अन्त्यमा प्रधानमन्त्री केपी ओलीले चालेको प्रतिगामी कदमका विरुद्ध  सङ्घर्षमा उत्रँदै  कुनै खाले भ्रममा नपरी अनेरास्ववियूको वृहत्तर एकता र  संगठनको आधिकारिक नीति , निर्णय र  नेतृत्वको पक्षमा दृढतापूर्वक उभिन सबैमा अपिल गर्दछौं’ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष प्रचण्ड र माधव नेपाललाई बोधार्थ दिएको पत्रमा भनिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप