ad
केन्द्रीय संस्करण
संगीत

थानेश्वर गौतम : जो चर्चित गीत ल्याएर पनि चर्चा बाहिरै रमाउँछन्

संगीत बिकाउ होइन, टिकाउ बनाउनेतिर जोड दिनुपर्छ

person explore access_timeपुस ८, २०७७ chat_bubble_outline0

 

 

छुट्नलाई पो रैछ क्यारे सानु
तिम्रो मेरो यति धेरै माया बसेको

यतिबेला यो गीत सबैको मुखमा झुन्डिन सफल भएको छ । सामाजिक सञ्जाल, टिकटकदेखि सबैतिर यही गीतको चर्चा छ । क्लासिकल अलापबाट उठान गरेर गजल शैलीमा तयार यो गीत जतिले सुनेका छन्, ती सबैले ‘नेपाली संगीतमै एउटा फरक प्रयोग’ भनेका छन् ।

दसैँको छेको पारेर सार्वजनिक भएको यो गीतको पछिल्लो समय श्रोता तथा दर्शक बढ्दो छ । गायक तथा संगीतकार थानेश्वर गौतम यो गीतको लोकप्रियताले निकै उत्साहित भएका छन् । ‘प्रेमी÷प्रेमिकालगायत जो आफ्नोसँग बिछोडिएका छन्, ती सबै यो गीत सुनेर आफन्त सम्झदै रोएको पाइयो,’ गौतमले भने, ‘गीतको प्रतिक्रिया एकदमै राम्रो छ । दर्शकले यो गीतमा दिएको प्रतिक्रिया लाखौं÷करोडौं गीतहरुमा एउटाले मात्र पाउँछ ।’
कतिपय गीत धेरै चल्ने, भाइरल हुने, रातारात युट्युवमा करोडौं 

भ्युज हुने गर्दछन् । तर, त्यस्ता गीतले समेत यो गीतको जस्तो सकारात्मक प्रतिक्रिया पाउन नसक्ने उनी सुनाउँछन् । भन्छन्, ‘संगीतप्रेमीको मन यसले बास्तवमै जित्न सफल भएको छ ।’

कलाकार सबै रोए  
प्रभा बर्तौलाको शब्द रहेको गीतमा थानेश्वर आफैले संगीत दिएका हुन् । गीत कम्पोज गर्दा उनी आफै पनि रोएका थिए रे । गीतमा उनलाई गायिका शान्तीश्रीले स्वरमा साथ दिएकी छन् । ‘गीत गाउदा गायिका धेरै रुनु भयो,’ गौतमले भने, ‘गायिका रुँदा रेकर्डमा समेत केही समस्या भएको थियो ।’

गीत रेकर्डिङको क्रममा मात्र होइन, भिडियो निर्माणको क्रममा पनि कलाकार रोएका थिए । माओत्से गुरुङले निर्देशन गरेको भिडियोमा पुष्प खड्का, जानु पोखरेल र पोखराको थियटर कलाकार उज्ज्वल राज ढकाल लगायतको अभिनय छ । मोडलिङको सिलसिलामा सबै कलाकार गीत सुनेरै रोएको गौतमले बताए ।

‘कलाकार भावुक हुँदा भिडियो छायाँकनमा समेत समस्या भएको थियो,’ गौतमले थपे, ‘निर्देशक गुरुङका आँखासमेत भरिएका थिए ।’
गीतसंगीत यस्तो चिज हो जसलाई श्रोताले आफू र आफ्नो जीवन दर्शनसँग समेत तुलना गर्ने गर्दछन् । यो कुरामा यो गीत सफल भएको उनको दावी छ । यो गीतको म्युजिक भिडियो एक चोटी हेरेर धित मर्दैन । त्यसैले पनि होला १४ मिनेटको यो गीत धेरैले छोटो भएको प्रतिक्रियासमेत दिएको उनले बताए ।

‘कतिपय २÷३ मिनेटको गीत पुरै सुन्न सकिन्न,’ गौतमले भने ‘१४ मिनेटको गीत छोटो भयो भन्नु दर्शकले रुचाउनु नै हो ।’

गजलमा नयाँ प्रयोग
योमात्र हैन, थानेश्वरका अन्य थुप्रै गजल हिट छन् । 

‘बिर्सियौ श्रृङ्गारमा गाजल लगाइनछौ
हेत्तेरिका हतारमा गाजल लगाइनछौ’

करिव ८ बर्ष अगाडिको यो गजलले नेपाली गजल संगीतमा एउटा फरक धार भित्र्याउन सफल भएको थियो । यो गजलले स्टेजमा पनि गजल गाउन मिल्दो रहेछ भनेर प्रमाणितसमेत गरिदियो ।
रोमान्टिक श्रृङ्गारिक रसमा संगीतको तरनहार समेत प्रयोग भएको यो गजलले नेपाली गजलमा एउटा फरकधार भित्र्याउन सफल मानिन्छ ।
त्यसपछि,

सिन्दुर लगाउने हौली माया चुरा लगाउने हौली
मध्यरातमा मिठामिठा कुरा लगाउने हौली

बोलको अर्काे गजल उनले बनाए । यो गजलले समेत नेपाली गजलसंगीतमा उचाई थप्ने काम गर्यो । सालै जो, रोयला, पन्चेबाजामा समेत गजल बनाएका उनी पन्चेबाजामा सालैजो प्रयोग गर्ने पहिलो संगीतकारको रुपमा पनि चिनिने गर्दछन् । एकधारमा बगेको सालैजोमा पन्चेबाजा प्रयोगपछि अन्तर्राष्ट्रियस्तरमै चर्चा पुग्न समेत मद्दत पुगेको उनी सुनाउँछन् ।

फिल्मी संगीतमा गजल
शास्त्रीय संगीतमा स्नातक गरेका गौतम बागलुङमा जन्मिएका हुन् । सानैदेखि लोक गीत÷संगीतसँगै हुर्किएका उनलाई सानैदेखि शास्त्रीय र क्लासिकल संगीतले छुन्थ्यो रे । त्यसैले पनि उनले शास्त्रीय संगीतमै मास्टर गरे । 
उनको अर्काे रुचिको बिषय गजल पनि थियो । गजलमा खेल्न, रमाउन उनलाई मनपथ्र्यो । त्यसैले पनि उनले संगीतमा धेरै विधामध्ये गजललाई नै प्राथमिकता दिए ।
अन्य गीतमा मात्र होइन, उनले फिल्मको गीतमा समेत गजलको प्रयोग गरेका छन् । फिल्म रामप्यारीको गीत ‘छमछम ती पाउजुहरु बजाएर आउ’लाई उनले गजल शैलीमै तयार पारेका थिए । गजल शैलीमा बनेको कारण यो गीत हिटसमेत भयो । आफ्नो धेरै गीत राम्रो र फरक शैलीको बनेको उनको भनाइ छ । 

विदेशमा पनि गजलका श्रोता
थानेश्वर विश्वका ३५/४० देशमा कार्यक्रमको सिलसिलामा पुगेका छन् । गजलकै कारणले यो सम्भव भएको उनको भनाइ छ ।
विदेशमा समेत नेपाली गजलका श्रोता तथा दर्शक धेरै भएको उनले पाए । ‘देशमा भन्दा विदेशमा गजल सुन्ने श्रोता वौद्धिक छन् । देशमा लोकगीत सुनिने स्थानमा समेत बिस्तारै गजल सुन्न थालिएको छ,’ उनले थपे, ‘नेपालमा पनि पछिल्लो समय गजलको संस्कार बढ्दै गएको छ ।’

गजल गाउने र बाचन गर्ने दुबै बिषयमा पर्दछ । नेपालमा गजल बाचन गर्ने धेरै चलन भए पनि गाउने संकृतिमा भने कमी भएको उनको बुझाइ छ ।
पछिल्लो समय नेपाली गजलमा लोकशैली समेत प्रयोग हुन थालेका छन् । गजलमा यो शैली भित्र्याउने श्रेय उनलाई नै जान्छ । जुन शैलीमा गीत बनाए पनि हाम्रो संगीतमा आफ्नो माटो, आफ्नो कला, आफ्नो संस्कृति र देशको उकाली ओराली, डाँडापाखाको कथा समेटिनुपर्ने उनको धारणा छ ।

गजल, रोयला, सालैजो, पन्चेबाजा, भजन, फिल्मदेखि क्लासिकसम्म सबै प्रकारको गीत उनले बनाएका छन् । उनी आफ्नो संगीतमा आफै स्वर पनि दिने गर्दछन् । हरेक प्रकारको गीत बनाउनु, गाउनु उनको रुचिको बिषय पनि हो । यसमा आफ्नो अन्तर्निहीत खुबीको कुरो आउने उनी बताउँछन् ।

संगीत भौतारियो 
कतिपय गायक, संगीतकार यतिबेला नेपाली गीत÷संगीत राम्रो अवस्थामा रहेको बताउँछन् । तर, थानेस्वरको बुझाइ फरक छ । उनी अहिले नेपाली गीत÷संगीत विषम परिस्थितिबाट गुज्रिरहेको बताउँछन् ।
‘अहिले झै संगीत भौतारिँदै जाने हो भने भोलि हामी नेपाली संगीत खोज्न भौतारिनु पर्छ,’ उनले भने, ‘त्यतिबेला हामी आफै आफूबाट सिर्जित संगीतलाई धिक्कार्ने छौं ।’

नारायण गोपाल, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, तारादेवी, अरुणा लामा, धर्मराज थापा, नारायण रायमाझी, बमबहादुर कार्की, ज्ञानु राणा जस्ता पुस्ताले बचाएको संगीतलाई अहिलेको पुस्ताले बचाउन नसकेको तर्क राख्ने उनी भन्छन्, ‘पहिलेका पुस्ताको संगीतमा आफ्नोपन हुन्थ्यो । अहिलेकोमा त्यो कहाँ हुन्छ र !’

पैसाको पछि संगीत
पछिल्लो समय गीतसंगीतमा लोकप्रियता, भ्युज हावी भएको छ । पैसाका लागि जस्ता पनि गीत बनेका छन् । उनको गुनासो पनि यही कुरोमा छ ।
‘अहिले संगीत बिकाउ बनाउन थलिएको छ,’ उनले भने, ‘मेरो बुझाइमा संगीत बिकाउ होइन, टिकाउ बनाउनेतिर जोड दिनुपर्छ ।’ चर्चा कमाउने, हिट हुने नाममा नैतिकता बेचेर संगीत बनाउन नहुने उनको मान्यता छ ।
उनी अगाडि थप्छन्, ‘विभिन्न छाडा शब्द राखेर, नैतिकता बेचेर होइन, सिर्जनाले भाइरल बन्नुपर्यो । आज सिर्जना गरेको गीत÷संगीत दश वर्षपछि सुन्दा पनि उत्तिकै आनन्द दिने हुनुुपर्यो ।’

पछिल्लो समय गीत÷संगीतमा लामोसमयदेखि लाग्नेभन्दा पनि एक÷दुईटा गीत ल्याउने बढी हिट छन् । उनी भने छायामा छन् । वास्तविक संगीतको साधक साधनामा ब्यस्त रहने भएकोले चर्चा बाहिर रहने उनको भनाइ छ ।
‘अनावश्यक चर्चामा ल्याएर आफ्नो चाहिनेभन्दा बढी वर्णन होस् भन्ने म चाहन्नँ,’ उनले भने, ‘श्रोता÷दर्शकले मलाई सिर्जनाबाट चिन्नुहोस् भन्ने छ । सस्तो चर्चामा रहन सच्चा साधकलाई नैतिकताले नदिने रहेछ ।’
विसं. ०५६÷०५७ मा अध्ययनसँगै संगीतमा औपचारिक रुपमै होमिएका उनको पहिलो एल्बम ‘सोधौ कसलाई’ २०६० मा बाहिर आएको थियो । त्यसपछि ‘नाकमा फुली हे मेरी’, सालै जो एल्बम ल्याएका उनी अहिले पनि संगीतमा निरन्तर साधनारत छन् । 

गजल, सालै जो, रोइला, भजनलगायत संगीतका धेरै विधामा ३०० बढी गीत बनाएका उनको धेरै हिट गीत गजल शैलीमा छन् । उनको अधिकांश गीतमा शब्द, संगीत र स्वरसमेत उनकै रहेको छ ।

रागमा लोक गीत

गीतसंगीत थुप्रै प्रयोग भएका छन् । तर, अहिलेसम्म रागमा लोकगीत नबनेको उनको बुझाइ छ । लोकगीत गाउनेलाई क्लासिक र क्लासिक गाउनेलाई लोकगीतको ज्ञान नभएको कारण पनि संगीतको रागमा लोक गीत बन्न नसकेको उनले बताए । उनी भने संगीतको रागमा लोक गीत बनाउने सुरमा छन् । आफुलाई संगीतका राग र लोकसंगीत दुवैको ज्ञान भएकाले राग मिसाएर लोकगीत बनाउन लागेको उनले बताए ।
‘अहिलेसम्म संगीतको रागमा लोकगीत असम्भव थियो । अब म सम्भव बनाउँछु’ उनले सुनाए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.