रिसलाई काबुमा राखौँ
भाइबहिनीहरू आज तिमीहरूसँग एउटा कुरा सोध्न मन लाग्यो– ल भन त, तिमी भान्साबाट चियाको गिलास लिएर आफ्नो कोठातिर जाँदैछौ । एक्कासि तिमीसँग कोही ठोक्किन आइपुग्यो, के हुन्छ भन त ?
तिम्रो हातमा रहेको गिलासबाट चिया छचल्किएर पोखिन्छ, होइन त ?
भान्साबाट आमा कराउनु हुन्छ– ‘हेर त बुद्धि नभएको ! चिया पोखेर ‘कार्पेट’ फोहोर गरेको ? यसको अलिकति पनि ढङ्ग छैन, चियाको यो दाग केही गरे पनि जाँदैन अब । म त तिमीहरूसँग आजित भइसकेँ ।’
यस्तो बेला तिमी के गर्छौ ? पक्कै तिमी प्रतिवाद गर्दै जबाफ फकाउँछौ– ‘मैले चिया पोखेको होइन, म त सोझै जाँदै थिएँ, बहिनी आएर मसँग ठोक्किई । चिया पोखिनुमा मेरो दोष छैन । यो नठोक्किएकी भए चिया पोखिने थिएन । आमा हजुर जे कुरामा पनि सधैँ मलाई नै गाली गर्नुहुन्छ । जसको गल्ती भए पनि गाली खाने सधैँ म मात्रै हुन्छु यो घरमा !’
तिमीलाई के लाग्छ, तिमीले दिएको यो उत्तर ठीक हो ?
यो प्रश्न गर्दा तिमी मसँगै झोँक्किन बेर छैन । यस्तो सीधा कुरामा पनि केको प्रश्न र उत्तर ? गिलासबाट चिया अरूका कारणले छचल्किएर पोखिएको हो । मेरो गल्ती नै थिएन ।
आज मलाई तिमीसँग गफ गर्ने नै मन छ । म प्रश्न अलिक अझै स्पष्ट र सरल बनाउँछु– ल भन त गिलासबाट चिया नै किन पोखियो ? पानी किन पोखिएन, दूध किन पोखिएन ?
तिमी हाँस्यौ, मेरो प्रश्न सुन्न साथ हाँस्यौ– हाँस्दै मनमनै भन्यौ– ‘यो अङ्कलले पनि के सोधेको होला ? यति पनि थाहा छैन, गिलासमा जे हुन्छ त्यही त पोखिन्छ, नभएको कुरा कहाँबाट आउँछ ?’
ल तिमी अझै हाँस मेरो सिल्ली सवालमा धित मरुन्जेल हाँस । हाँसेर यतिसम्म ‘फ्रेस होऊ’ मानौँ कथाको प्रारम्भमा चिया पोखिएर (अथवा यस्तै अन्य कुनै कुराबाट) तिमीले नै भर्खरै आमाको गाली खाएर मन निदाउरो बनाएका थियौ । मेरो जोक्कर प्रश्नले तिम्रो मुड बदलिनु पर्छ है । अब ध्यान दिएर मेरो कुरा सुन ।
तिमीले भनेको ठीक हो । गिलासबाट चिया किन पोखियो भने गिलासमा चिया थियो । नभएको कुरा त पोखिँदैन । अब यसै कुरालाई आफ्नो जीवनसँग दाँज ।
तिमी बाटोमा हिँडिरहेका छौ– कसैले तिमीलाई धक्का दियो । तिम्रो पारा तात्तियो, तिमीले उसलाई अनेकौं अपशब्द र तथानाम भन्यौ ।
फेरि मेरो एउटा प्रश्न छ । यी अपशब्द र तथानामका फोहोर कुरा तिम्रो मुखबाट किन छचल्किएर पोखिए ? किन रिसले तिम्रो सारा अनुहार रातो भएर आयो ?
के तिमीलाई लाग्दैन तिम्रो मन रूपी गिलासमा चियाको सट्टा रिस, क्रोध, अपशब्द, द्वेष, तिक्तता र घृणा जस्ता कुरा भरिएर रहेका थिए । गिलास रूपी तिम्रो मनमा धक्का लाग्न साथ ती छचल्किएर पोखिए ।
हेर, मानिस सामाजिक प्राणी हो । एक्लै बस्न सक्दैन । र, सँगै हुँदा प्रतिदिन कोही न कोही, कसै न कसैसँग ठोक्किने सम्भावना हुन्छ । यो ठोक्किने र ठक्कर खाने घटनाबाट जोगिने कुनै उपाय छैन । तिमी समाजबाट छुट्टिएर एक्लै त बस्न सक्दैनौँ ।
तर एउटा अर्को उपाय भने छ । यदि हामी आफ्नो मनरूपी गिलासमा रिस, क्रोध, गाली, अपशब्दको सट्टा धैर्य, बन्धुत्व, क्षमा, सहनशीलता, मौन, प्रेम, दया भाव सँगालेर राख्छौ भने धक्का लाग्दा हाम्रो मनबाट के छचल्किएर बाहिर आउँछ ? मलाई थाहा छ, मैले यसको जवाफमा केही लेख्नु पर्दैन । तिमीहरूलाई पोखिएर आउने सामग्रीबारे थाहा भइसक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनामंगलस्थित होटलमा दुई युवायुवती मृत अवस्थामा भेटिए
-
दुर्गा प्रसाईँलाई अदालत लगियो
-
इन्डियन प्रिमियर लिगको मेगा अक्सन आजदेखि
-
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव
-
मेस्सीकै पूर्वसहकर्मी मास्चेरानो इन्टर मियामीको नयाँ प्रमुख प्रशिक्षक !
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र