बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डबीच महत्त्वपूर्ण समझदारी, एक–अर्कालाई खुइल्याउने प्रस्ताव खारेज होला ?*

बुधबार, ०१ पुस २०७७, १७ : २२
बुधबार, ०१ पुस २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद केही मत्थर भएको छ । बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच पार्टी विवाद हल गर्नका लागि महत्त्वपूर्ण समझदारी भएको नेकपाका एक स्थायी समिति सदस्यले रातोपाटीलाई बताए । 

गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै ल्याएको प्रस्ताव फिर्ता लिने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ भने एकीकृत प्रस्ताव बनाएर बैठकमा छलफलका लागि पेश गर्ने विषयमा पनि छलफल भएको छ । यद्यपि, यस विषयमा ठोस सहमति चाहिँ भएको छैन ।

यसअघि दु्बै प्रस्ताव सचिवालय बैठक हुँदै स्थायी समितिसम्म छलफलका लागि लगिएपछि नेकपाभित्रको विवादले उग्र रुप लिएको थियो । 


यस्तै ओलीले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि फिर्ता हुने भएको छ भने संसदको अधिवेशन बोलाउन प्रचण्ड–माधव नेपाल समूहले गलाएको हस्ताक्षर अभियान पनि स्थगन गर्ने सहमति बनेको छ । 

सोही समझदारी पछि नेताहरु भदौ २६ को सहमति नजिक पुगेको नेकपाका नेताहरुले प्रतिक्रिया दिएका छन् । 

भदौ २६ को स्थायी समितिले सरकार  र पार्टी सञ्चालन दुई अध्यक्षको सल्लाहका आधारमा हुने तथा महत्वपूर्ण संवैधानिक तथा राजनीतिक नियुक्ति पनि सहमतिको आधारमा गर्ने निर्णय गरेको थियो । ओली सरकारका काममा केन्द्रीत हुने र प्रचण्ड पार्टीको काममा केन्द्रीत हुने निर्णय भएपनि ओलीले एकपछि अर्को गरी पार्टीको निर्णय उलंघन गर्दै अघि बढेपछि विवाद बढ्दै गएको थियो । 

*सच्याइएको : यसअघि समाचारमा सहमति भएको उल्लेख भए पनि हालसम्म प्रस्ताव फिर्ता लिनेमा विषयमा छलफल भए पनि ठोस सहमति नभएको प्रचण्ड–नेपाल पक्षीय स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप