शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

आखिर किन उत्रिए राइडरहरु पठाओ विरुद्ध ?

राइडरहरुले अनावश्यक माग राखे : पठाओ
बिहीबार, ०९ पुस २०७७, ०८ : ५३
बिहीबार, ०९ पुस २०७७

काठमाडौं । मोटरसाइकल तथा ट्याक्सी सेयर राइडिङ्ग सेवा ‘पठाओ’ मा विवाद देखिएको छ । सधैँजसो ट्याक्सी व्यवसायीसँग मात्र विवाद हुँदै आएको ‘पठाओ’ को यस पटक आफ्नै कर्मचारी (राइडर) हरुसँग विवाद देखिएको हो ।

यतिखेर पठाओका राइडरहरु काम छाडेर कम्पनी विरुद्ध आन्दोलनमा उत्रिएका छन् । कम्पनीले आफु खुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कम्पनीले कामदार मार्ने काम गरेको पठाओ राइडरहरुको आरोप छ ।

‘हामीले कम्पनीसँग अतिरिक्त सेवा सुविधा माग गरेका छैनौं, मात्र सुरक्षा खोजेका हौं । विना सुरक्षा सडकमा निस्कदा हाम्रो जीवनरक्षाको ग्यारेन्टी कसले लिने ? यसको प्रत्याभूति कम्पनीले दिनुपर्छ ।’

सेयर राइडिङ्ग ‘पठाओ’ की एक राइडर सम्झना पाण्डेले भनिन्, ‘अब हामी राइडरहरुसँगै पेसेन्जर (यात्रु) को समेत बीमा हुनुपर्छ । यसका लागि हामीले कम्पनीसँग माग गरेका हौँ । यो कुनै अनावश्यक माग होइन,’ उनले भनिन् ।

अर्का पठाओ राइडर नवराज मालीले पछिल्लो समय कम्पनीले राइडरहरु माथि ज्यादती गर्न थालेको बताए । ‘पठाओले हामी राइडरहरुमाथि मनोमानी गरिरहेको छ । हाम्रो जीउज्यानको सुरक्षाको प्रत्याभूति छैन नै, हाम्रो कमाईमा समेत कम्पनीले लुट मच्चाइरहेको छ,’ मालीले भने, ‘कम्पनीले हामी राइडरहरुसँग अधिकतम २५ प्रतिशतसम्म कमिसन लिइरहेको छ । बाँकी ७५ प्रतिशतले तेल (फ्यूल), खाजा, खाना कसरी म्यानेज गर्ने ?’

यतिमात्र होइन, कम्पनीले आफुखुसी मनलागेको मान्छेलाई सस्पेन्ड (निस्कासन) समेत गर्ने गरेको राइडर मालीको आरोप छ ।

राइडरहरुले अनावश्यक माग राखे : पठाओ

राइडरहरुले विविध ११ बुँदे माग राखेर आन्दोलन चर्काइरहेका बेला ‘पठाओ’ ले भने ‘राइडरहरुको अनावश्यक होहल्ला’ भन्दै उनीहरुका मागको उपेक्षा गरेको छ । कम्पनीको नीति, नियम र अनुशासनमा नरहेका र केही उच्छृङ्खल तत्त्वहरुले कम्पनीलाई बदनाम गर्न लागेको उसको प्रतिक्रिया छ ।

‘अहिलेको आन्दोलन वास्तविक पठाओ राइडरहरुको आन्दोलन होइन । यसमा केही बदमास, कम्पनीको विरोध गर्ने र उच्छृङ्खल गतिविधि गर्ने व्यक्तिहरु हाबी भएको पाएका छौँ । केही राइडरहरु भने लहलहैमा पनि आएको पाएका छौँ । हामीले यसलाई गम्भीर रुपमा लिएका छौं,’ पठाओका सञ्चालक अशिममान सिंहले भने ।

उनका अनुसार केही राइडरको गम्भीर र जायज मागहरु कम्पनीले मनन् गरेको छ । तर हुनै नसक्ने, पुरा गर्न नसकिने मागहरुलाई कम्पनीले खारेज गर्ने उनले बताए । ‘अहिले हामी राइडरहरुले राखेका मागहरुको समीक्षा गर्दैछौं,’ सिंहले रातोपाटीसँग भने ।

त्यसो त राइडरहरुले गत सोमबार पठाओ कम्पनीमा आन्दोलनसहित ११ बुँदे मागपत्र पेस गरेका छन् । राइडर र पेसेन्जरको अनिवार्य इन्सुरेन्स हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाईको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरहरुलाई निलम्बन गर्नु पूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टुमर केयर नम्बर टोल फ्रि हुनुपर्ने, बीपीजी सस्पेन्ड हटाउनु पर्ने, स्पेन्ट रेकर्ड राख्नु पर्ने, राइडर र युजर पेजेन्जर दुबैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग उनीहरुले राखेका छन् ।

सो माग एक हप्ताभित्र पुरा गर्न राइडरहरुले सोमबार कम्पनीलाई अल्टिमेटम दिएका छन् ।

माग पूरा नभए सामूहिक त्यागको घोषणा गर्ने

हप्ता दिनसम्म पनि आफुहरुको माग पूरा नभए सामूहिक रुपमा कम्पनी त्यागको घोषणा गर्ने चेतावनी राइडरहरुले दिएका छन् । गत पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गते सोमबारसम्म पनि नआए सामूहिकरुपमा पठाओ त्यागको घोषणा गर्ने र सबैलाई पठाओ प्रयोग नगर्न आह्वान गर्ने आन्दोलनरत राइडर नवराज मालीले रातोपाटीसँग बताए ।

आफूहरुको माग सम्बोधन नभए विरोधको कार्यक्रम तय गर्न बाध्य हुने उनको भनाइ छ । ‘यदि माग सम्बोधन भएन भने त्यो कार्यक्रम पठाओको विरुद्धमा हुनेछ । जतिबेला हामी सबै पठाओ राइडहरुले राइडिङ्ग छाडेको घोषणा गर्नेछौं र सबैलाई पठाओ प्रयोग नगर्न आह्वान गर्न बाध्य हुनेछौं,’ मालीले भने ।

तर, कम्पनीबाट सकारात्मक उत्तर आउनेमा आफुहरु आशावादी रहेको उनले बताए ।

बढीभन्दा बढी फाइदा खोज्दा समस्या

फाइदा बढी खोजेका कारण नै अहिलेको पठाओ र राइडरहरुबीचको समस्या बढेको देखिन्छ । ७० को दशक यता नेपाली बजारमा चर्चामा आएका ‘टुटल’ र ‘पठाओ’ सेयर राइडिङ्गको क्षेत्रमा निकै लोकप्रिय छन् । तर, सुरुमा निःशुल्क (विना कमिसन) राइडरलाई व्यवसाय प्रदान गरेको कम्पनीले पछिल्लो समय कमिसन धेरै खोज्न थालेपछि विवाद बढ्दै गएको हो ।

सुरुमा शुन्य कमिसनबाट यात्रा थालेको कम्पनीले अहिले अधिकतम २५ प्रतिशतसम्म कमिसन खोजेपछि आन्दोलनमा उत्रिनुपरेको राइडरहरुको भनाइ छ । पठाओले लोकप्रियता बढ्दै गएपछि राइडरको कमिसन वृद्धि गर्नुका साथै यात्रुहरुको शुल्कसमेत वृद्धि गरेको राइडरहरुको आरोप छ ।

तर, यता कम्पनीले भने, आफ्नो अपरेटिङ कस्ट नै धेरै भएकाले शुल्क वृद्धि गर्नु परेको बताएको छ । पठाओका सञ्चालक अशिममान सिंहले गुगल सर्वर, आईटी इन्जिनियर, अफिस स्टाफ, कलसेन्टर र विज्ञापनसमेत गर्नुपरेका कारण खर्च बढी आउने हुँदा व्यवस्थापनका लागि कमिसन वृद्धि गर्नुपरेको बताए ।

त्यसो त अर्को यस्तै सेयर राइडिङ्ग कम्पनी ‘टुटल’ ले अहिले पनि शुन्य कमिसनमै सेवा प्रदान गरिरहेको बताइएको छ । टुटलका सञ्चालक शिक्षित भट्टले भने, ‘हाम्रो उद्देश्य भनेको कमाउने भन्दा पनि धेरैभन्दा धेरै युवाहरुलाई स्वदेशमै रोजगारी दिने हो । र, यसबाट सर्वसाधारण नागरिकलाई सहज यातायातको सेवा दिने हो । यसमा हामी सफल पनि भएका छौं ।’

अब व्यावसायिक रुपमा सेवा सञ्चालन गर्न सरकारले कानुनी व्यवस्था गरिदियोस् भन्ने चाहना रहेको उनले बताए ।

हालसम्म सेयर राइडिङ्गले पाउन सकेन कानुनी मान्यता

टुटल र पठाओको विषयमा बारम्बार प्रश्न उठ्ने गरेको छ । निजी (रातो नम्बर प्लेटमा) दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोक्न पाउने कि नपाउने भन्ने मुद्दा अहिले पनि विवादकै विषय बनेको छ । तर, अहिलेसम्म सरकारले यो विषयमा ठोस निर्णय गर्न सकेको छैन ।

गत २०७५ माघमा टुटल र पठाओको विषयमा पहिलो पटक विवाद उठेको थियो । त्यसबेला यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटका सवारीले भाडाका यात्रु बोक्न नपाउने भन्दै सूचना जारी गरेको थियो । तर यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा तत्कालका लागि टुटल र पठाओमाथिको कारबाही प्रक्रिया रोकिएको थियो ।

त्यसको एक वर्ष नबित्दै २०७६ को माघमा विवाद उठेको थियो । ट्याक्सी व्यवसायीहरुकै दबाबमा टुटल र पठाओको सञ्चालन रोक्नुपर्छ भन्दै विभागले दोस्रो पटक सूचना जारी गरेको थियो । त्यही बीचमा ट्याक्सी व्यवसायीहरुले उच्च अदालतमा मुद्दा दायर गरे । टुटल, पठाओ र ट्राफिक प्रहरीलाई नै विपक्ष बनाई उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो ।

तर उक्त मुद्दामा सेयर राइडिङ्गकै पक्षमा फैसिला गर्दै पाटन उच्च अदालतले टुटल र पठाओमा लगाइएको बन्देज फुकुवा गर्न आदेश दियो । ऐन नियम बनाएर जान मन्त्रालयलाई अदालतले आदेश दिएको भए पनि हालसम्म राइड शेयरिङ्ग सम्बन्धी कुनै नियम बन्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप