छुटिसकेका लक्ष्मण थारुलाई जन्मकैद, रेशम चौधरीसहित ७ जनाको फैसला सदर

कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको सजाय सुनाइएको छ । साथै ज्यान मार्ने उद्योगमा ५ वर्षकैद पनि सुनाइएको छ । यसअघि जिल्ला अदालत कैलालीको फैसलाअनुसार ३ वर्ष कैद भुक्तानी गरिसकेका उनलाई बिहीबार उच्च अदालतले भने अघिल्लो फैसला उल्ट्याउँदै जन्मकैद हुने ठहर गरेको हो ।
उच्च अदालत दीपालयले टीकापुर घटनाका मुख्य आरोपी भनिएका जसपाका सांसद रेशमलाल चौधरीको हकमा भने यसअघि जन्मकैद हुनेगरी सुनाएको फैसलालाई नै सदर गरेको छ ।
बिहीबार अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले चौधरीलाई जन्मकैदका साथै ज्यान मार्ने उद्योगमा समेत ५ वर्ष कैद सुनाइएको हो ।
जन्मकैदसँगै ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय हुने जिल्ला अदालतको फैसला सदर हुनेमा हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी समेत रहेका छन् ।
यसैगरी अर्का प्रतिवादी संगम भन्ने सन्तोष चौधरी, दील बहादुर चौधरीविरुद्धको मुद्धामा यसअघिको फैसला नमिलेको भन्दै केही उल्टिएको छ । उनीहरुलाई जनही १० वर्ष कैद सजाय हुने ठहर गरिएको छ ।
सुन्दरलाल कठरिया, बृज मोहन चौधरी र राजकुमार कठरियाको मुद्दा पनि केही उल्ट्याएर जनही ५ वर्ष कैद ठहर गरिएको छ भने रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेम बहादुर चौधरीलाई पनि जनही ५ वर्ष कैद ठहर गरिएको छ ।
सुन्नीराम चौधरी, लाहुराम चौधरी र राम कुमार कठरियालाई ३ वर्ष कैद गर्ने फैसला सदर हुँदा विश्राम चौधरीले भने सफाइ पाएका छन् । यसअघि जिल्ला अदालतले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।
२०७२ भदौ ७ मा टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सो प्रकरणमा ०७५ फाुगन २२ गते जिल्ला अदालतले गरेको फैसला उच्च अदालतमा पुगेको हो ।
यसैबीच जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायत नेपालको सम्भवत: सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुन: दोषी ठहर गर्नु अत्यन्त दु:खद भएको टिप्पणी गरेका छन् ।
झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन भएको वेला थारूविद्रोहको चाहिँ अपराधीकरण हुनु विडम्बनापूर्ण र खेदजनक भएको उनले मध्यरातमा सामाजिक संजालमार्फत प्रतिक्रिया दिएका छन् ।
उत्पीडित थारू जातिको पहिचान र अधिकारको लडाइॅ एकदिन अवश्य विजयी हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शैक्षिक संस्थाले ठुलो सङ्ख्यामा उत्पादन गरेका पत्रकार बजारले खपत गर्न सकेको छैन
-
प्रधानमन्त्रीको निर्देशनपछि उल्टियो घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट चाहिने व्यवस्था
-
खेलाडीले सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्छन् : मन्त्री पौडेल
-
भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ : प्रधानमन्त्री ओली
-
धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको सुझाव– गल्ती नगर्नु, बिचौलियाबाट बच्नु
-
धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूलाई सास्ती