शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको कदम : कलाकार भन्छन् - 'जनमतमाथि प्रहार'

'कोरोनाको भन्दा सत्ता टिक्ने भ्याक्सिन खोजियो'
सोमबार, ०६ पुस २०७७, १३ : ४३
सोमबार, ०६ पुस २०७७

काठमाडौँ । नेपाली राजनीति यतिबेला तरङ्गित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (आइतबार) एकाएक संसद् विघटनको सिफारिस गरेपछि राजनीति तरङ्गित भएको हो ।  प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्दै आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि मितिका रूपमा समेत घोषणा गरेकी छन् । ओलीको यो निर्णयको उनको पार्टी नेकपा, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायत सबैतिरबाट विरोध भइरहेको छ । संविधानविद्हरुले समेत ओलीको कदम गैरसंवैधानिक भएको बताउँदै आएका छन् ।

उनको कदमसँगै सडकमा विरोधका स्वरहरु सुनिन थालेको छ । राजनीतिक दलदेखि सामाजिक सञ्जालसम्म उनको कदमको चर्चा र विरोध हुन थालेका छन् । संसदमा झन्डै दुईतिहाइ बहुमत प्राप्त दलका प्रधानमन्त्रीबाट चालिएको यो कदमलाई सर्वसाधारणले जनमतमाथिको प्रहारको रूपमा समेत हेरेको पाउन सकिन्छ । हाम्रा कलाक्षेत्रका सेलिब्रेटीको भनाइ पनि सर्वसाधारणको जस्तै रहेको छ । उनीहरुले पनि प्रधानमन्त्रीको कदमलाई जनमतको कदर नभएको रूपमा चर्चा गरेका छन् । प्रधानमन्त्रीको अहिलेको कदमको कस्तो लाग्यो ? हामीले केही सेलिब्रेटीलाई एउटै प्रश्न राखेका थियौँ । उनीहरुको जबाफ जस्ताको तस्तै ।

अशोक शर्मा (कलाकार, निर्देशक) :
अहिले एकदमै भाँडभैलो किसिमले राज्य सञ्चालन भइरहेको छ । दुई तिहाइ बहुमत ल्याएर जितेको पार्टीभित्र पनि कुनै किसिमको समन्वय, मेलमिलाप देखिँदैन । यो क्रियाकलापले गर्दा देश र जनताले दुःख पाउनुहुन्न । मेरो स्पष्ट भनाइ के छ भने जुन किसिमले राज्य सञ्चालन भइरहेको छ त्योभन्दा नयाँ म्यान्डेटमा जानु ठीक हो । अब जनताले राम्रोसँग राज्य चलाउन सक्नेलाई मात्र चुन्नुपर्यो । सधैँ झैझगडामा बस्नुभन्दा नयाँ जनमतमा जानु एक किसिमले ठीक हो । अब जनताले देश चलाउन सक्नेलाई चुन्ने छन् ।

नवल खड्का (नायक निर्माता) :
यो उचित कदम हो भन्ने लाग्दैन । बहुमतको सरकारको प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुँदाहुँदै संसद् विघटन गर्नुभनेको र विघटनको स्थिति आउनु भनेको कुनै पनि कोणबाट राम्रो मान्न सकिन्न । प्रधानमन्त्रीको यस्तो निर्णयमा जानु भनेको पिसाबको न्यानो जस्तो हो । यसले एक छिन त तातो देला, दियो होला तर त्यसको चिसोले भोलि सबैलाई सताउनेछ । 

दीपकराज गिरी (कलाकार) :
व्यक्तिगत रूपमा हेर्नेभन्दा पनि प्रवृत्तिको रूपमा यसलाई हेर्नुपर्ने हुन्छ । हाम्रो राजनीति नै सुरुदेखि आफ्नो, पार्टीको र गुटगत स्वार्थबाट प्रभावित हुँदै आएको देखिन्छ । राजनीतिक दलहरुले केन्द्रबिन्दुमा देश न पहिले राखेका थिए न अहिले राखेका छन् । केपी ओली पनि गिरिजाबाबुबाट राजनीति सिकेका व्यक्ति हुन् । त्यसैले गिरिजाप्रसाद कोइरालाले धेरै अगाडि जे कदम चालेका थिए ।

अहिले प्रधानमन्त्री ओलीले सोही कदम चालेका छन् । त्यतिबेला गिरिजाप्रसाद कोइराला संसदमा नीति तथा कार्यक्रम फेल भएपछि मध्यावधिमा गएका थिए । अहिले त्यो अवस्था पनि होइन । अहिले देशमा कोरोनाको भन्दा राजनीति टिक्ने भ्याक्सिन चाहिएको छ । चाइनिज र इन्डियन मिक्स गरेर देशमा स्थायी राजनीति बनाउने एउटा भ्याक्सिन बनाउनु अति आवश्यक भयो । दुई तिहाइको सरकार यसरी बिग्रिनु भनेको राम्रो सङ्केत होइन । यो जनमतमाथिको प्रहार हो ।

नीता ढुङ्गाना (अभिनेत्री) :
साधारण जनताको हिसाबले हेर्ने हो भने सबै चिज सकिएर नयाँ केही हुने आस पनि हो यो । भोलिको भविश्य राम्रो हुने सङ्केत पनि मान्नु पर्छ । अहिले परिस्थिति नराम्रो भयो । भोलिका दिनमा यही कदमले देशलाई राम्रो स्थितिमा पुर्याउन पनि सक्छ । नराम्रोतिर लैजान पनि सक्छ । तर यो कदमले जनमतको कदर नभएको प्रस्ट हुन्छ ।

कृष्ण मल्ल (अभिनेता) :
यो कदम अपेक्षित हो । पहिलेदेखि पार्टीभित्र जुन किसिमको कलह थियो । त्यसको परिणाम यही हो । केपी ओलीको पहिलेदेखिको प्रवृत्ति हेर्ने हो भने कि पार्टी फुटाएर शासन गर्ने, कि संसद विघटन गर्ने सोच उहाँमा छ भन्ने मलाई पहिलेदेखि नै लागेको विषय हो । अहिले त्यही भयो । हुन त यो कदमको विपक्षमा उहाँकै पार्टीबाट पनि आवज उठिरहेको छ ।
जनताका लागि हेर्ने हो भने कोही आउँदा पनि राम्रो हुने स्थिति पहिले देखेको थिइनँ । अब पनि छैन । किनभने ५ वर्षका लागि दुई तिहाइ बहुमत दिएको सरकारले त केही गर्न सकेन भने अब कस्तो आउँछ, के गर्छ भनेर आस गर्ने बाटो रहेन । तैपनि हामीले चुनावका लागि आफूलाई तयार गर्नुको विकल्प छैन ।

केपी पाठक (चलचित्र निर्देशक) :      
प्रधानमन्त्री केपी ओलीको यो कदम इगो र आवेगपूर्ण छ । कानुनी हिसाबले यो कदमको विषयमा ज्ञाताहरुले विचार राख्लान् । व्यक्ति व्यक्तिको इगोमा केही समयदेखि देश रुमलिरहेको थियो । जुन सरकार र देशको मूल मान्छे हो त्यो नै पार्टीको पनि मुख्य मान्छे थियो । 
सबैलाई मिलाउन अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने मानिसको सनकले देशले दुःख पाउने भयो । देशको अर्बाैं रुपैयाँ चुनावमा खर्च हुने र देश अस्थिरतामा धकेलिने भयो । ओलीको कदम देशका लागि घातक छ । सबै नेताहरु बसेर छलफलमा मिलाउनुपर्छ । यो कदमलाई जनता र कार्यकर्ताले राम्रो मानेका छैनन् ।

सुरक्षा पन्त (अभिनेत्री) :
के बोल्ने, के भन्ने । ५ वर्ष सरकार चलाउन जनताले दिएको म्यान्डेटलाई बेवास्ता गरेर यस्तो निर्णय गर्नेे समय आउनु, निर्णय गर्नु भनेको जनमतको कदर नभएको फिल हामीलाई गराएको छ । देशभित्र विभिन्न राजनीतिक हाउभाउ भएको यो कदमले प्रष्ट पारेको छ । राजनीतिक व्यक्तित्वमा देश र जनताको चिन्ता नभएको बुझ्न सकिन्छ । देशमा प्रजातन्त्र नभएको अवस्था अहिले सिर्जना भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप