शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण क्रिसमस अघि बेलायतमा कडा प्रतिबन्ध

आइतबार, ०५ पुस २०७७, ०७ : ०४
आइतबार, ०५ पुस २०७७

कोरोना महामारीका कारण क्रिसमसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लण्डनसमेत केही इलाकामा चौथो चरणको कडा प्रतिबन्ध लागू गरिने घोषणा गरेका छन् । 

शनिबार राती आयोजित एक पत्रकार सम्मलेनमा प्रधानमन्त्री बोरिस जोनसनले देशमा चाडपर्वको मौसम यसपटक अलग हुने बताएका छन् । उनले भने, ‘पहिला जसरी योजना तयार गरिएको थियो त्यस अनुसार यसपटक हामी क्रिसमस मनाउन सक्दैनौं ।’

उनले चौथो चरणको प्रतिबन्ध पूर्वी र दक्षिण पूर्व इंगल्याण्डका केही इलाकासमेत लण्डनमा आइतबारदेखि लागू हुने बताए । 

सरकारले क्रिसमसका बेला प्रतिबन्धमा पाँच दिनको छुट दिने घोषणा गरेको थियो । तर यसलाई कम गरेर एक दिनको मात्रै बनाएको छ । 

जुन इलाकामा चौथो चरणको प्रतिबन्ध लागू गरिएको छ, त्यहाँका मानिसहरुलाई घरमा नै बस्न, अत्यावश्यक नपरेसम्म घरबाट बाहिर ननिस्कन, आफ्नो इलाकाबाट बाहिर नजान र अर्को इलाकाका मानिसहरुलाई नभेट्न भनिएको छ । साथै यो इलाकामा घरबाट बाहिर निस्किएर सार्वजनिक स्थानमा एक व्यक्तिले एक व्यक्तिलाई मात्रै भेट्न पाउने नियम तोकिएको छ । 

प्रधानमन्त्रीले जुन इलाकामा चौथो चरणको प्रतिबन्ध लागू गरेको छ त्यहाँ बस्ने मानिसहरु क्रिसमसको दिन पनि बाहिर गएर मानिसहरुलाई नभेट्न भनेको छ र जुन इलाकामा यो प्रतिबन्ध छैन त्यहाँ पनि क्रिसमसको मौकामा तीन परिवारलाई मात्रै एकैपटक भेटघाट गर्न आग्रह गरिएको छ । 

यो प्रतिबन्ध हाल दुई हप्तासम्म लागू रहनेछ । डिसेम्बर ३० पछि पुनः स्थितीको समीक्षा गरिनेछ । 

नयाँ भेरियन्टका कारण बिग्रियो स्थितीः

राजनीति संवाददाता निक यर्डलीले क्रिसमस अघि पछिल्लो ७२ घण्टामा स्थिती निकै फेरिएको बताएका छन् । 

शुक्रबार राती कोरोनाभाइरसका कारण पैदा भएको स्थितीबारे चर्चा गर्नका लागि सरकारले एक आपतकालीन बैठक बोलाएको थियो जसमा भाइरसलाई फैलनबाट रोक्नका लागि सरकारले कडा प्रतिबन्ध लगाउनुपर्ने निर्णय गरिएको थियो । 

लण्डनमा रहेका बीबीसी संवाददाता गगन सभरवालका अनुसार शुक्रबार कोरोना संक्रमणको नयाँ आँकडा सार्वजनिक भएपछि प्रधानमन्त्रीले यो दिशामा निर्णय दिन बाध्य हुनुपरेको हो । शुक्रबार कोरोना संक्रमणको साप्ताहिक आँकडामा ६० प्रतिशतको वृद्धि दर्ता गरिएको छ । 

प्रधानमन्त्रीले कोरोनाभाइरसको एक नयाँ भेरियन्ट अब देशमा आफ्नो खुट्टा पसारिरहेका कारण यो पहिलेभन्दा तीब्र रुपमा फैलिरहेको बताएका छन् । यो नयाँ भेरियन्टका कारण अस्पतालमा बिरामीको संख्यामा तीब्र वृद्धि भइरहेको छ । यद्यपि, यसले धेरैको मृत्यु भने गराएको छैन । 

साथै उनले भने, ‘यदि भाइरसले हमला गर्नका लागि आफ्नो रणनति फेरेको छ भने हामीले पनि सुरक्षाका लागि आफ्नो रणनीति बदल्नुपर्छ ।’

प्रधानमन्त्रीलाई उद्धृत गर्दै गगन भन्छन्, ‘कोरोनाको यो भेरियन्ट अहिलेसम्म दुई देशमा पाइएको छ । यद्यपि, सरकारले बेलायतबाहेक कुन देशमा भाइरसको यस्तो भेरियन्ट पाएको छ भनेर पुष्टि भने गरेको छैन ।’

सरकारका अनुसार बेलायतले भाइरसको नयाँ भेरियन्टबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी दिएको छ ।
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप