बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोले सिरहामा पाँच जनाको मृत्यु

शुक्रबार, ०३ पुस २०७७, १४ : ०२
शुक्रबार, ०३ पुस २०७७

सिरहा । सिरहामा अत्यधिक चिसोका कारण पछिल्लो १० दिनमा ५ जनाको मृत्यु भएको छ । मंसिर २२ गतेदेखि पुस २ गतेसम्मको अवधिमा चिसोकै कारण जिल्लाका ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो, कल्याणपुर नगरपालिका–८ अरङका २३ वर्षीय मो. अब्दुल र नाम ठेगाना खुल्न नसकेका एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मो. अब्दुल २ गते बेलुका भारतबाट आएर राति खाना खाएर सुतेका उनी आज अबेरसम्म नउठेपछि घरपरिवार उठाउन जाँदा अचेत अवस्थामा थिए । उनलाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल ल्याए पनि उनको मृत्यु भईसकेको थियो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार यस अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका–८ र गोलबजार नगरपालिका–१३ का एक सय ५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ । सुखीपुर नगरपालिका–८ अस्पतालचोकका एक सय ३० र गोलबजार नगरपालिका–१३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो कपडा वितरण गरेको प्रजिअ कणेलले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप