शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुस १० मा खुल्छ त फिल्म हल ?

फिल्मकर्मी नै अन्योलमा : निर्माता, वितरक भन्छन्, नयाँ फिल्म दिँदैनौँ
बिहीबार, ०२ पुस २०७७, ०८ : ५५
बिहीबार, ०२ पुस २०७७

काठमाडौँ । कोरोना सङ्क्रमणको डरले गत चैतमा सरकारले प्रतिबन्ध लगाएको यातायात, होटल व्यवसायदेखि बन्द व्यापारसम्म अधिकांश क्षेत्र खुलिसकेका छन् । तर फिल्म क्षेत्र भने अझै खुल्न सकेको छैन । सबै क्षेत्र खुलिसक्दा पनि सरकारले फिल्म क्षेत्रको अझै किन खुलेन ? कहिले खुल्छ फिल्म क्षेत्र ? यस प्रश्नको जबाफ न त फिल्म क्षेत्रका कुनै सङ्घसंस्थासँग छ, न फिल्म क्षेत्र हेर्ने सरकारको आधिकारिक निकाय चलचित्र विकास बोर्डसँग । सबै सङ्घसंस्था अन्योलमा नै रहेका छन् ।

फिल्म प्रदर्शकहरूको छाता सङ्गठन चलचित्र सङ्घले भने यो अन्योल चिर्ने उद्देश्यले गत सोमबार सरकारले खुल्ला नगरे पनि पुस १० गतेबाट फिल्म हल खोल्ने निर्णय गरेको छ । सङ्घको यो निर्णयलाई कतिपयले स्वागत योग्य कदम मानेछन् भने कतिपयले हतारिनु नहुने पनि बताएका छन् । कतिपय पुस १० अगाडि नै फिल्म हल खुल्नेमा ढुक्क देखिन्छन् ।

कतिपय यस्ता पनि छन् जो फिल्म हल खुले पनि दर्शक देखिने र नयाँ फिल्म रिलिज हुनेमा शङ्का गर्छन् । केही भने पुरानै फिल्म रिलिज गरेर भए पनि फिल्मी माहोल पुनः फर्काउन फिल्म हल खोल्नुपर्ने धारणा अगाडि सार्दै आएका छन् ।

चलचित्र सङ्घको हल सञ्चालनको निर्णय कस्तो लाग्यो ? के दर्शक आउलान् त ? यस्तो अवस्थामा पनि नयाँ फिल्म रिलिज होला त ? यस विषयमा हामीले फिल्मसम्बन्धी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग जिज्ञासा राखेका छौँ । प्रस्तुत छ उनीहरूको धारणा जस्ताको तस्तै ।

हल खुल्छ, पछि हट्दैनौँ 

अशोक शर्मा– महासचिव, नेपाल चलचित्र सङ्घ

हामीले पुस १० गतेबाट फिल्म हल खोल्ने निर्णय गरेका छौँ । डब्लूएचओले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर, सरकारले जारी गरेका गाइडलाइन फलो गरेर हल खोल्छौँ ।

हाम्रा लागि सरकारको निर्णयभन्दा पनि हामी कहाँ आउने दर्शकको सुरक्षा महत्त्वपूर्ण हुन् । हल खोलेर हामी सञ्चालक तथा कर्मचारी हलमै बस्छौँ । सरकारले आयो, बल प्रयोग गरेर बन्दा गर्न खोज्यो भने हामी गिरफ्तारी दिन तयार छौँ ।

हिजो हजारौँको जुलसलाई केही नगर्ने सरकारले हामीलाई रोक्न सायद आउँदैन होला ।

हल खोल्दा सुरक्षाको जिम्मेवारीको कुरो पनि आउला । त्यसमा हामी ढुक्क छौँ । किनभने सरकारले खोलेको क्षेत्रभन्दा बढी सुरक्षा हामी दिनसक्छौँ ।

हाम्रो निर्णयविरुद्ध जान सरकारले फिल्म हल किन नखोल्ने त्यसका लागि हामीलाई लजिक दिनुपर्यो । के कुरा खोलेको, के बन्द ? खोलेको र बन्द गर्नुको कारण सही हो भनेर चित्तबुझ्दो जबाफ हुनुपर्यो ।

फिल्म हलभन्दा एकदमै धेरै सङ्क्रमण हुने स्थानहरू सरकारले खोलिसकेको छ । जस्तै सार्वजनिक यातायात । जसमा मानिसको भीड धेरै हुन्छ ओर्लने र चढ्ने बारम्बार हुन्छ ।

केही दिनअगाडिको काँगे्रसको जुलस अर्काे उदाहरण हो । जसमा हजारौँको सङ्ख्यामा उपस्थिति थियो । बजारको अवस्थाको कुरै गर्नुपर्दैन । जिम क्लबदेखि सारा क्षेत्र खुलिसके ।

बन्दयता हामीले सरकारसँगका विभिन्न निकायसँग गएर पटक पटक कुरा गर्यौँ । हाम्रो क्षेत्र अन्य क्षेत्रभन्दा अगाडि बन्द गरिएको हो । सबै खुल्दा पनि किन नखोलिएको हो भनेर प्रश्न गर्यौँ ।

यातायात, होटललगायत केही क्षेत्रले हामी आफै खोल्छौँ भनेर दबाब थियो अनि खोलियो । हामीले त्योभन्दा बढी सहनशीलता अपनाएका हौँ ।

अहिले खोल्न निर्णय गर्नु हाम्रो बाध्यता हो । अब हामी बन्द गरेर बस्न सक्ने अवस्थामा छैनौँ । कि त सरकारले हाम्रो ऋण, कर्मचारी खर्चलगायत सबै कुराको जिम्मा लिनुपर्यो ।

अहिले अन्तर्राष्ट्रिय एजेन्सीहरूले कोरोना सङ्क्रमण बढी हुने स्थान रिसर्च गरेर सार्वजनिक पनि गरेका छन् । त्यसमा फिल्म हलबाट सङ्क्रमण हुनसक्छ भनेका छन् । त्यसको कारण पनि बताइएको छ ।

हामीले पनि फिल्म हल हरेक सोमा सेनिटाइजर गर्ने, दर्शकको जरो नापेर प्रवेश गराउने, अनलाइन टिकट काट्ने, मास्क अनिवार्य गराउने गर्दछौँ । यातायात, जुलुस, बजारमा भन्दा धेरै सुरक्षित फिल्म हल हुन्छ । फिल्म हेर्न आउने दर्शक एक अर्काेसँग नजिक हुने, अँगालो मार्ने, नाच्ने त होइन नि । उनीहरू चुपचाप बसेर फिल्म हेर्ने हुन् ।

सरकारलाई सङ्क्रमण हुनसक्ने क्षेत्र फिल्म हल भनेर भ्रम परेको छ ।

नयाँ फिल्म त दिन्नौँ

रोज राणा– महासचिव, चलचित्र निर्माता सङ्घ

चलचित्र सङ्घले गरेको हल खोल्ने निर्णय स्वागत योग्य छ । यस्तो निर्णय हलवालाले भन्दा सरकारले गर्दिएको भए अझै राम्रो हुनेथियो ।

सरकारले स्वास्थ्य मापदण्डमा रात्रिकालीन रेस्टुरेन्ट व्यवसायसमेत खोल्ने निर्णय गरेको छ । मलाई लाग्छ पुस १० सम्म सरकारले पनि हलको विषयमा निर्णय गर्छ । हाम्रो निर्माता सङ्घको प्रतिनिधिले सीसीएमसीका प्रतिनिधिसँग भएको भेटमा पनि त्यस्तै कुराकानी भएको छ । फिल्मको छायाङ्कन पनि खुल्यो । अब हल पनि खुल्छ होला ।

हल खुल्दैमा नयाँ फिल्म दिने विषयमा निर्माता साथीहरू तयार हुनुहुन्न होला । हामीले सल्लाह गर्नुपर्ने छ । अहिले दर्शक नआउने अवस्थामा जोखिम मोल्ने अवस्था पनि छैन ।

किनभने अहिले रिलिज गरेर दर्शक भएनन् भने भोलि त्यो फिल्म रिलिज हुने अवस्था रहँदैन । हिजोको दिनमा बिहानको सोमा दर्शक भरिभराउ भएको फिल्म दिउँसो भूकम्पका कारणले रोकियो । केही समयपछि त्यो पुनः रिलिज गर्दा दर्शक भएनन् ।

पहिलो रिलिजमा फिल्मको लगानी उठ्यो भने उठ्यो । नत्र फेरि रिलिज गरेर उठ्छ भन्ने अवस्था रहन्न । यस्तो अवस्थामा फिल्म रिलिज गर्दा घाटा हुन्छ भनेर जान्दाजान्दै निर्माता साथीलाई नयाँ फिल्म दिन लगाएर मारमा पार्ने अवस्थामा हामी छैनौँ ।

पुरानो फिल्म रिपिट

गोविन्द शाही– निर्माता, वितरक

चलचित्र सङ्घले गरेको निर्णय राम्रो हो । म चलचित्र सङ्घमा पनि छु । यो निर्णयमा मेरो पनि सहमत छ । हल खोल्नुपर्छ भनेर विकास बोर्डलाई समेत दबाब दिएको थिए ।

हल, फिल्म वितरण र निर्माणमा करोडौँको करोडौँ लगानी छ । जसको लगानी छ ती मारमा छन् । सरकारले यो कुरोमा बेवास्त गरिरहेको छ । सबैक्षेत्र खोल्ने फिल्म क्षेत्र नखोल्ने । यो क्षेत्रमा न राज्यको सहयोग छ, न सपोर्ट । सबैक्षेत्र खुलिसक्यो ।

हलखुल्यो भने पनि नयाँ फिल्म लगाउने अवस्था छैन । सुरुका समय राम्रा फिल्म रिपिट लगाउन सकिन्छ । एक महिना हलमा दर्शक आउने वातावरण बनाउन पुरानो लगाउने अनि नयाँ रिलिज गर्ने ।

हल खोल्ने बितिक्कै नयाँ फिल्म हाल्न पनि कसैले मान्दैन । दर्शकको कुरो अर्काे हो नयाँ फिल्म रिलिज गर्न प्रचारप्रसार लागि समय पनि नि चाहियो नि ।

हिन्दी, अङ्ग्रेजी फिल्म धेरै आइरहेका छन् । आउँछन् पनि । हलका लागि फिल्मको समस्या छैन । हलमा दर्शक देखिए भने माघ, फागुनबाट नयाँ फिल्म हामी पनि दिन्छौँ । अहिले डराएर बसेर समस्याको समाधान छैन ।

पुस १० अगाडि नै खुल्छ हल

दयाराम दाहाल– अध्यक्ष चलचित्र विकास बोर्ड

हल सञ्चालन गर्ने कुरो चलचित्र सङ्घको नितान्त निजी धारण हो । बोर्डसँग केही समन्वय भएको छैन । चलचित्र सङ्घले पुस १० गते हल खोल्ने भनेर गरेको निर्णयको जानकारी मैले पनि मिडियाबाट थाहा पाएँ ।   

चलचित्र विकास बोर्डले हल खोल्नका लागि गत असारमै पहल चालेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यूले पनि सीसीएमसीमा चिठी लेख्ने भएको छ । मन्त्रिपरिसदमा पनि प्रस्ताव लगिएको छ ।

मेरो विचारमा एक दुई दिनभित्र राज्यबाट यसको निर्णय हुनेछ । अरू छायाङ्कनका गतिविधि अहिले खुलिसकेको छ । अफिसियल रूपमा घोषणा हुन बाँकी हो । मेरो विचारमा पुस १० अगाडि नै हल खुल्छ ।

हल खोल्नका लागि मैले नै सीसीएमसीमा निर्माता सङ्घ, चलचित्र सङ्घका पदाधिकारी लगेर मोडालिटीको विषयमा छलफल गराएको थिए । चलचित्र विकास बोर्डको अहिले सबैभन्दा ठूलो पहल नै हल खुलाउनतिर रहेको छ ।

फिल्म छायाङ्कन फुकुवा

कोरोनाको कारण बन्द भएको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । सरकारले फिल्म छायाङ्कनका लागि भने अब खुला गर्ने भएको छ । सरकारले आउँदो पत्रकार सम्मेलनमा फिल्म छायाङ्कन खुला भएको घोषणा गर्ने तयारी गरेको नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगततर्फ कार्यसमिति सदस्य आकाश अधिकारीले बताए ।

फिल्म क्षेत्र खोल्ने विषयमा हालै उनले उपप्रधान मन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलसँगको भेटमा छायाङ्कन खोल्ने जानकारी दिएको बताए ।

अधिकारीले भेटका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै सरकारले फिल्म छायाङ्कन खोल्न लागेको र चलचित्र हल  खोल्ने विषयमा सरोकारवाला सङ्घसंस्थासँग छलफल गरेर खोल्ने जानकारी दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप