शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडको मारमा ‘भिजिट नेपाल २०२०’: लक्ष्य २० लाख, आगमन २ लाख मात्र

शनिबार, ०४ पुस २०७७, १३ : ५०
शनिबार, ०४ पुस २०७७


काठमाडौं । सन् २०२० लाई पर्यटन वर्ष अर्थात् भिजिट नेपाल २०२० को रुपमा मनाउने सरकारको निर्णय अन्ततः कोरोनाका कारण विफल हुन पुगेको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणासहित अघि बढेको सरकारलाई ‘हात लाग्यो शुन्य’ हुन पुगेको हो । भ्रमण वर्षको अन्त्यसम्म आइपुग्दा सरकारले मुस्किलले २ लाख पर्यटक मात्र भित्र्याउन सफल भएको छ । यस वर्षको जनवरी देखि नोबेम्बर सम्मको तथ्याङ्क हेर्दा नेपाल भित्रिएका पर्यटकहरुको संख्या करिब २ लाखको हाराहारीमा मात्र रहेको छ ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) तथा अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२० को जनवरी देखि नोबेम्बर सम्म नेपाल भित्रने विदेशी पर्यटकको संख्या कुल २ लाख २० हजार १ सय १७ जना रहेको छ । विभागको तथ्याङ्क अनुसार सो मध्य सबै भन्दा बढि पर्यटक सार्कबाहिरका एशियाली देशहरुबाट नेपाल आएका छन् । दक्षिण एशियाका मुख्य पर्यटन बजार मानिएको चीन, जापान, मलेसिया, सिंगापुर लगायतका देशहरुबाट मात्र यस वर्ष ७५ हजार ९ सय २५ जना पर्यटक नेपाल आएका छन् ।

त्यस्तै, दक्षिण एशियाली सार्क मुलुकहरुबाट सो अवधिमा ५९ हजार २ सय ८१ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै, सन् २०२० को जनवरीदेखि नोबेम्बर सम्म नेपाल आउने पर्यटकहरुमा युरोपेली मुलुकहरुबाट ३४ हजार ८ सय ७० जना, सामुन्द्रिक (ओसियन) मुलुकहरुबाट ७ हजार ५ सय १२ जना र अमेरिकन मुलुकबाट २० हजार २ सय ४३ जना नेपाल आएको विभागले जनाएको छ ।

यो हवाइ मार्ग भएर आएका पर्यटकहरुको संख्या मात्र हो । यसमा भारत लगायत छिमेकी मुलुकबाट स्थलमार्ग हुँदै आउने पर्यटकहरुको गणना गरिएको छैन । तुलनात्मक रुपमा यो वर्ष दशक यताकै सबैभन्दा कम पर्यटक आगमनको वर्ष हो ।

पर्यटन आगमनमा ८० प्रतिशत सङ्कुचन

पर्यटन आगमनको तथ्याङकलाई हेर्दा गत वर्षको तुलनामा यस वर्ष झण्डै ८० प्रतिशतले नै सङ्कुचन आएको छ । गत वर्षको सोही अबधिमा अर्थात् सन् २०१९ को जनवरी १ देखि नोभेम्बर अन्तिमसम्ममा कुल १० लाख ९७ हजार ५ सय विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्ष २ लाख मात्र पर्यटक नेपाल भित्रिएका छन् । तुलनात्मक रुपमा यो गत वर्षभन्दा ८० प्रतिशतले नै कमी हो । त्यसो त कोभिड–१९ बाट प्रभावित विश्व अर्थबजारमा नेपालको पर्यटन क्षेत्र मात्र नभई यतिखेर विश्वकै पर्यटन क्षेत्र प्रभावित हुन पुगेको अवस्था हो ।

यसरी हुन पुग्यो भिजिट नेपाल २०२० मा अनपेक्षित प्रहार

यता नेपालले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने भव्य तयारी गरिरहेको थियो । तर यतिनै खेर विश्वमा नविन कोरोना भाइरस देखाप¥यो । चीनको ऊहान सहरमा पहिलोपटक पहिचान भएको कोरोना भाइरस विश्वभरी नै फैलिएपछि प्रायः सबै क्षेत्र प्रभावित हुन पुग्यो । अन्ततः यसबाट नेपाल पनि अछुतो रहन सकेन ।

मुलतः कोभिड–१९ को प्रमुख प्रहारको सिकार पर्यटन क्षेत्र बन्यो । त्यसमाथि सोही वर्षका लागि घोषणा गरिएको भिजिट नेपाल २०२० मा यसले ठूलो असर पुग्यो । यसबाट राज्यले ठूलो क्षति व्यहोर्नु परेको छ । भिजिट नेपाल २०२० कै सवालमा राज्यले झण्डै ६० करोड रुपैयाँ बराबरको खर्च गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।

भिजिट नेपाल २०२० लाई लिएर अहिले भएको खर्चलाई खर्च नमानेर लगानीको रुपमा बुझ्नु पर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईको भनाइ छ ।

त्यसो त कोभिडका कारण भ्रमण वर्ष प्रभावित भएसँगै सरकारले २०२० को साटो सन् २०३० सम्मलाई नै पर्यटन दशकको रुपमा मनाउने घोषणा गरिसकेको छ । यस्तो अवस्थामा भ्रमण वर्षलाईनै लिएर बेकार भयो, सकियो भन्न नहुने मन्त्री भट्टराईको भनाइ छ ।

त्यस्तै, यता पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले पनि अहिलेको खर्च दशककै लागि ब्याकअपको रुपमा रहने बताए । तर अहिलेको यस्तो स्थिति सबैको परिकल्पना बाहिरको घटना भएको रेग्मीले बताए ।

‘कोभिड–१९ को प्रहारले जसरी समग्र पर्यटन क्षेत्र प्रभावित भएको छ, यो कसैले पनि कल्पना गरेको विषय होइन । कसैले पनि यस्तो समय आउला, घटना घट्ला भनेर सोचेको थिएन । तर यस्तो संकट हामी सबैले भोग्नुप¥यो ।’

‘यस्तो अवस्थाबाट नेपाली पर्यटन क्षेत्र माथि उठ्न अब केहि वर्ष संघर्ष गर्नुपर्ने हुन्छ । यसका लागि हामी तयार हुनुपर्छ । जसका लागि अहिले हामीले भ्रमण वर्षको नाममा गरेको लगानीले नै व्याकअपको रुपमा काम गर्छ भन्नेमा म विश्वस्त छु,’ रेग्मीले भने ।

यता, निजी क्षेत्रको तर्फबाट ट्रेकिङ एजेन्सिस एशोसिएसन अफ नेपाल (टान), नेपाल होटल व्यवसायी संघ (हान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) लगायत समेत कोभिड–१९ का कारण ठूलो अपेक्षा गरिएको भ्रमण वर्ष प्रभावित हुन पुगेको बताएको छ । सो घटनाले पर्यटन क्षेत्रलाई केही वर्ष पछाडि धकेल्ने बताउँदै व्यवसायिहरुले अब ढलेको व्यवसाय उठाउन सबै लाग्नु पर्ने बताएका छन् ।

कुन देशबाट कति आए पर्यटक ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप