शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष चयनपछि माधव नेपालको पहिलो अन्तरवार्ता : अब जहाज सही ढङ्गले उड्छ, दुर्घटना हुँदैन

‘हाम्रो लडाइँ पात्रविरुद्ध होइन, प्रवृत्तिविरुद्ध हो’
मङ्गलबार, ०७ पुस २०७७, १८ : ४८
मङ्गलबार, ०७ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले अध्यक्ष केपी शर्मा ओलीलाई वर्खास्त गर्दै माधवकुमार नेपाललाई अध्यक्ष पदमा चयन गरेको छ । मङ्गलबार बबरमहलमा बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । नेता नेपाललाई पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षका लागि गरेको प्रस्ताव केन्द्रीय समिति बैठकले सर्वसम्मत पारित गरेको हो । नेपाल अध्यक्षमा निर्वाचित भएलगत्तै पहिलो अन्तरवार्ता रातोपाटीलाई दिँदै नेकपारुपी जहाज अव दुर्घटना नहुने बताएका छन् । उनले भनेका छन्, ‘जहाज अब सही ढंगले अघि उड्छ ।’

आजको बैठकले तपाईंलाई अध्यक्षमा निर्वाचित गरेको छ । कस्तो अनुभूति गर्नुभएको छ ?

यस्तो बेलामा पार्टी केन्द्रीय कमिटी सदस्यहरुले जुन हिसावले मप्रति विश्वास व्यक्त गर्नुभएको छ, पार्टीका स्थायी समिति र सचिवालयका कमरेडहरुले जुन आशा र अपेक्षा मबाट गर्नुभएको छ, त्यसबाट म अत्यन्त गम्भीर भएको छु ।

हाम्रो पार्टी अत्यन्तै सङ्गीन मोडमा, संकटको घडीमा उभिएको छ । यस्तो बेलामा चुनौतीलाई उच्च मनोबलका साथ सबैलाई एकताबद्ध बनाएर नै कम्युनिस्ट पार्टीलाई आन्दोलनलाई सुदृढ बनाउने विश्वासका साथ यसलाई पुरा गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।

पार्टीको एउटा हिस्सा चोेइटिएर गएको छ । यस्तो बेलामा नेकपा एकढिक्का छ भनेर आम कार्यकर्तालाई कसरी विश्वास दिलाउनुहुन्छ ?

कम्युनिस्ट आन्दोलनको मुलधार भनेको यही नेकपा नै हो । अरु साथीहरु जो भ्रम र अन्यौलमा हुनुहुन्छ, उहाँहरु सबैलाई के आश्वस्त पार्न चाहान्छु भने कि सवैलाई न्यायोचित व्यवहार र मूल्याङ्कन गरिने छ । योग्यता, क्षमता र योगदानअनुसार जिम्मेवारी प्रदान गरिने छ, कुनै भेदभाव गरिने छैन । त्यसो हुनाले मनमा अरु कुनै किसिमको आशंका नराखेर एकताबद्ध भएर जान आग्रह गर्दछु । जनताले यो पार्टीमा धेरै ठुलो आशा र भरोसा गरेका पनि छन् । त्यसैले यो पार्टीमा आजसम्म रहेका कमी–कमजोरीहरुलाई खोज्नुपर्ने, चित्रित गर्नुपर्ने र हटाउनुपर्ने आवश्यकता छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यक्ता छ ।

दुईवटा पाइलट बन्दा नेकपा यो अवस्थामा आयो । फेरि पनि दुईवटै पाइलट राख्नुभएको छ । यस्तो अवस्थामा जहाज सही ढङ्गले उड्छ त अब ?

पुरानो अभ्यासको पालना गर्ने कुरामा कहाँ समस्या रहे ? अब नयाँ अभ्यास गर्दा कसरी यसलाई सफल बनाउन सकिन्छ भन्ने बारेमा पहिले भएका कमी–कमजोरीहरुको हामीले खोजी र पहिचान गर्नुपर्दछ । र ती कमजोरी नदोहोरिउन् भनेर सुनिश्चतता गर्नुपर्दछ ।

पार्टी एकताको मूल आधार भनेको पार्टीको नीति नै हो, विचार नै हो । कस्तो पार्टी बनाउने भन्ने हाम्रो धारणा नै हो । यस सन्दर्भमा पार्टीको विधानले नै सवै कुरा प्रस्ट पारेको छ । कतिपय कुरा प्रष्ट पार्नुपर्छ भने नियमावलीहरुलाई प्रष्ट पारेर अघि बढ्नुपर्छ । मलाई लाग्दैन– कुनैपनि समस्याहरुको समाधान हामीले खोज्न नसकौँ, पक्कै समाधान खोज्न सकिन्छ । विश्वासको नयाँ वातावरण तयार गर्न सकिन्छ । विश्वासको वातावरण बन्न सक्यो, विधिमा बाँधिन सक्यौँ र उद्देश्यमा एक भएर जान सक्यौँ भने हाम्रो यात्रा हाम्रो जहाज सहज ढङ्गले अघि बढ्नेछ ।

संसद भंगको बिरुद्धमा तपाईंहरुले ल्याउने संघर्षका कार्यक्रम के हुनसक्छन् ?

त्यसका निम्ति देशव्यापी रुपमा जनपरिचालन नै हो । संवैधानिक प्रावधानका विरुद्धमा चालिएको कदमका विरुद्धमा, लोकतन्त्रमाथि आघात पुर्‍याउने कदमका विरुद्धमा र अहिले जुन ढंगले प्रधानमन्त्रीबाट चालिएको एकाधिकारवादी, सर्वसत्तावादी, संविधान र लोकतन्त्रविरोधी कदम त्यसका निम्ति आम जनतालाई सचेत बनाउने हो । त्यसो गरेर सबै निकायको ध्यानाकर्षित गर्दै संसदको पुनर्स्थापना गरेर त्यसले जनताको मतको सम्मान गरेर जनताको चाहना पूरा गर्ने गरी त्यो संसदले आफ्नो भूमिका निर्वाह गर्ने अवस्थामा पुर्‍याउने हो ।

प्रधानमन्त्रीलाई अध्यक्षबाट पदमुक्त त गर्नुभयो । के अझैपनि उहाँ सुध्रेर आउनुहुन्छ भन्ने आशा छ ?

हामीले सबै ढोका बन्द गर्नुहुँदैन । यसको अर्थ हामीमा उदारता देखिन्छ, देखाउछौँ । उदारता देखिनु राम्रो हो । हाम्रो पूर्वाग्रह देखिँदैन । कुनै व्यक्तिको विरुद्धमा हामी लक्षित छैनौँ भन्ने यसले देखाउँछ । हामी प्रवृतिका विरुद्ध जुधिरहेका छौँ । हाम्रो लडाईं पनि प्रवृत्तिका विरुद्धमा नै हो । प्रवृत्तिलाई बोक्ने पात्रहरु हुन्छन्, त्यसैले ती पात्रलाई होइन, प्रवृत्तिलाई सिध्याउन खोजेका हौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप