बिक्री भएन ९१ लाखको गहुँको बीउ

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा रु ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ ।
पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयमा हाल १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभएर थन्किएको कार्यालयका सूचना अधिकारी गणेश जोशीले जानकारी दिए ।
सो बिक्री नभएको गहुँको बीउको अनुमानित मूल्य करिब रु ९१ लाख रहेको छ । कार्यालयले गहुँको बीउ प्रतिकेजी रु ६५ मा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्ताहरुलाई बिक्री वितरण गर्दै आएको थियो । पछिल्लो पटक निजी बीउ बिक्री उत्पादक कम्पनीले प्रतिकेजी रु ५५ सम्म पनि बिक्री गरेपछि कृषि सामग्री कम्पनीमा मौज्दात गहुँका बीउ बिक्री नभएको कार्यालयको जिकिर छ ।
बिक्री नभई राखिएको गहुँको बीउ समयमै बिक्री गर्न लिमिटेडको सञ्चालक समितिको बैठकबाट मात्रै रकम घटाउन सकिने अन्यथा कार्यालयले कम मूल्यमा गहुँको बीउ बिक्री गर्न पाइने छैन । अब सो गहुँको बीउ बिक्री नभएपछि लिलाम गरिने वा सुरक्षित गरी प्रशोधनपश्चात् अर्को बर्ष बिक्री गरिने कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।
कार्यालयको कार्य क्षेत्रअन्तर्गत चालु आवमा वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश नं २ को बारा, पर्सा र रौतहटसहित अन्य जिल्लामा सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा गहुँको बीउ उपलब्ध गराउँदै आएको थियो ।
किसानसँग वैशाख महिनासम्म खरिद गरी राखेको गहुँको बीउलाई कम्पनीले प्रशोधनपश्चात् बिक्री वितरण गर्ने गर्दछ । त्यसपछि कार्यालयले उचित प्रशोधन गरी हरेक कात्तिक महिनादेखि मङ्सिर मसान्तसम्म गहुँको बीउ बिक्री गर्ने गर्दछ । गहँुको बीउ जात वा बालीमा भृकुटी, विजय, एनएल ९७१ र गौतम आदि पर्दछन् । हरेक वर्षको कात्तिक महिनादेखि पुसको पहिलो सातासम्म गहुँ छर्न उपयुक्त समय मानिन्छ । यस वर्ष बिक्री गरिएको एक हजार ४०८ मेट्रिक टन बीउबाट करिब ३८ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान छ ।
हेटौँडामा यसअगावै रहेको साविकको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड र साविकको कृषि सामग्री संस्थानलाई समावेश गरी सङ्घीय संरचनाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको रूपमा स्थापना गरिएको थियो । विभिन्न पदका ११ कर्मचारीको दरबन्दी रहेको यस प्रादेशिक कार्यालयमा हाल कार्यालय सहयोगी दुई, सवारी चालक एक र अन्य तीन जना प्रशासनिक कर्मचारी मात्र कार्यरत रहेका छन् । कार्यालयमा एक कम्प्युटर सहायक, एक कृषि अधिकृत, एक लेखा अधिकृत, एक नायब प्राविधिक सहायक र एक प्लान्ट (प्रशोधन कारखाना) अपरेटर रिक्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी अस्पतालका रेडियोग्राफर चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा मुद्दा दायर
-
हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार, वार्डमा सारियो
-
नेप्से ३० अंकले घट्यो, कारोबार झण्डै १३ अर्ब
-
सेबीका पूर्वप्रमुख माधवीविरुद्ध एफआईआर गर्न बम्बई उच्च अदालतले लगायो रोक
-
वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति
-
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८१’ परिमार्जन गर्ने सहमति