शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जीवाको ‘देश देशावर’ लाई नियाल्दा

बिहीबार, ०२ पुस २०७७, ११ : ५९
बिहीबार, ०२ पुस २०७७

जीवा लामिछानेको दोस्रो नवीनतम कृति ‘देश देशावर’ले सामाजिक सञ्जालमा मात्र हैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा पनि निकै हलचल मच्चाएको छ । कोरोना महामारीका कारण विश्व नै अस्तव्यस्त भएर भ्याक्सिन निकाल्ने होडबाजी चलिरहेका बेला सार्वजनिक गरिएको यो पुस्तकले नेपाली साहित्यिक क्षेत्रमा छुट्टै अस्तित्व कायम गरेको देखिन्छ ।  सामान्यतः विगतका वर्षलाई नियाल्ने हो भने दसैँ तिहार र त्यसपछिका दिनमा बजारमा नेपाली चलचित्रको निकै चर्चा चल्ने गरेको पाइन्छ । पुस्तक प्रकाशनको दृष्टिकोणले दसैँ तिहार पछिको समयलाई बेमौसमको रूपमा हेरिने गरिन्छ । तर जीवाजीको ‘देश देशावर’का लागि भने यो नियम लागू भएन । कोरोना सङ्क्रमणका कारण मौन रहेको चलचित्र क्षेत्रको स्थानमा जीवा लामिछानेको ‘देश देशावार’ले खुबै चर्चा पायो । कलाकार, साहित्यकार, राजनीतिकर्मीदेखि देश विदेशमा रहने धेरै नेपालीहरुले किताब पढे, किताबको बारेमा चासो राख्दै सामाजिक सञ्जालमा आफ्ना भावना पोखे ।

मैले पनि किताबको चर्चा चल्ने वित्तिकै चासो राखेँ । किताब हात प¥यो अनि भर्खर भित्र्याएको बेहुलीलाई जस्तै सर्वत्र नियालेँ । २० वटा विषयसूचीलाई दुई सय दस पृष्ठमा समेटिएको रहेछ । अनि दुईवटा औँलाले घुम्टो उघार्ने प्रयास गरेँ ‘लस भेगास : मनोरन्जनको राजधानी’बाट ।
 
“सबै चाहना तृप्तिपछिको अनुहार कस्तो हुन्छ ? कसैले तिमीलाई सोध्यो भने देखाइदेऊ आफ्नो अनुहार र भनिदेऊ यस्तो...”
 
सुरुमा नै यी हरफहरु राखिएका रहेछन् । करिब पाँच मिनेट यिनै हरफमा रुमल्लिएँ अनि सुरु भयो घुम्टो उघारेपछिको बाँकी कार्य । जुवातास खेलेर टाट पल्टिएर बेखर्ची भएर घर फर्किन नसकेको अवस्थामा पुगेका मानिसको अवस्था देखि सात वर्षको योजना चार वर्षमा नै सम्पन्न गरिएको प्रसङ्ग निकै चाख लाग्दो लाग्यो । त्यसको कारण पनि रहस्यमय नै छ । त्यो योजनामा जुन पुरुषहरुले काम गरेका थिए । तिनीहरुका कोही केटी साथी थिएनन् रे । त्यसैले त्यो सम्भव भएको रहेछ । अनि मैले एकछिन् घोत्लिएर सोचेँ के साच्चै हो त ? उत्तरहरु धेरै पाएँ तर मनमै राख्न उचित ठानेँ ।
 
यसपछि फेरि विषय सूचीतर्फ लागेँ र रोजे ‘१९९७ भर्सेस २०१३’ जसमा हङ्कङको सेरोफेरो समेटिएको रहेछ । जुनबेला म स्वयं पनि हङ्कङलाई कर्मथलो बनाउँदै सङ्घर्ष गरिरहेको थिएँ । सन् १९९७ जुलाईबाट ब्रिटिस शासित हङ्कङ आर्थिक तथा प्रशासनिक स्वायत्तता हङ्कङकै अधीनमा रहने गरी चीनलाई हस्तान्तरण गरियो । सन् १९९६ देखि हङ्कङमा नेपालीहरुको ओइरो लाग्न थालेको हो । सुरुमा हङ्कङको एयरपोर्टमा नै भिसा उपलब्ध हुन्थ्यो भने पछि धेरै नियम परिवर्तन गरिए र नेपालीहरुले निकै सास्ती खेप्नुपर्याे जुन आफ्नै कारणले । नेपालीहरुले पाएको बहादुरी र इमानदारितालाई सही सदुपयोग गरिएको भए सायद यस्तो  अवस्था अवश्य आउने थिएन । नेपालीहरुको ठूलो जमघट भएको हङ्कङ सन् २००६ बाट पातलिँदै गयो । कारण ब्रिटिस नेप्लिज ओभरसिज (बीएनओ) पाएपोर्ट भएकाहरुलाई आवश्यक प्रक्रिया पूरा गरी ब्रिटिस सरकारले बेलायत बस्ने सुविधा स्वरूप सम्पूर्ण कागजपत्र त्यहीँ नै उपलब्ध गरायो । जसको पहिलो लट अर्थात सन् २००६ को उत्तराद्र्धतिर म स्वयं नै बेलायततिर पलायन भएँ । यसपछि बिस्तारै हङ्कङबाट नेपाली बेलायततिर प्रस्थान गर्न थाले । फलस्वरूप हङ्कङमा नेपालीहरुको सङ्ख्या निकै पातलो बन्न बन्यो ।
 
यसपछि अर्काे दिन ‘वीरेन्द्र बियरसँग संवाद’ भन्ने शीर्षकलाई चयन गरे । हुन त यसबारेमा पहिले पनि अध्ययन गरिसकेको थिएँ । तर जुनबेला वीरेन्द्र बियरको चर्चा सुरु भएको थियो त्यसकै सेरोफेरोमा म स्वयंले  नियात्राकार जीवाजीसँग जर्मनमा उहाँकै होटल ‘गोथे’मा पुग्ने सौभाग्य पाएको थिएँ । कुराकानीमा प्रसङ्ग चल्यो, जीवाजीले मैले पनि वीरेन्द्र बियर ल्याएको छु भन्नुभयो । सबैले चाख्ने इच्छा जाहेर गरियो । त्यसबेला युरोप अमेरिका लगायत विभिन्न मुलुकका गैरआवासीय नेपालीहरुको जमघट भएको थियो ।

सबैका हातमा वीरेन्द्र बियरका बोतल थिए । कसैले अन्य बियरभन्दा फरक रहेको अनुभूति पोख्दै थिए । ‘बोतल चाहिँ नफाल्नु है’ जीवाजीको यो भनाइले एउटा नेपाली उखानको याद आयो ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ । सबै मख्ख हुँदै फेसबुकमा वीरेन्द्र बियरको चुस्की सहितको पोस्ट राख्न थाले तर यो मामलामा पहिलो त म स्वयं थिएँ । आखिर ‘बिरालो कालो होस् वा सेतो मुसा मारे त भइगयो नि’ । यस प्रसङ्गलाई  मैले यहाँभन्दा बढी भेद खोल्न चाहिनँ । यसरी यो अध्याय पढ्दा म स्वयं पनि पात्र भएको महसुस भने पक्कै गरेँ । 

यति मात्र हैन बढी कफी पिउने हल्यान्ड होस या बढी दूध पिउने फिनल्यान्ड नै किन नहोस्  श्रीमती बोकेर दौडिने प्रतियोगितामा श्रीमतीको तौल बराबरको बियर पुरस्कार पाउने बियर पारखीले मोटी श्रीमती बोकेर दौडिएको पीडा उत्तिकै रोचक छ । यस्ता थुप्रै रमाइला प्रसङ्गहरु छन् जसका लागि ‘देश देशावर’लाई अध्ययन गर्नेपर्ने हुन्छ ।  
 
‘देश देशावर’को घुम्टो उघारेपछि बिस्तारै बिस्तारै समय मिलाएर सबै अङ्ग प्रत्याङ्ग अर्थात सम्पूर्ण आकृतिको नै अनुभूति गर्ने अवसर मिल्यो । अक्षरको माध्यमबाट यस पुस्तकले संसारको अनुभूति गराउने मात्र हैन सम्बन्धित ठाउँको यात्रा, भूगोल, राजनीति, इतिहास र वर्तमान लगायत क्षेत्रलाई समेत समेटिएको हुँदा यस पुस्तकको पाठकको दायरा पनि थप फराकिलो भएको छ । 

पुस्तकको बीचबीचमा रमाइला भनाइहरुलाई पनि समावेश गरिएको छ ।  जस्तो, ‘तिमी जहाँ जान्छौ, पूर्ण रूपमा मन र मस्तिष्क बोकेर जाऊ । त्यस्तो यात्रा मात्र सार्थक हुन्छ ।’  कन्फ्युसियसको यो भनाइ जस्ता थुप्रै सान्दर्भिक प्रसङ्गहरुले पाठकलाई थप ऊर्जा थपिदिएको छ  ।
 
तर यात्रामा वर्णन गरिएका धेरैजसो विषयवस्तु निकै विलासी देखिएका छन् । जसले गर्दा सम्बन्धित स्थानको गहिराइसम्म पुग्न छुटेको हो कि जस्तो भान हुन्छ । हुन त आफ्ना यात्राका क्रममा लेखिएको दैनिकी अर्थात डायरीलाई सङ्कलन गरेर नियात्रा सङ्ग्रहको रूपमा प्रस्तुत गरेको नियात्राकारले स्पष्ट पारिसक्नुभएको छ । यद्यपि आगामी शृङ्खलामा यस्ता क्षेत्रलाई पनि समेट्न सकेमा अझ प्रभावकारी हुनसक्ने देखिन्छ । प्रकाशित दुई पुस्तकहरुमा अक्षरमार्फत देश भ्रमण गराउन खोजिएको छ । आशा छ भविष्यमा आउने सम्भावित नियात्रा सङ्ग्रहमा सम्बन्धित मुलुकका सान्दर्भिक तस्बिरहरु पनि प्रकाशित हुनेछन् र पाठकहरुले थप अनुभूति महसुस गर्नेछन् ।

जीवाजी आफैमा जति सरल हुनुहुन्छ उहाँको पुस्तकका भावना र शैली पनि उत्तिकै सरल र सहज छन् । जीवाजीसँग म स्वयंले पनि सरसर्ती संसारका क्रममा विभिन्न देश देशावरमा समेत रुमल्लिने अवसर पाएको हुँदा मैले उहाँलाई नजिकबाट नियालेको छु । जुन स्थानमा जीवाजीसँग घुमिन्छ त्यो ठाउँको मनोरम दृश्यको मात्र हैन त्यहाँको इतिहास र वर्तमानबारे पनि भुक्तभोगी बनिन्छ । त्यति मात्र हैन उहाँको रुचि हरेक क्षेत्रमा भएको हुँदा जो कोही व्यक्ति पनि सजिलै घुलमिल हुन सक्छन् । 

चितवन जिल्लाको पदमपुरमा जन्मिएर मस्कोबाट इन्जिनियरिङ गर्नुभएका जीवाजी हाल जर्मनलाई कर्मथलो बनाएर सफल व्यवसायीको रूपमा परिचित हुनुहुन्छ । साहित्य र समाज सेवाप्रतिको लगाव, झुकाव र योगदान उत्तिकै सह्रानीय छ । अध्ययन, भ्रमण र लेखनमा बढी रुचि राख्ने भएका कारण नै उहाँका दुइवटा नियात्रा सङ्ग्रह प्रकाशित भइसकेका छन् । 

विक्रम संवत् २०७३ सालमा प्रकाशित ‘सरसर्ती संसार’ नामक नियात्रा सङ्ग्रह पनि निकै लोकप्रिय रह्यो । जुन पुस्तकको २२० पेजभित्र २९ देशको बारेमा व्याख्या गरिएको छ । पुस्तकको मूल्याङ्कनको बारेमा राष्ट्रकवि स्व. माधव घिमिरेले भन्नुभएको छ, ‘यो यात्रावर्णन पढ्दा नेपाल बाहिरका नेपालीको साहित्य, संस्कृतिप्रति निष्ठा देखेर गदगद हुन्छौँ ।’ त्यस्तै  पाठकले पनि नियात्राकारसँगै विभिन्न देश आफै पुगेको अनुभूति गर्ने सत्यमोहन जोशीले भन्नुभएको छ ।
 
गैरआवासीय नेपाली सङ्घका संस्थापक सदस्य तथा पूर्व अध्यक्षसमेत रहिसक्नुभएको जीवा लामिछानेको एनआरएनएमा निकै ठूलो योगदान छ । त्यसो त उहाँले नेपालमा पनि सानिमा बैङ्क, कान्तिपुर टेलिभिजन लगायत जलविद्युत्, अस्पताल र कलेजमा लगानी गर्नुभएको छ । आफ्नै जन्मस्थल पदमपूरका नामबाट पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साहित्य सम्मानको स्थापना गर्नुभएको छ । अध्ययनका क्रमममा मस्को पुगेर त्यहाँबाट नै व्यावसायिक यात्रा सुरु गर्दै त्यसैलाई निरन्तरता दिने क्रममा दुईवटा नियात्रा सङ्ग्रह प्रकाशित भइसकेका छन् । यसले पाठकलाई घरैमा बसीबसी विभिन्न मुलुकको यात्रा, भूगोल, राजनीति, संस्कृति, इतिहास र वर्तमानलाई अनुभूत गराउन सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप