आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

विकसित मुलुकको जनशक्तिसँग प्रतिस्पर्धा गर्ने शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना

सोमबार, २९ मङ्सिर २०७७, २१ : १४
सोमबार, २९ मङ्सिर २०७७

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमूलक, सीपमूलक र प्रतिष्पर्धी शिक्षा देशका लागि आवश्यक रहेको बताएका छन् ।

पोखरा महानगरपालिका–५ मालेपाटनमा अवस्थित बाराही माध्यमिक विद्यालयमा सात कोठाको पक्की भवनको आज शिलान्यास गर्दै उहाँले विकसित मुलुकको जनशक्तिसँग प्रतिस्पर्धा गरी श्रेष्ठता हासिल गर्न सक्ने खालको शिक्षा आवश्यक रहेको बताए । 

उनले सामुदायिक विद्यालयमा कक्षा कोठा, खेल मैदान, ल्याबलगायतका पूर्वाधारसँगै पठनपाठन गुणस्तरीय हुनुपर्ने आवश्यकता औँल्याए । 

अध्यक्ष तिमिल्सिनाले एसइईमा मात्र नभई उच्च शिक्षा, विश्वविद्यालय तथा विश्वका जुनसुकै विश्वविद्यालयमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी उत्पादन गरेर विद्यालयले गर्व गर्न सक्ने वातावरण बन्नु आवश्यक रहेकामा जोड दिए । 

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले सामुदायिक विद्यालयमा पछिल्लो समयमा भौतिक पूर्वाधारलगायत लगानी वृद्धि भए पनि त्यसबाट प्रतिफल भने न्यून मात्र प्राप्त भएको बताए ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले महानगरका ७० प्रतिशत विद्यार्थी निजी र ३० प्रतिशत मात्र सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेको जानकारी दिँदै सामुदायिक विद्यालयका शिक्षकको तलब भत्तामा वार्षिक रु एक अर्ब ३० करोड खर्च हुने जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले नयाँ बन्ने भवन निर्धारित समयभित्र सम्पन्न गर्नका लागि सरोकार भएकाबाट निरन्तर निगरानी आवश्यक रहेकामा जोड दिए । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु दुई करोड २३ लाखमा लागतमा सात कोठाको साढे तीन तलाको भवन आगामी असार मसान्तसम्म निर्माणका लागि बानियाँ कन्स्ट्रक्सन हेटौँडासँग ठेक्का सम्झौता गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । 

महानगर प्रमुख जिसीले आज नै प्राधिकरणको रु ७८ लाख लगानीमा निर्माण गरिएको चार कोठाको पक्की विद्यालय भवनको उद्घाटन गरे । 

यसैगरी सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको रु आठ लाख बजेटबाट विद्यालयमामा बाल उद्यान पनि निर्माण गरिएको छ । विद्यालयमा गण्डकी प्रदेशसभा सदस्य पहारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गत वर्षको रु पाँच लाख ५० हजार लागतमा खानेपानी आयोजनाको उद्घाटन गरे ।

विसं २०१४ मङ्सिर १५ गते स्थापना भएको विद्यालयमा प्राथमिक बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म गरी ८५० विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक शिवप्रसाद भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप