प्रअको नियुक्तिको विषयमा विवाद चुलियो, पठनपाठन ठप्प
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ रैयाटोलमा रहेको महेन्द्र माध्यामिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा विवाद चर्किएपछि पठनपाठनमा असर परेको छ । प्रधानाध्यापक नियुक्तिको विषयमा विद्यालय व्यवस्थापन समिति र सो विद्यालयमा कार्यरत शिक्षकहरुबीच विवाद बढेपछि त्यसको असर विद्यार्थीमा परेको हो ।
विद्यालयमा विवाद चुलिएपछि चन्द्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिपेन्द्र मण्डलले शुक्रबार विवाद मिलाउन खोजेका थिए । तर, विवाद सल्टीन सकेन । आफ्नो निर्देशन नमानेपछि उनले आइतबार विद्यालयका ८ शिक्षकलाई नगरपालिका हाजिर हुन ताकेता गरेका छन् । यो निर्देशनसँगै प्रधानाध्यापकको नियुक्ति विषय झन पेचिलो बनेको हो ।
यसअघि सो विद्यालयमा प्रधानाध्यापक रहेका रामपुकार प्रसाद मंसिर १० गते ६० वर्ष उमेर पुगेकोले अनिवार्य सेवा निवृत्त भएका थिए । उनले सेवा निवृत्त हुनु एकदिन अघि सोही विद्यालयमा निम्न माध्यामिक तृतीय तहमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएका थिए । बुढाथोकी यसअघि सो विद्यालयमा सहायक प्रधानाध्यापक थिए ।
सोही पत्रको आधारमा बुढाथोकीले प्रधानाध्यापकको रुपमा काम गर्दै आइरहेका थिए । तर, विद्यालय व्यवस्थापन समितिले आफूहरुलाई नसोधि पूर्व प्रधानाध्यापकले बुढाथोकीलाई निमित्त प्रधानाध्यापक बनाएको भन्दै विवाद गरेका थिए । मंसिर ११ गतेसोही विद्यालयमा प्राथमिक विद्यालय तृतीय (प्रावि तृतीय) तहमा कार्यरत शिक्षक लक्ष्मण नेपाललाई निमित्त प्रधानाध्यापक नियुक्त गरेपछि विवाद बढेको थियो ।
विद्यालय व्यवस्थापन समितिले नेपाललाई निमित्त प्रधानाध्यापक नियुक्त गरेपछि बुढाथोकीसहित विद्यालयमा कार्यरत ८ जना शिक्षकहरुले नेपाललाई प्रधानाध्यापकको रूपमा अस्विकार गर्ने भन्दै चन्द्रपुर नगरपालिका शिक्षा शाखामा लिखित रुपमा विरोध–पत्र बुझाएका छन् । सो विरोध पत्रमा विद्यालयमा तहगत रुपमा वरिष्ठ शिक्षकहरु हुँदा–हुँदै विद्यालय व्यवस्थापन समितिले वरिष्ठ शिक्षकहरुलाई अवमूल्यन गरी कनिष्ठ शिक्षकलाई निमित्त प्रधानाध्यापक बनाएको थियो । सो निर्णय नमान्ने भन्दै पुनः बुढाथोकीलाई निमित प्रधानाध्यापक बनाउनुपर्ने माग गरिएको छ ।
विरोध–पत्रमा शिक्षा नियमावली र शिक्षा ऐन, नियम तथा राष्ट्रिय शिक्षा नीति २०७६ को परिच्छेद १७ को नियम १४९ दफा ९३ को प्रधानाध्यापक सम्बन्धी व्यवस्थाको उपनियम १२ मा निमित्त प्रअ सम्बन्ध व्यवस्था उपनियम १२ बमोजिम निमित्त प्रअ बुढाथोकी नै हुनु पर्ने भनेका छन् । यस्तो गतिविधिबाट विद्यालय अशान्त भएको, काम गर्ने वातावरण समेत नभएको, शिक्षकहरु अपहेलित भएको महसुस भएको विरोध–पत्रमा उल्लेख छ ।
शिक्षक बुढाथोकीले आफु चन्द्रपुर नगरपालिकाले आयोजना गरेको कोभिड–१९ सँगै विद्यालय सञ्चालन गर्ने सम्बन्धि चन्द्रपुर नगरपालिकाका विद्यालयहरुको प्रधानाध्यापकहरुको ३ दिने गोष्ठीमा सहभागी हुन गएको बेला जिम्मेवारी खोसेर विद्यालय व्यवस्थापन समितिले एकलौटी र मनोमानी निर्णय गरेको बताए । उनले विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य सचिवको रुपमा आफुले बैठक बोलाउनुपर्ने नियम भएपनि सो नियमको उल्लंङ्घन गर्दै आफूलाई थाहै नदिई बैठक बसेर आफुभन्दा कनिष्ठलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको गुनासो गरे । ‘समितिले मलाई नै निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिनुपर्छ भन्ने होइन’ उनले भने, ‘तर विद्यालयमा वरिष्ठ शिक्षकहरु हुँदा–हुँदै कनिष्ठलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिनु शिक्षा ऐन, नियम, नियमावली विपरित हो । यसलाई समितिले सच्याउनुपर्छ ।’ उनले समितिको सो निर्णयले शिक्षकहरुलाई अपहेलित गरेको र विद्यालयको शैक्षिक वातावरण अशान्त बनाएको जिकिर गरे ।
शिक्षा शाखाका प्रमुख मण्डलले सो विद्यालयमा निमित्त प्रधानाध्यापक नियुक्तिको गुनासो आफु समक्ष आएको र दुबै पक्ष बीचमा छलफल गराउदा पनि निकास ननिस्किएकोले शिक्षकहरुलाई नगरपालिकाकमा हाजिर हुन आउन आग्रह गरिएको बताए । उनले छलफलबाट समस्याको निकास ननिस्किएकोले शिक्षा ऐन र नगरपालिकाको कार्यविधि अनुरुप हुने भन्दै शिक्षक र विद्यालय व्यवस्थापन समितिको विवादले विद्यालय र विद्यार्थीलाई नोक्सान हुने भएकोले दुवै पक्षको विवादलाई निकासतर्फ लैजान समेत अपिल गरे ।
यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजिब कुशवारले पूर्वप्रधानाध्यापक रामपुकारले व्यवस्थापन समितिसँग छलफल नगरी सुटुक्क बुढाथोकीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी लिखित दिएकाले आफुहरुलाई सो मान्य नहुने जनाउँदै आफुहरुले कानुनले दिएको अधिकार प्रयोग गरेर नेपाललाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको जिकिर गरे ।
उनले कतिपय वरिष्ठ शिक्षकहरु विभिन्न निजी विद्यालयमा पढाउने गरेको र विद्यालयमा समयमा नआउने गरेको आरोप लगाउँदै आफुहरुको विद्यालय र विद्यार्थीको हित बाहेक कुनै स्वार्थ नरहेको दावी गरे ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले प्रअ नियुक्तिको विवादले विद्यार्थीहरुको पढ्न पाउने अधिकारबाट बञ्चित गर्न नहुने बताए ।
उता नेपालले निमित्त प्रअको जिम्मेवारी पाएकै दिन नियम कानून विपरीत व्यवस्थापन समितिको स्वार्थ अनुसार नेपालले ३ जनालाई निजी स्रोतमा शिक्षक नियुक्त गरेका छन् ।
गत बिहीबार विद्यालयमा कार्यरत ८ जना शिक्षकहरुले चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देललाई भेटि विद्यालयको समस्याबारे जानकारी दिएका थिए । प्रकाशकीय अधिकृत सिग्देलले समस्याको समाधान छिट्टै गर्ने आश्वासन शिक्षकहरुलाई दिएका थिए । विद्यालयमा विवादको कारण विपन्न समुदायका विद्यार्थीहरु अध्ययनबाट बञ्चित भएका छन् । आफ्ना छोराछोरीको पढाइमा असर पर्ने भन्ने चिन्ता अभिभावकले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने