शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वरिष्ठ उपाध्यक्ष ढकालले सहकारीको दोहोरो सदस्यता त्यागे

सोमबार, २९ मङ्सिर २०७७, १६ : २७
सोमबार, २९ मङ्सिर २०७७

काठमाडौं । बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको दोहोरो सदस्यता त्यागेका छन् । सहकारी ऐन २०७४ को कानुनी प्रावधानलाई आत्मसात गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सोमबार दोहोरो सदस्यता परित्यागको घोषाणा गरेका हुन् । 

ढकालले नवलपरासी वर्दघाटस्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को सदस्यता त्याग गर्दै नवलपरासीकै बर्दघाट नगरपालिका २ चिसापानीको सुपर बचत तथा ऋण सहकारी संस्थाको सदस्यतालाई आत्मसात गरेका छन् । उनले आजै ग्रामीण बचत तथा ऋण सहकारीको सदस्यता त्यागको घोषणा गर्दै औपचारिक रुपमा संस्थामा निवेदन दर्ता गरेका छन् ।

‘मैले एउटै स्थानीय तहभित्र एकै प्रकृतिको दुईवटा संस्थामा सदस्य नरहने कानुनी व्यवस्था अनुरुप ग्रामीण साकोसको सदस्यता त्याग गर्न निवेदन दिएको छु ।’ वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘अब म नवलपरासीको बर्दघाट नपा–२ चिसापानीस्थित हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थामा मात्र आबद्ध रहनेछु ।’

ढकालले भने, ‘हाम्रो सुपर नेफ्स्कूनले प्रबर्धन गरेको साकोस गुणस्तर सुनिश्चितता प्रमाणीकरण सम्बन्धी कार्यक्रम प्राबेशन ब्राण्ड प्राप्त संस्था हो ।’ सहकारी ऐन २०७४ को दफा ३२ (१) मा ‘कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एकभन्दा बढी संस्थाको सदस्य हुन पाउने छैन’ भनी उल्लेख गरिएको छ ।

 ऐन कार्यान्वयनका लागि ३ वर्षको समयावधि उपलब्ध गराइएकोमा उक्त प्रावधान विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरिएको र सँगै कोभिडका कारण कार्यान्वयनमा समस्या पर्ने भन्दै आवाज उठिरहेको बेला नेफ्स्कूनका बरिष्ठ उपाध्यक्षले सोमबार दोहोरो सदस्यता त्यागको घोषणा गरेका हुन् । 

एउटा विषयगत केन्द्रीय निकायको माथिल्लो तहमा बसेका कारण अरुका लागि ऐन कार्यान्वयनमा प्रेरित गर्न आफुले यस्तो निर्णय गरेको बरिष्ठ उपाध्यक्ष ढकालको भनाई छ ।  सहकारी ऐन, २०४८ को पछिल्लो संशोधन सहकारी ऐन, २०७४ ले एउटै प्रकृतिका दुई वा दुई भन्दा बढी संस्थामा एउटै व्यक्ति सदस्य रहन नपाउने व्यवस्था गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप