खारेज हुँदै पुनर्निर्माण प्राधिकरणः वैशाख महिनाभित्र भूकम्प प्रभावितले तेस्रो किस्ता लिइसक्नुपर्ने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तसम्म भूकम्पले भत्काएका निजी घरहरू पुनर्निर्माणको काम सम्पन्न गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले अहिलेसम्म घर नबनाएकाहरूले यही पुस १५ गतेभित्र पहिलो किस्ताको रकम लिइसक्नुपर्ने, माघ महिनाभित्र घरको जग हाल्नुपर्ने र आगामी वैशाख महिनाभित्र तेस्रो किस्ताको रकम लिएर असार मसान्तसम्म घरको छानो हालिसक्नुपर्ने बताएको छ । आउँदो जेठदेखि तेस्रो किस्ताबापतको रकम दिने काम बन्द गर्ने कार्ययोजना बनाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।
आगामी असार मसान्तबाट भूकम्पले भत्काएका व्यक्तिका निजी आवास पुनर्निर्माणको काम सम्पन्न हुने उनको भनाइ छ । निजी आवास पुनर्निर्माणअन्तर्गत भत्किएका ८ लाख घरमध्ये निर्माण सकिएका र बनिरहेका गरी ९२ प्रतिशत प्रगति भएको जानकारी दिए । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट झन्डै ८ लाख घर भत्किएका थिए ।
पुनर्निर्माणको काम ९० प्रतिशतभन्दा माथि जानु मुख्य उपलब्धि भएको उनले बताए । अन्य स्थानमा घर भएका र घर नबनाएका कतिपयले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ फिर्ता गरेको र बाँकी रहेकाहरूले यो आर्थिक वर्षभित्र निर्माण सक्ने उनको भनाइ छ ।
झन्डै ४ प्रतिशत हाराहारी भूकम्प प्रभावितको विभिन्न खालका समस्या रहेको र त्यसका लागि प्राधिकरणले काम गरिरहेको उनले बताए ।
प्राधिकरणले कामदार नपाएका स्थानमा ठूलो सङ्ख्यामा सामाजिक परिचालक तथा मिस्त्रीहरू परिचालन गर्ने बताएको छ । यस्तै घर बनाउन नसकेको स्थानमा प्राविधिक सहयोग गर्ने परिचालकहरू पनि पठाइने तयारी छ ।
प्राधिकरणका कार्यकारी निर्देशक ज्ञवालीले भने–‘सामाजिक परिचालकहरूले कहाँकहाँ के कारणले घर बनाउन सकेनन्, त्यो पत्ता लगाउने काम गर्छन् । सोहीअनुसार समस्या समाधान गर्ने प्रणाली पनि सुरु गरेका छौँ ।’
पुनर्निर्माणअन्तर्गत विद्यालयतर्फ ७ हजार ५ सय ५३ वटा विद्यालय बनाउनुपर्नेमा ८० प्रतिशत काम सम्पन्न भएको छ । भूकम्पले भत्काएका प्रायः सबै विद्यालयको पुनर्निर्माणको काम अघि बढिरहेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । विश्वविद्यालय तहका केही संरचना बनाउन समय लागे पनि विद्यालय पुनर्निर्माणको काम पनि यो वर्ष सकिने उनले बताए ।
१ हजार १ सय ९२ स्वास्थ्य संस्थामध्ये ६० प्रतिशतको काम सम्पन्न भएको छ । भारत सरकारको लगानीमा पुनर्निर्माण हुने स्वास्थ्य संस्थाका लागि पनि स्वीकृति दिइएको र यो वर्ष बाँकी रहेका सबै स्वास्थ्य संस्था पुनर्निर्माण सुरु गर्नेगरी अर्थमन्त्रालयले बजेट व्यवस्थापन गरेको उनले बताए ।
यस्तै पुरातात्विक सम्पदातर्फ ५० प्रतिशत हाराहारी काम सम्पन्न भएको छ । यो वर्ष करिब ९० प्रतिशत हाराहारी काम अघि बढाउने तयारी छ । अर्को वर्षदेखि बाँकी रहेका काम पुरातत्व विभागले अगाडि बढाउने योजना छ ।
अर्को वर्षदेखि प्राधिकरण खारेज, विषयगत मन्त्रालयलाई काम हस्तान्तरण हुने
यही पुस १० देखि प्राधिकरणको ५ वर्षे कार्यकाल सकिँदैछ । पुनर्निर्माणको काम नसकिएका कारण र कोरोना माहामारीले गर्दा कामको गति केही घटेको हुँदा मन्त्रिपरिषद् बैठकले अर्को १ वर्षका लागि प्राधिकरणको समयावधि थप गरेको छ ।
अगामी असार मसान्तसम्म प्राधिकरणले सक्रिय रूपमा काम गर्ने र अर्को आर्थिक वर्षबाट प्राधिकरणअन्तर्गत रहेका काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गर्ने योजना रहेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए ।
उनले भने– ‘अर्को साउनदेखि अहिले प्राधिकरणले गरेका काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ । सहरी विकास मन्त्रालयअन्तर्गत पर्ने कामजस्तै भवनसम्बन्धी केके काम बाँकी रहे त्यो काम सहरी विकास मन्त्रालयलाई दिइने छ । शिक्षासम्बन्धी काम शिक्षा मन्त्रालयलाई, पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणको काम पुरातत्त्व विभागलाई हस्तान्तरण गर्छौं । विपद्सम्बन्धी काम विपद् व्यवस्थापनसम्बन्धी प्राधिकरणलाई हस्तान्तरण गरेर जान्छौँ ।’
दाता सम्मेलनमा प्रतिबद्धता भएको सबै रकम उठ्यो
भूकम्पपछि पुनर्निर्माणका लागि सरकारले २०७२ असार १० गते अन्तर्राष्ट्रिय दाता सम्मेलन गरेको थियो । सो अवसरमा गरिएको प्रतिबद्धता र सम्झौताअनुसारको अन्तर्राष्ट्रिय सहयोग प्राप्त भएको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । त्यतिबेला विभिन्न देशका प्रतिनिधिहरूले कूल ४ सय १० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । जसमध्ये राहत, उद्धारका लागि ६७ अरब रुपैयाँ खर्च भएको थियो । उनले भने–‘राहत र उद्धारमा भएको सो खर्च कटाएर आएको २ सय ९३ अर्ब रुपैयाँमध्ये ८१ प्रतिशत रकम सरकारसँग सम्झौता भएर आउने क्रम जारी छ । अरू १९ प्रतिशत बाँकी रकम विभिन्न गैरसरकारी निकायहरूमार्फत आएको छ । यसरी दाता सम्मेलनमा प्रतिबद्धता जनाइएको सम्पूर्ण रकम नेपालले पाएको छ ।’
पुनर्निर्माणको इतिहासमा दाताले प्रतिबद्धता गरेअनुसार सहयोग पाउने देशमा नेपाल महत्त्वपूर्ण स्थानमा रहेको उनले बताए । उनले भने– ‘प्रतिबद्धताअनुसार नेपालले शतप्रतिशत रकम पाएको छ । कसैले कम दिए, कसैले धेरै दिए तर त्यतिबेला भएको प्रतिबद्धताअनुसार नेपालले सबै पैसा पाएको छ ।’
पुनर्निर्माणका लागि बजेट अझै अपर्याप्त
पुनर्निर्माणको काम अन्तिम चरणमा पुगे पनि पर्याप्त बजेको अभाव रहेको प्राधिकरणको भनाइ छ । पर्याप्त बजेट भएको भए अघिल्लो वर्ष नै बाँकी काम सकिने प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले जानकारी दिए । निजी आवास पुनर्निर्माणका लागि अहिलेसम्म बजेटको अभाव नभएको बताउँदै उनले भने– ‘जनताले घर बनाउने कामका लागि बजेट व्यवस्थापन भइरहेको छ । अरू क्षेत्रका लागि भने प्राथकिता तोक्दै यो पछि यो गर्ने भन्नुपर्ने अवस्था छ । निजी आवासको काम पहिला सक्ने भनेर सबै पैसा त्यसमै बढी केन्द्रित भयो । त्यसपछि शिक्षा, स्वास्थ्य त्यसपछि सरकारी भवन हँुदै प्राथमिकताका आधारमा काम भइरहेको छ । हामीलाई स्वास्थ्य शिक्षाका लागि पर्याप्त बजेट हुन्थ्यो भने अघिल्लो वर्ष नै काम सकिसक्थ्यौँ । बजेटको सीमितताले गर्दा थोरैथोरै रकममा काम गर्नुपर्ने अवस्था आयो ।’
यो आर्थिक वर्षका लागि पुनर्निर्माणमा खर्च गर्न ८७ अर्ब बजेट चाहिनेमा ५५ अर्ब बजेट रहेको छ । यो वर्ष मात्रै ३२ अर्ब रुपैयाँ बजेट कमी भएको उनले बताए । एकातिर निर्धारित समयमा पुनर्निर्माणको काम सम्पन्न गर्नुपर्ने चुनौती रहेको र अर्कोतिर बजेटको सीमितताका बीच काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । अघिल्लो वर्ष पनि ४० अरब रुपैयाँ कम बजेटमा काम गर्नुपरेको उनले बताए । प्राधिकरणले मागे जति पैसा नपाएका कारण हरेक वर्ष आवश्यक बजेटभन्दा कममा काम गर्नुपरेको कार्यकारी निर्देशक ज्ञवालीले बताए ।
वैशाख १०, ११ र १२ गते अन्तर्राष्ट्रिय सम्मेलन, नेपालको प्रगति विवरण गर्ने
प्राधिकरणले आगामी वैशाखमा ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । वैशाख १२ गते भूकम्प गएको सन्दर्भ पारेर वैशाख १० गतेदेखि ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको प्राधिकरणका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । सो अवसरमा पुनर्निर्माणमा नेपालले हासिल गरेको प्रगति अन्तर्राष्ट्रिय समुदायमा पु¥याउने उनले बताए । उनले भने– ‘पहिला पुनर्निर्माणका लागि हामीलाई सहयोग गर्नुप¥यो भनेर अन्तर्राष्ट्रिय समुदायलाई भन्यौँ । अन्तर्राष्ट्रिय समुदाय, नेपाल सरकार र जनताले गरेको लगानीबाट प्राप्त भएको उपलब्धिबारे जानकारी गराउने लक्ष्य राखेका छौँ ।’
नेपालमा पुनर्निर्माणको काम कसरी सफल भयो भन्ने कुरा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनका लागि अहिले डकुमेन्टेसन गर्ने काम भइरहेको पनि कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको ६० वटा अनुसन्धान पत्र जम्मा पारेको उनले बताए । विश्वमा विपद् व्यवस्थापनबारे जानकारी दिनका लागि ती अनुसन्धान पत्र अध्ययनका लागि उपयोगी हुने उनको भनाइ छ । काम गर्ने सन्दर्भमा विषयविज्ञहरूले तयार पारेका ती अनुसन्धान पत्रमध्ये २५ वटा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशनका लागि अनुमति प्राप्त भएको छ । यस्तै प्राधिकरण आफैँले विभिन्न ६ वटा विषयमा कसरी पुनर्निर्माणको काम ग¥यो, त्योसम्बन्धी विस्तृत सामग्री प्रकाशन गर्ने तयारी गरेको छ । यस्तै पुनर्निर्माणबारे राष्ट्रपतिदेखि जनप्रतिनिधि र सर्वसाधारणसम्मले कस्तो अनुभूति गरे त्यसबारेको सामग्री प्रकाशनको तयारीमा रहेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए ।
आगामी असार मसान्तसम्म सक्रिय रूपमा काम गर्ने प्राधिकरणले अर्को वर्ष पुससम्म पुनर्निर्माणका बाँकी काम सम्बन्धित निकायमा हस्तान्तरण गर्ने योजना बनाएको छ । यस्तै लेखापरीक्षण गर्ने, स्रेस्तालाई अन्तिम रूप दिने लगायतका काम हुने उनले बताए । प्राधिकरणले हस्तान्तरण गरेपछि सम्बन्धित निकायले ती कामको जिम्मेवारी लिएर सम्पन्न गर्ने योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
हरायो चेन्नईको चमक, लगातार चौथो हार
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा