शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लन्डनमा संक्रमण बढेसँगै आइतबारबाट थप कडा प्रतिबन्ध

आइतबार, ०५ पुस २०७७, ०६ : ३४
आइतबार, ०५ पुस २०७७

लण्डन । बेलायतका विभिन क्षेत्रमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि बेलायत सरकारले  शनिबार थप कडा प्रतिबन्धको घोषणा गरेको छ । 

यसअघि संक्रमण दरका आधारमा निर्धारित गरिएको  ‘टीयर ३’ अन्तर्गतको वर्गीकरणलाई ‘टीयर ४’ मा राखिएको प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत् जानकारी दिएका छन् ।  

आइतबारबाट तत्कालै लागू हुनेगरी कम्तिमा दुई साताको लागि लन्डन, केन्ट, एस्सेक्स तथा बेडफोर्डशायर लगायतका क्षेत्रहरुमा अहिले खुला रहेका कपडा पसल, इन्डोर जीमखाना, हेयर ड्रेसर लगायतका व्यवसाय पूर्ण रुपमा बन्द हुनेछन् ।  

सो अवधिमा आत्यावश्यकबाहेक बाहिर ननिस्कन भन्दै सरकारले ‘स्टे होम’ को अपील जारी गरेको छ । यस अघि क्रिसमसको समयमा ५ दिनको लागि पारिवारिक जमघटका लागि छुट दिने सरकारको निर्णयलाई खारेज गरेर क्रिसमसका दिनमा मात्र सिमित गरिएको छ । 

यो नियम इंग्ल्याण्ड,स्कटल्याण्ड तथा वेल्समा समेत लगू हुनेछ । हाल जारी  गरिएको प्रतिबन्ध बेलायतमा लागू गरिएको दस्रो देशव्यापी लकडाउन जस्तै भएको प्रधानमन्त्रीले बताएका छन् ।

पछिल्ला दिनमा बेलायतमा भाइरसले स्वरूप परिवर्तन गरेर नयाँ खालको भाइरस देखा परेको र यो द्रुत गतिमा फैलिएको भन्दै वैज्ञानिकहरुले यसबारे थप अध्ययन,अनुसन्धान गरिरहेका छन् । 

उक्त नयाँ भाइरस कत्तिको खतरनाक छ भन्ने बारेमा अझै आधिकारिक पुष्टि भएको छैन ।

बेलायतमा पछिल्लो २४ घन्टामा थप २७ हजार ५२ जना नयां संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या दुई मिलियन अर्थात २० लाख नाघेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यसैगरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ६७ हजार नाघेको छ । गएको २४ घन्टामा थप ५३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कुल मृतक संख्या ६७ हजार ७५ पुगेको छ । यसैगरी हस्पिटल भर्ना हुनेको संख्यामा अत्यधिक रुपमा वृद्धि भैरहेको बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले जनाएको छ । पछिल्लो  २४ घन्टामा एक हजार ९०७ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप