बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संसारकै सबैभन्दा ठूलो छेपारो कोमोडो ड्रयागन

मौका मिल्दा बच्चाहरु र बूढा मानिसहरुलाई समेत आक्रमण गर्न सक्छ
बिहीबार, ०९ पुस २०७७, १२ : ०७
बिहीबार, ०९ पुस २०७७


 

छेपारो तपाईं हामीले देखेका छौं । यो थरिथरि रंगको हुन्छ । चारवटा खुट्टा र एउटा लामो पुच्छर हुने यो जीव ३–४ इन्च लामो हुन्छ । प्रायः गरेर यसले घाम तापेर बसेको बेला हामी देख्ने गर्छौं । यसले स–साना कीरा फट्यांग्रा खाने गर्छ ।

छेपारोको कुरा गर्दा तपाईं हामीले माथिको कुरा सम्झने गर्छौं । तर संसारमा हामीले देख्ने गरेको छेपारो भन्दा पनि निक्कै ठूला ठूला छेपाराहरु पनि हुन्छन् । त्यस्ता छेपाराहरुमध्ये पनि सबैभन्दा ठूलो छेपारा चाहिँ कोमोडो ड्रयागन नाम गरेको छेपारो हो ।

यो छेपारो इण्डोनेशियाका ६ वटा स–साना टापुहरुमा पाइन्छन् । तीमध्ये सबैभन्दा ठूलो टापू चाहिँ कोमोडो हो । यो सन् १९१२ मा पत्ता लागेको थियो ।

कोमाडो ड्रयागन ३.७ मिटरसम्म ठूलो हुन्छ । यसको तौल चाहिँ १४० किलोसम्म हुन्छ । यसको जिब्रो हामीले प्रयोग गर्ने काँटाचम्चाजस्तो बीचमा चिरिएको हुन्छ । यसले अरु जीवहरुको गन्ध थाहा पाउन सर्पले जस्तै आफ्नो जिब्रो भित्र बाहिर गरेर चलाइरहेको हुन्छ । तीखो नंग्रा र दाँत अनि बलियो  हुने कोमोडोले आफ्नो शिकारलाई सजिलै चिरिदिन सक्छ । यसको शरीर कडा कत्ला भएको छालाले ढाकिएको हुन्छ ।

कोमोडो मासु खाने जीव हो । यसले सिनो पनि खान्छ, नयाँ शिकार समातेर पनि खान्छ । बच्चा कोमोडो ड्रयागनले स–साना छेपारो, कीरा, चरा र सर्पहरु समातेर खान्छ । तर एक वर्षको भएपछि यसको लम्बाई एक मिटर जति हुन्छ र यसले सिनो खान थाल्छ ।  अझ ठूलो भएपछि त यस छेपारोले मृग, खसीबाख्रा, जंगली बँदेल र कहिलेकाहीँ भैंसीको पनि शिकार गर्ने गर्छ । मौका मिल्दा त यसले बच्चाहरु र बूढा मानिसहरुलाई समेत आक्रमण गर्न सक्छ ।

ठूलो पञ्जा र तीखो नंग्रा अनि आफ्नो स्पन्ज जस्तो गीजामा अडिएको करीब ६० वटा धारिलो र सार्क माछाको जस्तो अलि घुमेका दाँतहरुको मद्दतले यसले शिकार पक्रने गर्छ । यसको जीवनकालमा चार पटक दाँत फेरिने गर्छ । कोमोडो ड्रयागनको र्‍यालमा खतरनाक र विषालु व्याक्टेरियाहरु हुने गर्छन् । यसले टोकेका ठूला ठूला जनावरहरु त्यस व्याक्टेरियाको कारण घाउमा संक्रमण भएर मर्ने गर्छ । यसले कहिले काहीँ अरु जनावर हिँड्ने बाटोमा लुकेर ढुकेर पनि शिकारलाई पक्रने गर्छ । त्यसैले यसलाई छेपाराहरुमध्ये सबैभन्दा बुद्धिमान मान्ने गरिन्छ ।

कोमोडो ड्रयागन धेरै खञ्चुवा हुन्छ । यसले एक पटकमा आफ्नो कूल तौलको ८० प्रतिशतसम्म मासु खान स्क्छ ।

पोथी कोमोडोले एक पटकमा ३० वटासम्म अण्डा पार्छ । यसले अण्डा सुख्खा मौसममा पार्ने गर्छ । त्यो अण्डाबाट बच्चा निस्कन करीब ८ महिना लाग्छ । कोमोडो ड्रयागन सालाखाला ५० वर्षसम्म बाँच्ने गर्छ ।

यो छेपारो एक्लै बस्न र एक्लै नै शिकार गर्न मन पराउँछ । यसले कहिले काहीँ समुद्रको किनारको दलदलहरुमा पनि माछा र अरु समुद्री जीवहरुको शिकार गर्ने गर्छ । यो छेपारो अति राम्ररी पौडी पनि खेल्न सक्छ । त्यसै गरी, यसले अति राम्ररी रुख पनि चढ्न सक्छ । तर यसले आफ्नो धेरै जसो समय चाहिँ जमीनमा नै बिताउने गर्छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप