बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

२५ वाणिज्य बैङ्कको लाभांश प्रस्ताव : कुन बैङ्कको कति ? (विवरणसहित)

महामारीबीच पनि ४ बैङ्कको लाभांश बढ्यो
बुधबार, ०८ पुस २०७७, ०८ : २९
बुधबार, ०८ पुस २०७७

काठमाडौं । २५ वाणिज्य बैङ्कले चालु यस वर्षको लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ती बैङ्कहरुले शेयरधनीलाई दिने प्रतिफलको घोषणा गरेका हुन् । अब राष्ट्रिय वाणिज्य बैङ्क र सिभिल बैङ्क समेत दुईवटा बैङ्कले मात्रै लाभांश घोषणा गर्न बाँकी छ । त्यसमध्ये सिभिल बैङ्कको मात्रै दोस्रो बजारमा सूचीकृत कम्पनी हो । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले सर्वसाधारणलाई हालसम्म सेयर निष्कासन गरेको छैन ।

२५ वाणिज्य बैङ्कहरुले हालसम्म कुल ३८ अर्ब ४६ करोड रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेका छन् । प्रस्तावित लाभांशमध्ये ३० अर्ब ७९ करोड रुपैयाँ बराबर बोनस सेयर र ७ अर्ब ६७ करोड रुपैयाँ बराबरको नगद लाभांशको रहेका छन् । नगद लाभांशमा कृषि विकास बैङ्कले जारी गरेको ६ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयरमा दिइने लाभांश समेत जोडिएको छ । यो सेयरको लाभांश ६ प्रतिशत तोकिएको छ । सरकारले लगानी गरेको उक्त सेयरमा कृषि विकास बैङ्कले वार्षिक रुपमा ३६ करोड रुपैयाँ सरकारलाई बुझाउँछ ।

बोनस सेयरलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैङ्कको नीतिसँगै यो वर्ष कुल लाभांशको करिब ८१ प्रतिशत बोनस सेयर दिइएको छ । राष्ट्र बैङ्कले बैङ्कहरुलाई कुल लाभांशको ३० प्रतिशत भन्दा बढी नगल लाभांश दिन नपाउने व्यवस्था गरेको थियो । यसअनुसार ३८ अर्ब ४६ करोडको लाभांशमध्ये ३० अर्ब ७८ करोड लाभांश थपिएको हो ।

अघिल्लो वर्ष सञ्चालनमा रहेका २८ वाणिज्य बैङ्कहरुले ४६ अर्ब २८ करोड लाभांश दिएका थिए । यो लाभांशमध्ये करिब २० अर्ब ८१ करोड रुपैयाँ बराबरको बोनस सेयर थियो । यो कुल लाभांशको करिब ४५ प्रतिशत मात्रै हो । बाँकी ५५ प्रतिशत बराबर हुने २५ अर्ब ४७ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गरिएको थियो ।

बैङ्कहरुले ७.५ प्रतिशतदेखि ३५.२६ प्रतिशतसम्म लाभांश प्रस्ताव गरेका छन् । बोनसतर्फ ५ प्रतिशतदेखि ३३.५ प्रतिशतसम्म प्रस्ताव गर्दा नगद लाभांशतर्फ शुन्य प्रतिशतदेखि ५.५ प्रतिशतसम्म लाभांश दिने प्रस्ताव गरिएको छ । हालसम्म लाभांश घोषणा गरेका बैङ्कहरुको औसत प्रतिफल १३.६४ प्रतिशत रहेको छ । यसमध्ये ११.०२ प्रतिशत बोनस सेयर र २.६२ प्रतिशत नगद लाभांश छ । कोभिड महामारीका बाबजुद यो वर्ष ४ बैङ्कको नाफा अघिल्लो वर्षभन्दा बढी देखिएको छ ।

कुन बैङ्कको कस्तो छ अवस्था ?

नबिल बैङ्क

यो वर्ष नबिल बैङ्क वाणिज्य बैङ्कहरुमध्येकै सबैभन्दा धेरै लाभांश दिने बैङ्क बन्न सफल भएको छ । यो बैङ्कले ३५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । अरु प्रतिस्पर्धी बैङ्कहरुले यो वर्ष अधिकतम २० प्रतिशत मात्रै लाभांश प्रस्ताव गरेका छन् ।

बैङ्कले प्रस्ताव गरेको लाभांशमध्ये ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ । अघिल्लो वर्ष यो बैङ्कले ३४ प्रतिशत लाभांश दिएको थियो । सोमध्ये १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद थियो ।

हाल नबिल बैङ्कको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १३ अर्ब ४८ करोड पुग्नेछ ।

एनआईशी एशिया बैङ्क

एनआईशी एशिया बैङ्कले यो वर्ष २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश तोकिएको छ । अघिल्लो वर्ष १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगदसहित २१.०५ प्रतिशत लाभांश दिएको थियो ।

एआईशी एशिया बैङ्कको हालको चुक्ता पुँजी ९ अर्ब ७१ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ११ अर्ब ५६ करोड पुग्नेछ ।

हिमालयन बैङ्क

हिमालयन बैङ्कले पनि यो वर्ष २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगदसहित २२ प्रतिशत लाभांश दिएको थियो ।

हिमालयन बैङ्कको हालको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ६८ करोड पुग्नेछ ।

नेपाल इन्भेष्टमेन्ट बैङ्क

नेपाल इन्भेष्टमेन्ट बैङ्क यो वर्ष लाभांश वितरणमा चौथो बन्दै १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगदसहित १९ प्रतिशत लाभांश दिएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैङ्कको हालको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १६ अर्ब १० करोड पुग्नेछ ।

एनएमबि बैङ्क

एनएमबि बैङ्कले यो वर्ष १६.२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगदसहित ३५ प्रतिशत लाभांश दिएर वाणिज्य बैङ्कमध्येकै सबैभन्दा धेरै लाभांश दिने बैङ्क बनेको थियो ।

एनएमबि बैङ्कको हालको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १६ अर्ब ३२ करोड पुग्नेछ । अघिल्लो वर्ष यो बैङ्कले ओम डेभलपमेन्ट बैङ्कलाई आफूमा गाभेको थियो ।

ग्लोबल आईएमई बैङ्क

ग्लोबल आईएमई बैङ्कले यो वर्ष १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष बैङ्कले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश दिएको थियो ।

ग्लोबल आईएमई बैङ्कको हालको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ छ । जनता बैङ्कलाई आफूमा गाभेको यस बैङ्कसँग अहिले नै धेरै चुक्ता पुँजी छ । बैङ्कको प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी २१ अर्ब ६३ करोड पुग्नेछ । यो नेपालको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैङ्क समेत हो ।

बैङ्क अफ काठमाण्डू

बैङ्क अफ काठमाण्डूले यो वर्ष १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष बैङ्कले ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगदसहित १७ प्रतिशत लाभांश दिएको थियो ।

बैङ्क अफ काठमाण्डूको हालको चुक्ता पुँजी ८ अर्ब ५४ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ६५ करोड पुग्नेछ ।

नेपाल बैङ्क

बहुसंख्यक सरकारी स्वामित्वको नेपाल बैङ्कले यो वर्ष १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश छ । लामो समयदेखिको सिञ्चित घाटालाई पूरा गर्दै अघिल्लो वर्ष बैङ्कले पहिलोपटक १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश दिएको थियो ।

नेपाल बैङ्कको हालको चुक्ता पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १२ अर्ब ६३ करोड पुग्नेछ ।

कृषि विकास बैङ्क

कृषि विकास बैङ्कले यो वर्ष १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष बैङ्कले ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगदसहित ३० प्रतिशत लाभांश दिएको थियो ।

६ अर्बको अभिमोच्य अग्राधिकार सेयरबाहेक बैङ्कसँग हाल ८ अर्ब ९८ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ३३ करोड पुग्नेछ ।

सिद्धार्थ बैङ्क

सिद्धार्थ बैङ्कले यो वर्ष १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष बैङ्कले १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगदसहित २५.२६ प्रतिशत लाभांश दिएको थियो ।

सिद्धार्थ बैङ्कको हालको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ९६ करोड पुग्नेछ ।

प्राइम कमर्सियल बैङ्क

प्राइम कमर्सियल बैङ्कले यो वर्ष १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १५ प्रतिशत बोनस सेयर र शुन्य प्रतिशत नगद लाभांश छ । बैङ्कको बनेजस पाउन शेयरधनीले ०.७५ प्रतिशत नगद बुझाउनुपर्नेछ । अघिल्लो वर्ष बैङ्कले १६ प्रतिशत बोनस सेयर र शुन्य प्रतिशत नगदसहित १६ प्रतिशत लाभांश दिएको थियो ।

प्राइम कमर्सियल बैङ्कको हालको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १६ अर्ब ८ करोड पुग्नेछ । अघिल्लो वर्ष यो बैङ्कले कैलाश विकास बैङ्कलाई आफूमा गाभेको थियो ।

कुमारी बैङ्क

कुमारी बैङ्कले यो वर्ष १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष बैङ्कले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगदसहित १०.५२ प्रतिशत लाभांश दिएको थियो ।

कुमारी बैङ्कको हालको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १३ अर्ब ८७ करोड पुग्नेछ । अघिल्लो वर्ष यो बैङ्कले देवः विकास बैङ्कलाई आफूमा गाभेको थियो ।

सानिमा बैङ्क

सानिमा बैङ्कले यो वर्ष १३.६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १० प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष बैङ्कले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगदसहित २१.०५ प्रतिशत लाभांश दिएको थियो ।

सानिमा बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ६८ करोड पुग्नेछ ।

मेगा बैङ्क

मेगा बैङ्कले यो वर्ष १३.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष बैङ्कले शुन्य प्रतिशत बोनस सेयर र ११.७५ प्रतिशत नगदसहित ११.७५ प्रतिशत लाभांश दिएको थियो ।

मेगा बैङ्कको हालको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुग्नेछ । मेगा बैङ्कले गत वर्ष गण्डकी विकास बैङ्कलाई आफूमा गाभेको थियो ।

स्ट्यान्डर्ड चार्टर्ड बैङ्क

स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले यो वर्ष ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष बैङ्कले शुन्य प्रतिशत बोनस सेयर र २२.५ प्रतिशत नगदसहित २२.५ प्रतिशत लाभांश दिएको थियो । पर्याप्त नगद लाभांश दिन नपाउँदा बैङ्कले यो वर्ष लाभांश सीमित गरिदिएको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ८ अर्ब ५७ करोड पुग्नेछ ।

लक्ष्मी बैङ्क

लक्ष्मी बैङ्कले यो वर्ष ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ९.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष बैङ्कले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश दिएको थियो ।

लक्ष्मी बैङ्कको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ८४ करोड पुग्नेछ ।

सिटिजन्स बैङ्क

सिटिजन्स बैङ्कले यो वर्ष ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश छ । अघिल्लो वर्ष बैङ्कले ३ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश दिएको थियो ।

सिटिजन्स बैङ्कको हालको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ८१ करोड पुग्नेछ ।

एनसीसी बैङ्क

एनसीसी बैङ्कले यो वर्ष १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १०.२६९५ प्रतिशत बोनस सेयर र ०.५४०५ प्रतिशत नगद लाभांश छ । केही समय अघि मात्रै बैङ्कले अघिल्लो वर्षको १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगदसहित १५.७८ प्रतिशत लाभांश दिएको थियो ।

एनसीसी बैङ्कको हालको चुक्ता पुँजी ९ अर्ब ३५ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ३१ करोड पुग्नेछ ।

एभरेष्ट बैङ्क

एभरेष्ट बैङ्कले यो वर्ष १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश दिएको थियो ।

एभरेष्ट बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ८ अर्ब ९३ करोड पुग्नेछ ।

प्रभु बैङ्क

प्रभु बैङ्कले यो वर्ष १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगदसहित १६.८४ प्रतिशत लाभांश दिएको थियो ।

प्रभु बैङ्कको हालको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ११ अर्ब ३४ करोड पुग्नेछ ।

माछापुच्छ्रे बैङ्क

माछापुच्छ्रे बैङ्कले यो वर्ष १०.४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगदसहित १६ प्रतिशत लाभांश दिएको थियो ।

माछापुच्छ्रे बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ५ करोड पुग्नेछ ।

नेपाल एसबीआई बैङ्क

नेपाल एसबीआई बैङ्कले यो वर्ष ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष ६ प्रतिशत बोनस सेयर र १०.८४ प्रतिशत नगदसहित १६.८४ प्रतिशत लाभांश दिएको थियो ।

नेपाल एसबीआई बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ९५ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ४९ करोड पुग्नेछ । 

नेपाल बंगलादेश बैङ्क

नेपाल बंगलादेश बैङ्कले यो वर्ष ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगदसहित १२ प्रतिशत लाभांश दिएको थियो ।

नेपाल बंगलादेश बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ पुग्नेछ । 

सनराइज बैङ्क

सनराइज बैङ्कले यो वर्ष ८.२८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ५.८ प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगदसहित १२ प्रतिशत लाभांश दिएको थियो ।

सनराइज बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ४८ करोड पुग्नेछ । 

सेञ्चुरी कमर्सियल बैङ्क

सेञ्चुरी कमर्सियल बैङ्कले यो वर्ष ७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश छ । बैङ्कले अघिल्लो वर्ष २ प्रतिशत बोनस सेयर र ४.७५ प्रतिशत नगदसहित ६.७५ प्रतिशत लाभांश दिएको थियो ।

सेञ्चुरी कमर्सियल बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ८१ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ८ अर्ब ८३ करोड पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप