बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको काँग्रेसको निष्कर्ष

आइतबार, ०५ पुस २०७७, १८ : २१
आइतबार, ०५ पुस २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ । आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद विघटन गरेको भन्दै भत्सर्ना गरेको हो । 

बैठक पछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर देशलाई अस्तिरता तिर लैजाने र लोकतन्त्रमाथि संकट पैदा काम भएकाले सडकबाट सामना गर्ने निर्णय भएको बताए । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद विघटन गर्नुभयो यो कुनैपनि हालतमा वैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चाल्नुभएको छ र यसको नेपाली कांग्रेसले घोर भत्सर्ना गर्दछ । यसले राष्ट्रलाई अस्थिरता तिर लैजाने लोकतन्त्रलाई संकटतिर लैजाने छ । यो अत्यन्त निन्दनिय काम भयो हामी यसको समाना गछौं ।’

यस्तै नेता रमेश लेखकले संसद विघटन गरिएको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताए । बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहर गरेको पनि नेता लेखकले बताए । उनले भने, ‘हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भयो । हामीले यो कदम लोकतान्त्रिक मूल्य र मान्यताका प्रतिकुल, संवैधानिक व्यवस्थाका खिलाप नेपाल कम्युनिष्ट पार्टीको सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य हो भन्ने हाम्रो बैठकले ठहर गरेको छ ।’ 

आगामी दिनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसँग सल्लाह गरी अगाडि बढ्ने निर्णय गरेको पनि नेता लेखकले बताए । 

 

बैठकले निम्नानुसार निर्णय गरेको छ—

नेपाल सरकार मन्त्री परिषद्ले आज हठात् प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि निर्वाचन गर्ने गरी गरेको निर्णय, प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिस र सम्माननीय राष्ट्रपतिबाट उक्त सिफारिस स्वीकृत भएको घटनामा हाम्रो ध्यान गम्भीर रुपले आकृष्ट भएको छ ।

(१) यो घटना नेपाल कम्युनिष्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो । सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको छ ।

(२) विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको छ । कोभिड—१९ को माहामारीले जनता सर्वाधिक पिडामा रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको सरकार जनताका जन–जिवीका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुदै, आफ्नो पद र शाक्तिका लागि सत्ता संघर्षमा केन्द्रीत रह्यो । पछिल्ला घटना क्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता संचालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरित कार्यहरुको श्रखृलाको निरन्तरता हो ।

(३) नेपाली कांग्रेसको यो बैठक नेपाल कम्युनिष्ट पार्टी र सरकारका कारण उत्पन्न यो असहज परिस्थितिमा नेपाली जनता सामु नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

(४) नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसंग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि कार्य गर्नेछ ।

जय नेपाल !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप