शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन मन्त्रीमा योगेश भट्टराईको १७ महिना : पशुपतिमा राष्ट्रिय गानदेखि दुई दिने सार्वजनिक बिदासम्म

सोमबार, ०६ पुस २०७७, १८ : ०४
सोमबार, ०६ पुस २०७७

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो १७ महिने कार्यकाललाई पूर्णविराम लगाउँदै सोमबार मन्त्रालयबाट बाहिरिए । अनपेक्षित राजनीतिक घटनाक्रमबाट असन्तुष्टि व्यक्त गर्दै आइतबार नै सामूहिक राजीनामा दिएका मन्त्री भट्टराईले सोमबार मन्त्रालयमा औपचारिक कार्यक्रम नै गरेर बिदा लिए । कार्यक्रममा मन्त्रालयका सचिव, कर्मचारीदेखि पर्यटन बोर्ड, विभाग तथा निजी क्षेत्रको समेत सहभागिता रहेको थियो । मन्त्री भट्टराईलाई फूलगुच्छासहित माला, खादा र टोकन अफ लभ (मायाको चिनो) समेत दिएर बिदा गरियो । 

उक्त विदाई कार्यक्रममा निवर्तमान मन्त्री भट्टराईले आफ्नो काम गर्ने जोश, जाँगर र उत्साह हुँदाहुँदै पनि राजनीतिक घटनाक्रमले गर्दा बाहिरिनु परेको बताए । २०७६ साउन १५ मा मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री भट्टराईले करिब १७ महिने आफ्नो कार्यकालमा पर्यटन तथा एभियसन (हवाई) क्षेत्रको सुधारमा निकै उपलब्धीमुलक कामहरु भएको जिकिर गरे । तर अझैँ धेरै महत्त्वपूर्ण काम गर्ने आफ्नो जोश, जागर र उत्साह हुँदाहुँदै पनि बाहिरिनु परेको बताए ।

‘जति समय म यो मन्त्रालयमा रहेर काम गरे निकै उत्साह र सार्थकताका साथ काम गरेँ । मन्त्रालयभित्रको पर्यटन क्षेत्रदेखि एभियसन, हवाई क्षेत्र समेतको सुधारको काम गर्ने प्रयत्न गरेँ । यसमा म कति सफल भए कति असफल । तर लिएको लक्ष्य तथा योजनामा मैले लिएको जिम्मेवारी हरसम्मत पुरा गर्ने कोषिश गरेँ । तर पछिल्लो विकसित राजनीतिक घटनाक्रमले गर्दा ती यावत सुधारका कामहरुलाई निरन्तरता दिन सकिनँ । काम गर्ने जोश, जागर र उत्साह हुँदाहुँदै पनि बाहिरिनु प¥यो ।’

मन्त्री भट्टराईले भने, ‘लोकतन्त्रको सर्वाधिकार सार्वभौम जनताको प्रतिनिधिसभा संसद नै नरहने भएपछि पदमा बसिरहनु उचित देखिनँ र म सहित अन्य साथीहरु सरकारबाट बाहिरिने निर्णय ग¥यौं । अहिलेको विकल्प संसद विघटन तथा मध्यावधि चुनावको होइन, संसद पुनस्थापनाको हो । यसको रक्षाका लागि अहिले हामी सबै जना लड्नु आवश्यक छ,’ भट्टराईले भने ।

त्यसो त मन्त्री भट्टराईले मन्त्री पद त्याग गरेसँगै यतिखेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मन्त्रीविहीन हुन पुगेको छ । भट्टराईले राजिनामा दिएसँगै रिक्त रहन पुगेको मन्त्रालयको नेतृत्वमा अर्को मन्त्रीको नियुक्ती नभएसम्म पदपूर्ति हुने अवस्था छैन । यसका लागि प्रधामन्त्री केपी शर्मा ओलीको अबको कदम र आउँदो दिनको राजनीतिक घटनाक्रमले निर्धारण गर्ला नै । 

१७ महिने कार्यकाल कति कस्तो रह्यो ?

भिजिट नेपाल २०२०  
प्रमुखतः निवर्तमान पर्यटन मन्त्री योगेशकुमार भट्टराईसँग ठोक्किने अहिलेको जल्दोबल्दो मुद्दा भिजिट २०२० को विषय हो । मन्त्री भट्टराईकै कार्यकालमा घोषणा गरिएको भ्रमण वर्षको जसअपजस मन्त्री भट्टराईकै थाप्लामा जान्छ । मन्त्री भट्टराईकै पालामा भ्रमण वर्ष २०२० घोषण भएको थियो । तर, भ्रमण वर्ष घोषण हुँदानहुँदै विश्वमा फैलिएको कोरोना भाइरसका कारण अन्ततः भ्रमण वर्ष विफल हुन पुग्यो । 

२० लाख पर्यटक सन् २०२० मा नै नेपाल भित्र्याउने लक्ष्य कोरोनाका कारण तुहिन पुग्यो । नेतृत्वकर्ताको हैसियतको रुपमा यसको गुणदोष मन्त्री भट्टराईकै थाप्लामा जान्छ । भलै भ्रमण वर्षको असफलताको दोष मन्त्री भट्टराईले कोरोना भाइरसलाई देखाउन पाएका छन् । 

यद्यपी कोभिड–१९ को कठिन परिस्थितिमा समेत पर्यटन क्षेत्रको सुधारमा उल्लेखनीय काम भएको मन्त्री भट्टराईको भनाइ छ । त्यसो त सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने अघिल्लो (सन् २०१७ ) सरकारकै निर्णय थियो ।

विमानस्थल निर्माण

आन्तरिक हवाई क्षेत्रको सुधारसहित विमानस्थलको स्तरोन्नतिसहित थप एक, मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ विमानस्थल निर्माण सम्मपन्न गर्ने सपना देखेका मन्त्री योगेशकुमार भट्टराईले त्यो पुरा गर्न सकेन । निकै महत्वका साथ हेरिएको निजगढ विमानस्थलको काम उनको कार्यकालमा आधारभूत तह, करिब १० प्रतिशत भन्दा अघि बढ्न सकेन । त्यसो त अदालतीय मुद्दामा समेत परेको सो विमानस्थलाको निर्माण कार्य वन तथा वातावरण मन्त्रालय र पर्यटन मन्त्रायकै विवादका बीच हालैमात्र शुरु भएको छ । 

यता, क्षत्रीय विमानस्थल पोखरा विमानस्थल, भैरहवास्थित गौतम बुद्ध विमानस्थलको काम ९० प्रतिशत सक्किसकेको भनिएपनि मन्त्री भट्टराई उद्घाटन हुन नपाउँदै बाहिरिएका छन् ।     

हवाई भाडामा ५० प्रतिशत छुट 
पर्यटन मन्त्री भट्टराईले ७० वर्ष नाघेका बृद्धबृद्धालाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने नीति लिए । भदौ ९ गते उनले आफ्नो एक वर्षे कार्ययोजना सुनाउँदै गर्दा मन्त्री भट्टराइले ७० वर्ष नाघेका वृद्धवृदाहरुलाई हवाईभाडामा ५० प्रतिशत छुट दिइने बताएका थिए । यसको घोषणा भएलगत्तै वायुसेवा सञ्चालक संघले विज्ञप्ति नै निकालेर यसको खण्डन गरेको थियो । तथापी मन्त्री भट्टराईले यो निर्णयमा सर्वसाधारणबाट राम्रो प्रतिक्रिया पाए । अन्ततः यो निर्णय कार्यान्वयनमा नै गयो । हाल डोमेष्टिक उडानमा ७० वर्ष माथिका वृद्धवृद्धाहरुले यसको लाभ लिएरहेका छन् । 

पशुपतिमा आरती अघि राष्ट्रिय गान
भट्टराईको १७ महिने कार्यकालको निकै आलोचित मुद्दा राष्ट्रिय गानको नीति बन्यो । मन्त्री भट्टराईले गत भदौ १३, २०७६ मा पशुपतिनाथमा आरती गर्नुअघि अनिवार्य राष्ट्रिय गान बजाउन पशुपतिनाथ आरती व्यवस्थापकलाई निर्देशन दिएका थिए । यो निर्देशन निकै आलोचित बन्यो । यसको सर्वसाधारणले निकै विरोध गरे । यो विषयले संसदमा समेत प्रवेश पायो । यसले सनातन हिन्दु धर्ममाथिको प्रहार भन्दै संस्कृतिविदहरुले यसको आलोचना गरे । उनको यो कदमलाई बुद्धिजिवीहरुले पनि ‘उग्रराष्ट्रवाद’ को संज्ञा दिए । यो निर्देशनलाई पनि पशुपतिनाथ मन्दिरमै पनि ‘भद्र अवज्ञा’ गरियो । अन्ततः यो नीति नै विफल भयो ।

दुई दिन सार्वजनिक विदा 
भट्टराईले पछिल्लो समय उठाएको दुई दिने सार्वजनिक विदाको मुद्दा यतिखेर चर्चाको विषय बनिरहेको छ । कोभिड–१९ का कारण सिथिल भएको पर्यटन बजार आन्तरिक पर्यकले भनेपनि चलायमान गर्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्री भट्टराई कर्मचारीहरुलाई हप्ताको दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव गरेका थिए । यद्यपी यो प्र्रस्ताव हालसम्म पास भइसकेको छैन ।
 संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको नेतृत्वमा बनेको विज्ञसहितको टोलिले तयार पारेको सुझावसहितको प्रतिवेदन अहिले मन्त्रिपरिषद् पठाइएको छ । तर निर्णय भइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप