शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब हामी खान सक्नेछौँ, ल्याबमा बनेको आफ्नै मासु !

सिंगापुरमा चल्तीमा आइसक्यो- ल्याबमा बनेको कुखुराको मासु
बुधबार, ०८ पुस २०७७, १४ : ४२
बुधबार, ०८ पुस २०७७

 

 

 

हाम्रा पुराण कथा हुन् कि ग्रीक अथवा इजिप्सियन ।  यी सबैमा जीवन चक्र ( cycle of life ) अर्थात जनक मृत्यु र पुनर्जन्म प्रतिबिम्बित गर्ने एउटा सर्पको उल्लेख भएको पाइन्छ। यस्तो सर्प जसले आफ्नो पुच्छर खान्छ।

आफ्नै पुच्छर खाने त्यो सर्पलाई 'ओरोबोरोस'  (Ouroboros) भनिन्छ l  यस सर्पसँग गास्सिएका अनेकौ मिथक प्रायः सबै धर्म-संस्कृतिमा रहेको पाइन्छ।

https://ychef.files.bbci.co.uk

यो सर्प अस्तित्वमा छ अथवा पुरानो जमानामा यसको परिकल्पना विभिन्न कारणले भएको थियो ? यसबारे ठ्याक्कै भन्न सकिंदैन ।  तर हाल आएर एउटा अमेरिकन कम्पनी 'ओरोशेफ इंक' ले प्रोटीन उत्पादन गर्ने 'ओरोबोरोस' नामक एउटा 'किट' (प्रविधि ) विकसित गरेको छ।  यस 'किट'को सहायताले अब जो कोहीले घरमै बसीबसी आफुलाई चाहिने प्रोटीनको उत्पादन आफ्नै कोशिकाबाट गर्न सक्छ।

यस प्रसंगमा अघि बढ्नुभन्दा पहिला सिंगापुरको चर्चा गर्नु अझै रोचक एवं विषयवस्तुको मर्म बुझ्न सजिलो हुनेछ।

केही दिन अघि सिंगापुरको १८८० नामको रेष्टुराँले नयाँ प्रविधिले बनेको कुखुराको मासुका परिकार पस्कियो आफ्ना ग्राहकहरुलाई। अमेरिकन कम्पनी 'ईट जस्ट' ( eat just )ले ल्याबमा बनाइएको हो त्यो 'चिकेन' l सिंगापुर सरकारको खाद्य विभागले ल्याबमा बनाइएका 'कल्चरड मासु' बिक्री गर्ने अनुमति दिई सकेको छ l विश्वमा यस्तो अनुमति दिने पहिलो देश बनेको छ सिंगापुर ।

१८८० रेष्टुराँको 'मेन्यू'मा अहिले तीनवटा नयाँ 'डिस' थपिएका छन्:

१) बाओ बन विथ क्रिस्पि सिसम कल्चर्ड चिकेन एण्ड स्प्रिङ अनियन  (bao  bun  with  crispy  sesame  cultured  chicken  and  spring onion),

२) फ्यालो पफ पास्ट्री विथ कल्चर्ड चिकेन एणड ब्लाक बिन प्युरी (phylo  puff  pastry  with  cultured  chicken  and  black  bean  puree) र

३) क्रिस्पी मापल वाफल विथ कल्चर्ड चिकेन विथ स्पाइस एणड हट सस (crispy  maple  waffle  with  cultured  chicken  with  spices  and  hot  sauce) ।

बाओ बन

क्रिस्पी मापल वाफल

'ईट जस्ट'का संस्थापक एवं सीईओ जोश टेट्रिक भन्छन्, 'हामीले सन् २०१६ देखि नै प्राणी कोशिका ( animal cells ) बाट  'कल्चरड मासु' उत्पादन गर्न थालेका हौँ ।  यसका लागि हामीले 'पोल्ट्री फ़ार्म'बाट  कुखुराको कोशिका ल्यायौँ ।  ल्याबमा ती कोशिकालाई विभिन्न पोषक पदार्थ जस्तै अमीनो एसिड, कार्बोहाइड्रेड, मिनरल्स, फ्याट र भिटामिनको खुराक दिएर हुर्कायौ।  यी सब तिनै सामग्री हुन जुन 'पोल्ट्री फ़ार्म'मा चल्लालाई हुर्काउन ख्वाइन्छ।'

'यस प्रविधिले १४ दिनमै 'कल्चरड चिकेन' तैयार भयो । परम्परागत हिसाबमा चल्लाबाट चिकेन तैयार हुन घटीमा ४५ दिनको समय लाग्छ' टेट्रिकले भनेका छन्, 'हाम्रो प्रविधिले तीन गुनाभन्दा पनि कम समयमा चिकेन तैयार भयो।' 'ईट जस्ट'को 'कल्चरड मासु' उत्पादन गर्ने संयत्र नर्थ क्यालिफ़ोर्निया र सिंगापुरमा रहेका छन् । अहिले यो कम्पनी अमेरिका लगायत विभिन्न देशसँग 'कल्चरड मासु' उत्पादन र बिक्रीका लागि अनुमति लिन प्रयासरत छ।

ल्याबमा 'कल्चरड मासु' बनाउने प्रविधि एवं उद्योगले एक दशकभित्रमा ठूलो छलांग मार्ने प्रबल सम्भावना छ।  बिल गेट्स र रिचर्ड ब्रानसन जस्ता खरबपतिहरु यो उद्योगतिर आकर्षित भैसकेका छन् ।

अब कुरा गरौँ, 'ओरोबोरोस' सर्प र अमेरिकन कम्पनी 'ओरोसेफ इंक'ले बनाएको नयाँ किट 'ओरोबोरोस'को। कम्पनीले आफ्नो 'किट'को नाम 'ओरोबोरोस' राख्नु बिल्कुलै न्यायसंगत देखिएको छ ।  पुराण कथाको 'ओरोबोरोस' सर्पले आफ्नो पुच्छर खान्थ्यो अर्थात आफ्नो मासु खान्थ्यो l स्पष्ट शब्दमा भन्ने हो भने यो सर्प आफ्नो भोजनका लागि अरुमाथि निर्भर थिएन । आफ्नै मासु खाएर यसले आफ्नो उदर भरण गर्थ्यो।

हामी परजीवीका कुरा गर्छौँ, यो वनस्पति परजीवी, यो प्राणी परजीवी आदि इत्यादि ।  तर, गहिरिएर हेर्ने हो भने समस्त प्राणी जगत नै परजीवी छ । भोजनका लागि सबै प्राणी केही न केहीमा आश्रित  छन्, पुराण कथाको 'ओरोबोरोस' सर्प बाहेक ।

'ओरोबोरोस' एउटा यस्तो प्रविधि हो, जसले तपाईं आफ्नै शरीरको कोशिकाबाट मासु उत्पादन गरी खान सक्नु हुन्छ। र, के निश्चित छ भने आउने केही वर्षभित्र 'ओरोबोरोस' प्रविधि घर घरमा पुग्छ l सबै मानिसले आफ्नै कोशिकाबाट, रगतबाट आफुलाई चाहिने आहार (मासु - प्रोटीन ) तैयार गरी भोजनमा रहेको परनिर्भरताबाट मुक्ति पाउँने छन् ।

तपाईं यसलाई नरमांस सेवन भन्न सक्नु हुन्छ l तर, यसबारे ओरोबोरोस परियोजनाका संस्थापक ग्रेस नाइट भन्छन्, 'यो नरमांस भक्षण होइन ,टेक्नीकल रूपमा यो प्रोटीनको 'अल्टरनेटिभ' उत्पादन हो । मेडिकल साइन्सका अनुसार बिग्रिएको रगत फोहोरमैला मात्रै हो ।  संसारभरी नै मिति नाघेका हजारौं लिटर रगत  दिनहुँ फ्यालिन्छ ।  हो, सांस्कृतिक रूपमा मनुष्यता यसका लागि तैयार भई सकेको छैन।  तर, प्राणी हत्या गरेर मासु खानु ,प्रोटीन ग्रहण गर्नु , पेट भर्नुभन्दा आफ्नै कोशिकाले विकसित भएको आहार -प्रोटीन खानु न्यायसंगत हुन्न र ? यसमा कसैको हत्या त भएको हुन्न ,कसैले ज्यान गुमाउनु परेको हुन्न ।'

'हामी आफ्नै मासु खाने वकालत गरिरहेका होइनौं ।  तपाई यसलाई मासु नभनी आहार सामग्री अथवा प्रोटीनको विकल्प किन भन्नु हुन्न ?' परियोजनासँग आबद्ध शोधकर्ता ओरकान तेल्हन भन्छन्, 'म सोध्छु, संसारभरी नै मासु खाने प्रचलन छ, जसका लागि कुनै न कुनै प्राणीको हत्या गर्नु पर्छ।  दिनहुँ करोडौं निर्दोष पशुले ज्यान गुमाउनु पर्छ।  हत्या जायज र ल्याबमा कसैको हत्या हिंसा नगरी बनेको मासु खानु अपराध ?

त्यसो त मान्छेको मात्रै हैन, यो प्रविधिबाट कुनै पनि प्राणीको कोशिकाबाट पनि ल्याबमा मासु उत्पादन गर्न सकिन्छ । यसले मासुकै लागि ठूलो धनराशी खर्च गरेर पशुपंक्षीहरु पालिबस्नुपर्ने अवस्थालाई अन्त्य गरिदिने सम्भावनालाई पनि जन्म दिएको छ । त्यसबाहेक, आफूले खान चाहेको तर कानूनतः प्रतिबन्ध लगाइएका जनावरहरुको मासु समेत यो प्रविधिबाट उत्पादन गर्न सकिने देखिएको छ । त्यसो भएको खण्डमा लोपोन्मुख वा खतराको सुचीमा परेका तर मासुकै लागि अवैध शिकार हुने गरेका थुप्रै प्राणीहरुको ज्यान बच्ने अवस्था पनि यो प्रविधिले जन्माइदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप