शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘तेस्रोलिङ्गी’बाट बलात्कार !

बिहीबार, ०२ पुस २०७७, १० : ३८
बिहीबार, ०२ पुस २०७७

तेस्रोलिङ्गीबाट बलात्कृत भएको भन्दै अहिले एक महिला न्याय खोजिरहेकी छिन् । जुसमा निद्रा लाग्ने औषधि मिसाएर लठ्याएको अनि बलात्कार गरेको महिलाको भनाइ छ । बलात्कार गर्ने व्यक्ति पहिचान भइसकेको छैन । बलात्कार कसरी भयो भन्ने विषयमा महिलाले योहो टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा भनेकी छिन्, ‘म भोको थिएँ । मलाई खान दियो । उसको घरमा लग्यो । जुसमा रातोरातो कुरा मिसाएर खान दियो । त्यो पिएपछि म निदाएँछु । मलाई त्यो जुस दिने व्यक्ति आइमाई जस्तै कपाल बाटेको सारी लगाएको थियो ।’

पीडित महिलाले आफू बलात्कारमा परेको भन्ने पीडा सुनाइसकेपछि निःसर्त उनले न्याय पाउनु पर्छ । दोषीले कडा सजाय पाउनु पर्छ । यो विषयमा अरू कुनै विवाद गरिरहन आवश्यक रहेन । तर सबैलाई आश्चर्य पार्ने गरी एक पङ्क्ति अगाडि आएको छ । त्यो हो– तेस्रोलिङ्गीबाट पनि बलात्कार ।

महिलाको केस हेरिरहेका प्रहरीहरुले पनि नेपालको सम्बन्धमा यो पृथक् र पहिलो केस भएको उल्लेख गरेका छन् । सामान्यतः जो व्यक्ति पुरुषका रूपमा जन्मिन्छ तर उसको यौनिकता महिलाको हुन्छ भने उसलाई सामान्य बोलिचालीको भाषामा तेस्रोलिङ्गी भन्ने गरिन्छ । तर यो ‘तेस्रोलिङ्गी’ भन्ने शब्दले यौनिक अल्पसङ्ख्यकको अपमान जनाउने भएका कारण, अहिले मानिएका व्यक्तिलाई यौनिक अल्पसङ्ख्यक भन्न चाहन्छु ।

जो व्यक्ति पुरुषको शरीर भएर पनि महिलाको जस्तो हाउभाउ र महिलासँग नै आकर्षित हुन्छ भने उबाट महिला बलात्कृत हुने सम्भावना लगभग हुँदैन  । तर पीडित महिलाले नै सारी लगाएको अनि कपाल बाटेको व्यक्ति भनिरहेकी छिन् । यसकारण यो कुरा सत्य होइन भन्न सकिने अवस्था रहेन । तर सत्य हुँदा पनि यो कसरी सम्भव भयो ? भन्ने विषयमा प्रहरी अनुसन्धानले देखाउला ।

पीडित महिलाले निद्रा लाग्ने जुस सेवन गरिकेपछि आफू निदाएको र त्यही बेला बलात्कारमा परेको बताएकी छिन् । उनी निदाएको बेला बलात्कार गर्ने व्यक्ति त्यही ‘कपाल बाटेको, सारी लगाए’को यौनिक अल्पसङ्ख्यक नहुन पनि सक्छ । जुस दिने व्यक्तिले नै बलात्कार गरेको हो भन्ने अनुमान गर्न सकिन्छ, निश्चित गर्न सकिन्न । त्यसमाथि त्यो व्यक्ति यौनिक अल्पसङ्ख्यक नै थियो भन्ने स्पष्ट पनि छैन । किनभने केही दिनदेखि बिरामी, भोको भएर सडकमा पुगेकी महिला स्वयं ठीक मनस्थितिमा नरहेको जस्तो देखिन्छ ।

महिलाको यही कमजोरीको फाइदा उठाएर बलात्कार भएको हुन सक्छ ।

बलात्कार गर्ने व्यक्ति यकिन नभएसम्म बाहिर प्रचारमा आए जस्तै ‘तेस्रोलिङ्गीबाट बलात्कार’ भन्ने कुरा निश्चित हुँदैन ।

अब प्रश्न उठ्छ, जसको लिङ्ग छ, लिङ्गले ठिकठाक काम पनि गर्छ भने ऊबाट बलात्कार हुँदैन होला त ? वास्तवमा यो सम्भावना त हुन्छ । तर फरक यौनिकता छ भने त्यो व्यक्तिले लिङ्ग भए पनि ऊ महिलाप्रति आकर्षित हुँदैन । पुरुषसँगै उसलाई यौन व्यवहार गर्न मन लाग्छ । जसरी यो लेख पढिरहनु भएका  तपाईं हेट्रो व्यक्ति आफ्नै जस्तो लिङ्ग भएकासँग यौन व्यवहार गर्न सक्नुहुन्न । त्यसै गरी यौनिकता फरक परेपछि त्यो सम्भव हुँदैन । यो प्राकृतिक र सत्य कुरा हो । यो तथ्य कसैले नबुझी लिँडेढिपी गरिरहन्छ भने समस्या उसको हो, वास्तविकताको होइन ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सम्बन्धमा केही विषय उल्लेख गरिरहँदा बलात्कार गरे पनि यो समुदायले छुट पाउनुपर्छ भन्ने अर्थ किमार्थ नलागोस् । तर यो समुदायका लागि राज्य कति निर्मम छ र कानुन नै बनाएर कसरी यो समुदायमाथि अन्याय गरेको छ भन्ने चाहिँ प्रकाश पार्नै पर्ने हुन्छ ।

संसारमा महिला र पुरुष उस्तै उस्तै अनुपातमा छन् । पुरुषका लागि जति  पनि महिला उपलब्ध हुन सक्छन् महिलाका लागि जति पनि पुरुष उपलब्ध हुन सक्छन् । किनभने सङ्ख्यात्मक रूपमा महिला पुरुषको सङ्ख्या अधिक छ । तर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नामैले कम हुने भइहाले ।

एक समलिङ्गी महिला वा पुरुषलाई आफ्नो साथी भेटाउन धेरै गाह्रो हुन्छ । नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मानिस हुन्छन् र उनीहरुलाई विशेष संरक्षण गर्नुपर्छ भनेको छ । जहिले पनि अल्पमत वा अल्पसङ्ख्यामा रहेकाहरुलाई हरेक राज्यले विशेष संरक्षण गर्छ । उनीहरुको हक अधिकार रक्षाको लागि विशेष प्रबन्ध गरिदिन्छ ताकि अल्पहरुले आफू हेपिएको वा तिरष्कृत भएको महसुस गर्न नसकून् भनेर ।

तर हाम्रो देशमा अलि भिन्न छ । संविधानले यो समुदायका लागि विशेष प्रबन्ध गर्नुपर्छ भन्यो । तर कानुन बनाउने बेला संसदले बिहे गर्न पनि दिएन ।

बिहे नै गर्न दिइन्न भने यौन आवश्यकता कसरी पूरा हुन्छ ? यौन चाहना पूरा नहुँदा त्यो कुण्ठाको रूपमा मनमा रहन्छ । त्यस्तो व्यक्तिबाट बलात्कार वा यौन अपराध हुन सक्छ । यो रोक्न यौनलाई सरल बनाउनुपर्छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले विवाह गर्ने भनेको यही समुदायका व्यक्तिहरुसँग हो । यो अधिकार दिँदा महिला वा पुरुषलाई कुनै फरक पर्दैन, उनीहरुको कुनै भाग खोसिँदैन । तर नेपालको संसदले कानुन बनाउने बेला यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई विवाह गर्न नदिने गरी महिला र पुरुष सांसदहरुले मस्यौदा बनाए, त्यही पास गरे ।

मानिसका आधारभूत आवश्यकता भनेको गाँस, बासँ, कपास र यौन हो  । यौन आवश्यकता पूरा गर्न विवाह गर्नु बढी स्वाभाविक हुन्छ । तर यही अधिकार नेपालमा दिइएको छैन ।

आम नेपालीका लागि विवाह गर्न केहीले छेक्दैन । विवाह गर्न कसैको अनुमति लिनु पर्दैन । विवाह गर्न रोक लाग्नु अन्यका लागि ठूलो समाचार बन्न सक्ला । तर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले विवाह गर्न पाउँदैनन् । किन त ? तत्कालीन समयमा यो समुदायलाई विवाहको अधिकार दिँदा सामाजिक संरचना नै खलबलिने ठहर सांसदहरुले गरेका थिए । यस्तै ठहर पहिले नागरिकता प्रमाणपत्र दिने बेला गरिएको थियो । पछि नागरिकता दिँदा ‘अन्य’ लेखेर दिन थालियो । त्यसबाट न आकाश खस्यो, न जमिन फाट्यो नत सामाजिक संरचना नै खल्बलियो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुलाई अधिकार दिँदा ठूलो बबण्डर हुने अनुमान मानसिक आतङ्क मात्रै थियो ।

यौनिक अल्पसङ्ख्यकबाट बलात्कार भएका घटना बिरलै छन् नेपालमा । सम्भवतः छैनन् पनि होला  । तेस्रोलिङ्गीबाट बलात्कार भएको भन्ने विषय पनि अहिले विवादास्पद नै देखिएको छ । यो विषयमा राम्रो अनुसन्धान भएन भने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति आम धारणा नकारात्मक बन्न सक्छ ।

यसकारण यो विषयमा सरकारले गहन अनुसन्धान गरोस् ।

लेखक मितिनी नेपालकी अध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप