शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् विघटनपछि निजी क्षेत्रमा तरंग, अस्थिरता निम्तिने चिन्ता

आइतबार, ०५ पुस २०७७, १६ : ५३
आइतबार, ०५ पुस २०७७

काठमाडौं । नेपाली राजनीतिमा एकाएक विकासित घटनाक्रमलाई लिएर निजी तथा व्यवसायिक क्षेत्र सशंकित बन्न पुगेको छ । करिब दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपतिबाट अनुमोदन गराएसँगै व्यवसायीहरु अन्योलमा पर्नुका साथै सशंकित बनेका हुन् । 

करिब दुई दशकसम्म राजनीतिक अस्थिरतासँगै व्यवसायिक अस्थिरता समेत भोगेको मुलुकले अब फेरि ठूलो अस्थिरताको सिकार बन्ने हो की भन्ने चिन्ता यतिखेर व्यवसायीहरुमा देखिएको छ ।
अहिलेको यो परिघटनाले राजनीतिक रुपमा मात्र नभएर व्यवहारिक तथा आर्थिक पाटोमा समेत ठूलो प्रभाव र संकट निम्त्याउन सक्ने उनीहरुले बताएका छन् । 

अहिलेको राजनीतिक घटनालाई लिएर निजी व्यवसायिक संस्था नेपाल चेम्बर अफ कमर्सले निकै दुर्भाग्यपूर्ण घटना भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई दिएर चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले प्रधानमन्त्रीको यो कदम दुर्भाग्यपूर्ण कदम भएको उल्लेख गरे । 

रातोपाटीसँग कुरा गर्दै मल्लले भने, ‘अहिलेको घटनालाई स्वभाविक भन्न सकिन्न, यो विशुद्ध राजनीतिक घटना मात्र नभएर व्यवहारिक र आर्थिक घटना पनि हो । अन्ततः मुलुकले लामो समयसम्म यसको नकारात्मक प्रभाव भोग्नु पर्ने हुनसक्छ’ मल्लले भने ।

यता निजी व्यवसायिक क्षेत्रको अर्को नेतृत्वकर्ता नेपाल उद्योग परिसंघ (सिएनआई) ले समेत प्रधानमन्त्रीको उक्त कदमप्रति विमति राख्दै विरोध गरेको छ । प्रधानमन्त्रीको अहिलेको संसद विघटनसम्मको कदमलाई कुनैपनि हालतमा मुलुक र जनताले स्वीकार्न नसक्ने बताएको छ । 

उक्त विषयमा बोल्दै सिएनआईका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्रीको अहिलेको कदम मुलुकलाई पुनः दुई दशक पछाडि धकेल्ने कदम भनेका छन् ।
रातोपाटीसँग कुरा गर्दै मोरले भने, ‘अहिलेको राजनीतिक घटना परिदृश्यलाई हेर्दा प्रधामन्त्रीको कदम राजनीतिक पाटोबाट मात्र नभएर व्यवसायिक, आर्थिक कुनै पनि पाटोबाट उचित छैन । यसले मुलुकलाई फाइदा गर्दैन अन्ततः नोक्सान नै गर्ने हो । बढो चिन्ताको विषय त के छ भने, अब फेरि दुई दशक अघिकै राजनीतिक अस्थिरतासँगै व्यवसायिक अस्थिरता तर्फ मुलुक पुनरावृति हुन खोजेको त होइन ? भन्ने खतरा बढाएको छ ।’

अध्यक्ष मोरले भने, ‘राजनीतिक अस्थिरता बढ्यो भने व्यवसायिक अस्थिरता पनि बढ्छ । यसले मुलुकमा व्यवसायिक वातावरण बन्दैन र मुलुक आर्थिक सबलीकरणमा झन्झन् तल खस्कन पुग्छ । अहिलेको परिदृश्यले त्यस्तै संकेत गर्दैछ’ अध्यक्ष मोरले रातोपाटीसँग भने ।

दुईदशकपछि पहिलो पटक स्थायी सरकारको रुपमा आएको नेकपा सरकार आएसँगै विस्तारै मुलुकमा व्यवसायिक वातावरण बन्दै गएकोमा पछिल्लो घटनाक्रमले पुनः अन्योलता छाएको मोरको भनाइ छ । यसले विस्तारै बन्दै गएको व्यवसायिक लगानीको वातावरण समेत धुमिल हुन पुग्ने अध्यक्ष मोरले बताए । 

‘विशेषतः राजनीतिको व्यवसायिक प्रभाव पर्ने भनेको नीतिगत प्रभाव हो । राजनीतिक अस्थिरतासँगै आउने घटनाले व्यवसायिक क्षेत्रमा बन्दै गरेको नीतिगत सुधार समेत प्रभावित हुन्छ कि भन्ने हामीलाई डर छ’ अध्यक्ष मोरले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप