चिनियाँ रेल र हाम्रो दरिद्रता
राजेन्द्र दाहाल
अहिले हामी चीनले भारतको सीमासम्म रेल ल्याइदिने भयो भनी औधी हर्षित भएका छौँ । त्यसो त हामी सदैव अरूले गर्दिने कुरामा मात्र हर्षित हुन्छौँ । आफैले आविष्कार गर्नतिर ध्यान दिँदैनौँ ।
अचम्मको प्रश्न उब्जँदैछ, के चीनले फेरि नेपालका लागि केही गर्दैछ ? जसरी दसकौँ पहिले ट्रलीबस चलाइदिएको थियो, बाँसबारी छालाजुत्ता कारखाना बनाइदिएको थियो वा लुम्बिनी चिनी उद्योग स्थापना गरिदिएको थियो । हरिसिद्धि इँटा टायल उद्योग, गोरखकाली रबर उद्योग आदि इत्यादि कति धेरै सार्वजनिक कलकारखाना र सुविधा चीनले नेपालका लागि सित्तँैमा दिएको थियो र त नेपालले आफ्नो हैसियतलाई अन्तराष्ट्रिय स्तरको बनाउन सकेको थियो । तर बिडम्बना नै भन्नुपर्छ र चीनलाई पनि राम्रोसँग थाहा छ, नेपाललाई दिइएका कुरा सेवाका रूपमा प्रयोग हुँदैनन् । सामान्यतया मर्मतसम्भार गर्न पनि नेपालका प्राविधिकहरू छिटो र छरितो छैनन् ।
मेसिन खराबी भएको अवस्थामा तत्काल अन्वेषण गर्ने क्षमताका वैज्ञानिक नेपालमा निस्कँदैनन् । चीनको रेलमा भर्ती हुन मन्त्रीको सिफारिसले महत्व पाउँछ । किनकि जसरी भृकटी कागज कारखाना भर्तीकेन्द्र भएर विनाश भयो । जसरी गोरखकाली टायर उद्योग कमाउने अखाडा बन्दाबन्दै बन्द भयो । त्यसगरी रेलसेवा पनि भर्ती केन्द्र र कमाउने अखाडा बन्दैन भनेर चीन ढुक्क हुन सक्तैन ।
चीनले ल्याउने रेलमा चीनकै स्वामित्व हुन्छ । कर्मचारी र प्राविधिक चीनका आफ्नै हुन्छन् । मात्र प्रयोग भएको बाटो र कार्यालय वा वर्कसपको भाडा चीनले दिनेछ । त्यसो भएमा त्यो रेललाई नेपालको रेल भनिँदैन । यदि चिनियाँ रेलले कुनै कर्मचारी नेपालका भर्ती गरे, नेपाली जनतासँग तिनीहरूको असमानता प्रष्ट देखिनेछ । यही नै चीनको रेल विरुद्धको निहुँ बन्नेछ र कालान्तरमा चीनको रेल पनि राजनीति तारो बन्नेछ ।
अहिलेको विश्व अर्थतन्त्र, पहिलेको जस्तो सित्तँैमा सहयोग गर्ने अवधारणाबाट टाढा पनि छ । सित्तैँको सहयोगलाई कसरी संरक्षण गरेर नेपाली जनताले राखेका छन् । चीनले देखेको छ । वर्तमान अवस्थामा चीनले नेपालमा जति पनि उद्योग सञ्चालनमा ल्याएको छ । त्यो निजी उद्योग जत्तिकै छन् । ठेकेदारबाट सञ्चालित श्रम र न्यून ज्यालाले नेपाली जनताको जीवनस्तर अघि बढेको छैन । त्यस्ता उद्योगमा काम गर्नुको सट्टा अरबमा गएर श्रम गरे बढी कमाइने सोच विकास भएकै छ । त्यसैले चीनले भारतको सीमासम्म रेल ल्याएर नेपालको गर्व बढाउँदैछ भनेर खुशी हुनु नेपाली जनताको अबोधपना हो ।
नेपालमा अझै पनि पुरानो वा प्राचीन रेलसेवा छँदैछ । जनकपुर रेललाई नेपालले आफैं कति विकसित पार्न सक्यो ? यसबाट कति फाइदा लियो र कति किमि लाइन बिस्तार गर्यो ? रेललाई कति आधुनिक बनायो र सेवालाई कसरी चुस्त बनायो ? सबैलाई थाहा भएको कुरा हो, रक्सौल–अमलेखगन्जसम्मको रेलसेवा किन सुचारु हुन सकेन ? वीरपुर–चतरा–धरानसम्मको रेलसेवा निरन्तर बचाइँदै आएको भए अहिले कति काम लाग्ने थियो ? अझै पनि गर्न चाहेमा रेलका लागि धेरै सम्भावित ठाउँहरू छन् नेपालमै । तर सबै ठाउँमा नेपालको आफ्नो आविष्कार हुन जरुरी छ, न कि अरूले दिँदैमा सधँैलाई पुग्छ भन्ने मानसिकता ।
रेलसेवा विश्वको कुनै पनि देशमा व्यक्तिगत रूपले सञ्चालनमा छैन । बेलायतमा भर्जिन रेल निजी सेवा हो तर त्यो पनि राज्यसंयन्त्रको नियन्त्रणमा छ । रेल सञ्चालन गर्न बलियो राज्यसंयन्त्र हुनु आवश्यक छ । यस्तो राज्यसंयन्त्रको आवश्यकता हुन्छ कि कमाउने, लुट्ने, ठग्ने वा फाइदा मात्र खोज्ने मानसिकताका कर्मचारीलाई कुनै ठाउँ नदियोस्, कर्मचारीलाई कमाउनुपर्ने बाध्यता नदियोस् र मौकै नदियोस् । त्यस प्रकारले सुविधा र नियन्त्रणको घेराभित्र कर्मचारीलाई अनुशासित बनाएर मात्र रेलसेवाको कार्य अगाडि बढाउनुपर्ने हुन्छ । तर अहिलेको नेपालमा कसैले जनताका सेवाका लागि केही दिन्छ भने त्यो बाँदरको हातमा नरिवल मात्र हुनेछ र कर्मचारीलाई सुविधा दिएर अनुशासित बनाउनु पनि जटिल प्रकृयामा गनिन्छ । जसरी साझा यातायातमा भएको थियो । ट्रली बस सेवामा भएको थियो ।
नेपालको जस्तै अर्थतन्त्र र राजनीतिक संरचना भएको थाइल्यान्डमा नेपालसँगै स्थापना भएको वायुसेवा विश्वमा प्रख्यात हँुदैजाँदा नेपालको वायुसेवा एक असफल सार्वजनिक सेवा बन्नपुग्यो सबैलाई थाहा छ । त्यसबेला लन्डनसम्म यात्रु ओसार्ने नेपाल वायुसेवासँग प्रशस्त विमानहरू थिए । थाइल्यान्ड, हङकङ, भारत उडान भर्न कुनै समस्या थिएन । एकलौटी सेवाका रूपमा थेगिरहेको सोही वायुसेवासँग अहिले विमान नहुनु, प्राविधिक नहुनु, सुस्त सेवा हुनुले नेपालमा अहिलेको सार्वजनिक सेवाको अवस्थालाई बुझाउँछ । स्थापना कालदेखि अहिलेसम्ममा राज्यको स्रोत प्रयोग नगरी सो वायुसेवाबाट भएको प्रयाप्त आम्दानीले विश्वको एक उत्कृष्ट वायुसेवा बन्न सक्नुपर्ने थियो, नेपाल वायुसेवा । प्रश्न उठाउन आवश्यक छ, कहाँ गए ती आम्दानी ? कसले गोजी भर्यो ? सित्तैँमा त यात्रु ओसारेन होला । सोझै अनुमान लगाउन सकिन्छ, वायुसेवाको आम्दानीले नेता धनी भए, कर्मचारी धनी भए, प्राविधिक धनी भए । भयो गरिब त देश र देशको नाम गर्व गर्नसक्ने सार्वजनिक यातायात ।
जनकपुर रेल जहिलेदेखि चलिरहेको छ, त्यसको आम्दानीले अहिलेसम्म उत्कृष्ट रेल–वे लिक, उत्कृष्ट यात्रु–कम्पार्टमेन्ट, उत्कृष्ट रेल–वे स्टेसन हुनुपर्नेथ्यो । अत्याधुनिक इन्जिन, प्रशस्त रेल र प्रशस्त समयतालिका हुनुपर्नेथ्यो । त्यसैको आम्दानीले बिजलपुराभन्दा अघि मलङ्गवा, गौर र कलैया हुँदै रक्सौलसम्म रेल पुगेको हुनु पर्नेथ्योे । न्यारोगेजलाई हटाएर ब्रोडगेज लाइन निर्माण भएको हुनु पर्नेथ्यो । त्यही रेलबाट सिकेर पूर्व–पश्चिम राजमार्गको समानान्तरमा रेल–वे लाइन बनिसकेको हुनुपर्नेथ्यो । अनि त निरन्तरता दिँदै देशका हरेक स्थानमा रेल पुर्याउन सकिन्थ्यो । यदि त्यसो भइदिएको भए, त्यही कुरा देशको आविष्कार हुन्थ्यो । अनि मात्र देशलाई त्यसको संरक्षण गर्ने ध्याउन्न रहन्थ्यो । एकातर्फ जनताको सेवा हुन्थ्यो भने अर्कातर्फ राज्यलाई आम्दानी हुन्थ्यो ।
ब्रिटेन विश्वमा सबैभन्दा उत्कृष्ट रेलसेवाको देश हो । के त्यहाँ पनि कसैले आएर रेल बनाइदिएको थियो र ? नेपाली जनताले यो थाहा पाउनुपर्छ, रेलको आविष्कार गर्ने देश नै ब्रिटेन हो । जेम्सवाटले आविष्कार गरेदखि अहिलेसम्म रेलको ढाँचा र बनावटमा जे जति परिवर्तन भएका छन्, ती सबै एकै पटकमा भएका होइनन् । क्रमिक र निरन्तर भएका हुन् । अलिअलि गर्दै, भएकै कुराबाट सिक्दै, प्रयोग गर्दै र सेवा दिँदैजाँदा अत्याधुनिक रेल प्रणालीको विकास गर्न सक्षम भएको हो, ब्रिटेन । त्यसैबाट आम्दानी गरेर त्यसैमा लगानी गर्दै विश्वभरी रेलको बिस्तार गरेर एक धनी देश भएको छ ब्रिटेन । क्लालालम्पुर, दुबई, कतार र कलकत्ताका मेट्रो रेल ब्रिटिस तकनिकी हो । आविष्कार गरेकै कारणले, कसरी जनताका सुविधालाई बढाउन सकिन्छ र अत्याधुनिक प्रविधिको आविष्कार गर्न सकिन्छ भनेर अहोरात्र खट्ने गर्छन् वैज्ञानिकहरू । वैज्ञानिकहरूमा कमाउने, आर्जन गर्ने, धनी बन्ने लालसा थोरै पनि हुँदैन । किन हुँदैन ? किनभने
वैज्ञानिकलाई आवश्यक भएका सबैकुरा राज्यसंयन्त्रले जुटाउने गर्छ । भविष्यको सबै निश्चिन्तता तय गरिदिएको हुन्छ ।
त्यसै पनि हामी नेपाली जनता धेरै पछि छुटिसकेका छौँ । पछिल्तिर फर्किएर हेर्ने हो भने हामी नेपाली जनताले विनाश मात्र गरेका छौँ । धेरै डिजेल प्लान्टलाई ठाउँका ठाउँ सडायौँ हामीले ।
छालाजुत्ता कारखानालाई नगण्य आम्दानीमा बेच्यौँ हामीले, रबर उद्योगबाट केही सिकेनौँ हामीले, कपडा उद्योग र धागो कारखानाबाट कुनै आधुनिक प्रविधि विकास गरेनौँ । ट्रली र साझा बसलाई झुटो शान प्रमाणित गरिदियौँ । वायुसेवालाई सञ्चालनमा असम्भव बनायौँ । गर्न चाहने हो भने अझै बाँकी रहेको छ, नेपालको रेल । सत्तरी वर्ष ढिलो भए पनि त्यसलाई निरन्तर विकास गर्दै नेपालभरी रेल सञ्चालन गर्न सक्छौँ, हामी नेपाली जनताले । चीनको रेलको आशा गर्नु फगत एउटा दरिद्रता मात्र हो । हामीले आफैले सिकेर आविष्कार गर्नु आजको अपरिहार्यता हो ।
इटहरी, सुनसरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तिगत इगो साध्न कारबाहीको सिफारिस गरे : सांसद चौधरी
-
अनुसन्धान केन्द्रबारे शिक्षामन्त्रीको चासो
-
अवैध पेस्तोलसहित एक युवा पक्राउ
-
आईपीएलको मेगा अक्सनमा बिक्री नभएका यी चर्चित क्रिकेटर !
-
कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन
-
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ