शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'मेरो आँखा मिस वर्ल्डको ताजमै छ'

सोमबार, २९ मङ्सिर २०७७, १६ : १३
सोमबार, २९ मङ्सिर २०७७

काठमाडौं । नम्रता श्रेष्ठ ‘मिस नेपाल २०२०’को शीर्ष उपाधि  ‘मिस नेपाल वर्ल्ड’ विजेता हुन् । काठमाडौँ चन्दागिरी निवासी श्रेष्ठले मिस नेपालको २६ औँ संस्करणमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । प्रतियोगितामा उनले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार नगदका साथै ‘मिस वर्ल्ड २०२१’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेकी छन् । उनले दोस्रो प्रयासमा ‘मिस नेपाल वर्ल्ड’को उपाधि हात परेकी हुन् । यस अगाडि २०१६ मा उनी उत्कृष्ट ५ भित्र पर्न मात्र सफल भएकी थिइन् । ‘मिस नेपाल वर्ल्ड’को विजेता बनेपछि आफुमा जिम्मेवारी थपिएको महसुस गरेकी श्रेष्ठको काधमा अहिले ‘मिस वर्ल्ड’को ताज नेपाल भित्र्याउने चुनौती पनि छ । उनी पनि ताज नेपाल भित्र्याउने लक्ष्यका साथ ‘मिस वर्ल्ड’को तयारीमा होमिएकी छन् । ‘मिस नेपाल’ यात्रा र ‘मिस वर्ल्ड’को तयारी बिषयमा श्रेष्ठ सँग गरिएको कुराकानीको केही अंश ।

‘मिस नेपाल वर्ल्ड’को उपाधि जित्नु भएको छ । कस्तो अनुभूति भैरहेको छ ?

– एकदमै धेरै खुसी छु । खुसी सँगसँगै जिम्मेवारी पनि धेरै बढेको ठानेकी छु ।

‘मिस नेपाल’मा भाग लिने सोच कहिले देखिको हो ?

– सानैबेलादेखि मिस नेपालमा भाग लिने इच्छा, रहर थियो । उमेर बढ्दै जादा त्यो इच्छा झन् बलियो हुँदै भयो । ‘मिस नेपाल’ हुँदै ‘मिस वर्ल्ड’ मा पुग्ने मैले बच्चादेखि देखेको सपना पनि हो ।

यो वर्षको मिस नेपालमै भाग लिने संयोग कसरी जुर्यो ?

– अहिले मात्र होइन, सन् २०१६ को मिस नेपालमा पनि मैले भाग लिएको थिए । सो समय उत्कृष्ट ५ भित्र म पर्न समेत सफल भएको थिए । त्यसपछि अध्यायनलाई समय दिनुपर्छ भन्ने लागेर त्यतै समय दिए । सन् २०१९ मा आउछु भन्ने सोचेको थिएँ, केही कारणले आउन सकिनँ । त्यो बेला नआएको राम्रो पनि भयो । किनभने त्यो प्रतियोगीताको फाइनल स्पर्धाको समय मलाई ‘चिकेनपक्स’ भयो । यो वर्ष जसरी पनि भाग लिन्छु र उपाधि जित्छु भन्ने मनमा थियो । त्यहि अनुसारको मिहिनेत पनि गरिरहेको छु ।

मिस वर्ल्डमा जाने इच्छा किन थियो ?

– अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो देश चिनाउने अवसर पाउनु एउटा नागरिकका लागि त्यो भन्दा ठूलो सौभाग्य के होला र ? अर्काे कुरा, सानैबाट म ‘मिस वर्ल्ड’ नियाल्दै आएको थिएँ । मिस वर्ल्ड भनेपछि मनमा एक किसिमको छाप परिसकेको थियो । त्यसकारण पनि एकपटक पुग्ने इच्छा थियो ।

नेपालमा धेरै सौन्दर्य प्रतियोगिता आयोजना हुन थालेका छन् । पटक–पटक मिस नेपाल नै किन रोज्नु भयो ?

– सौन्दर्य प्रतियोगिता अझै पनि नेपालमा नयाँ छ । हामीसँग धेरै स्थानीय प्रतियोगीता त छन् । तर, मिस नेपाल जस्तो एउटा छुट्टै लेभलको प्रतियोगिता छैन । यो एउटा चाहिँ राष्ट्रिय प्रतियोगिता पनि भयो । यो जितेपछि आफ्नो देशको प्रतिनिधित्व गरेर बाहिर जान पाइन्छ ।

‘मिस नेपाल’ जित्छु भन्ने लागेको थियो त ?

– आफुले गरेको मिहिनेत सम्झदा जित्नसक्छु भन्ने लागेको थियो । तर अन्य २० जना प्रतिस्पर्धी हेर्दा गाह्रो हुन्छ भन्ने थियो । त्यही भएर धेरै मिहिनेतसमेत गरेको थिए ।

कस्तो मिहिनेत ?

–आफुले आफुलाई कसरी प्रस्तुत गर्ने,  कुन ठाउँमा, कति बोल्ने लगायतको हरेक कुरामा धेरै ध्यान दिएँ । मिस नेपालमा मानिसको मन छुन सक्ने गुण हुनुपर्छ । त्यो बनाएँ ।

यो पटक मिस नेपालको आयोजना पहिले झैँ भएन । त्यसले चर्चामा प्रभाव पार्यो कि ?

– यो वर्ष झन् एकदमै राम्रोसँग भएको भन्ने मैले महसुुस गरेको छु । किनभने म पहिले पनि यो कार्यक्रममा सहभागी भएको भएर दर्शक अगाडि हुँदा भन्दा अहिले एकदमै राम्रो भएको हो । हामीलाई शान्त पनि फिल भयो । स्टेजमा उत्रिँदा धेरै मानिस नदेखेको कारणले पनि हामीले सहज रुपमा प्रस्तुति दिनै मज्जा लियौँ ।

देशको प्रतिनिधित्व गरेर ‘मिस वर्ल्ड’मा जाने अवसरलाई कसरी लिनुभएको छ ?

– नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने कुराले मात्र पनि धेरै खुसी छु । आफुले सोचेको, चाहेको कुरा पुरा भएको छ । हो । यो कुराले धेरै खुसी लागेको छ ।

मिस वर्ल्डमा बिगतमा नेपालले हासिल गरेको उपलब्धिले तपाईंको यात्राका लागि कति चुनौती हो ?

– मैले मिस वर्ल्डलाई नजिकबाट नियालेको ९ वर्ष भयो । मिस वर्ल्डमात्र होइन अन्य अन्तर्राष्ट्रिय प्रतियोगीता पनि हेर्ने गरेको छु । मिस वर्ल्डमा पहिला जति पनि मिस नेपालले गरेको गरेको प्रगतिसमेत नियाल्दै आएको छु । योबाट धेरै कुरा सिक्दै आएको छु । सिक्न अझै बाँकी पनि छ ।

अर्काे कुरो, यस अगाडिका उपलब्धिले मलाई चुनौती पनि धेरै थपेको छ । झरना बज्राचार्यदेखि अहिलेसम्म जति पनि मिस नेपाल मिस वर्ल्डमा जानु भएको छ । राम्रो छाप छोडेर आउनु भएको छ । नेपाल चिनाएर आउनुभएको छ । इच्छा पनि आफ्नो देशलाई राम्रोसँग चिनाउने हो मेरो । मेरो आँखा त मिस वर्ल्डको ताजमै छ ।

‘मिस वर्ल्ड’मा नेपालले राखेको रेकर्ड तोडिएला त यो पटक ?

– मिहिनत गर्यो भने सकिन्छ । आफ्नो मिहिनेत त छँदैछ । सबैको पनि साथ चाहिन्छ । असम्भव भने छैन ।

मिस वर्ल्डका लागि तयारी के हुँदैछ ?

– मिस वर्ल्डको यात्रा धेरै ठुलो कुरो हो । यो हतारमा गर्ने कुरा होइन । कसरी आफुले आफुलाई राम्रो देखाउने भन्ने कुरामा सबै लेवलबाट तयारी गरिरहेको छु । यस अगाडिका मिस नेपालसँग पनि अनुभव शेयर गरिरहेको छु ।

मिस वर्ल्डमा देशको प्रतिनिधित्व गर्दै गर्दा राज्य र समाजबाट कस्तो अपेक्षा राख्नुभएको छ ?

–मिस वर्ल्ड के हो, त्यसका लागि आफ्नो सपोर्ट के चाहिन्छ भनेर बुझिदिनु पर्यो सबैले । मिस वर्ल्डमा भोटिङ सिस्टम पनि छ । त्यसमा नेपालको सहभागीता एकदमै राम्रो छ बिगतमा । यो पटक पनि मैले त्यही सपोर्ट चाहेकी छु ।

मिस वर्ल्डको प्लेटफर्मबाट नेपाललाई विश्वामा कसरी चिनाउने सोच्नु भएको छ ?

– नेपालमा बस्ने मानिसहरुको बारेमा, नेपालको कलासंस्कृति, रीतिरिवाज आदि देखाउने छु । त्यो सँगसँगै म कस्तो छु र मैले मिस वर्ल्ड जिते भनेपनि आफ्नो अवधिभर नेपालको साथै विश्वमा कसरी एउटा आफ्नो छाप छोड्न सक्छु भनेर देखाउने कोसिस गर्नेछु ।

सौन्दर्य प्रतियोगिताबाहेक अन्य रुचिको विषय ?

– म अन्य जस्तै एकदमै साधारण व्यक्तित्वको केटी हो । सानोसानो कुरामा खुसी र दुःखी हुने स्वभाव छ । आफ्नो कारणले अरु खुसी हुँदा धेरै खुसी हुने खालकी छु ।

मिस नेपालको ताजबारे परिवार र आफन्तको दृष्टिकोण कस्तो पाउनुभयो ?

– सन् २०१६ को मिस नेपालमा पनि ताज नजित्दा आफन्तले तिमीले धेरै राम्रो गर्यौँ, तिमीले जित्न सक्थ्यौँ । किन जितेनौँ थाहा भएन भन्नु भएको थियो । फेरि जान्छुभन्दा सबैले सपोट गर्नुभयो । आफन्तले पनि जित्नसक्छौँ भनेर फेरि प्रयासका लागि हौसला दिनुभयो । अहिले सबैजना एकदमै खुसी हुनुहुन्छ ।

त्यो समय के कारणले जित्नुभएन होला ?

– उमेरको हिसाबले पनि सो समय अपरिपक्व थिएँ । धेरै कुराको अनुभव पनि चाहिन्थ्यो । त्यो अनुभव ममा थिएन । त्यतिबेला धेरै कुरा थाहा थिए । त्यो समय मिस नेपाल जितेको भए राम्रोसँग नेपालको प्रतिनिधित्व मिस वर्ल्डमा गर्न सक्दिन थिएँ होला । अहिले सक्छु भन्ने कन्फिडेन्स छ । त्यतिबेला नजितेकोमा अहिले खुसी छु ।

कतिपय राम्रो कुराको सङ्केत सपनामा मिल्छ भनिन्छ नि । त्यस्तो केही सङ्केत थियो त ?

– म पनि त्यो कुरामा विश्वास पनि गर्छु । मलाई पनि सङ्केत भएको थियो । एकपटक सपनामा शिवको मूर्ति देखेको थिएँ । एकदिन सुटिङ गर्दैगर्दा तारा खसेको देखेँ ।

मिस नेपालको सामाजिक दायित्व के हो ?

– हाम्रो सामाजिक दायित्व धेरै नै हुन्छ । मिस नेपाल भन्ने बितिकै देशकै चेली भनेर चिनिन्छ । हामीले बोलेको कुराले अरुमा कसरी प्रभाव पर्छ भन्नेमा ध्यान दिनु जरुरी छ । मेरो कामले प्रभाव पर्नसक्छ । त्यसैले मैले राम्रो काम गर्यो भने वरपरका मानिसले पनि राम्रो काम गर्न बाध्य हुन्छन् भन्ने लाग्छ ।

मिस नेपालका धेरै विजेता कलाकारितामा आएका छन् । तपाईंलाई पनि देख्न पाइन्छ कि ?

– मलाई लाग्दैन म कलाकारको रुपमा राम्रो छु ।

त्यसो भए राजनीतिमा रुचि छ त ?

– अलिअलि रुचि छ ।  कहाँ कुन पार्टीमा को नेता भन्दा पनि कस्ता म्यानेजमेन्टले कस्ता असर पार्छ भन्नेमा रुचि राख्छु ।

प्रधानमन्त्री हुने अवसरमा मिल्यो भने पहिलो काम के गर्नुहन्छ ?

– न्याय नपाएका जति पनि मानिस छन्, ति सबैलाई न्याय दिने काम गर्छु ।

सौन्दर्य प्रतियोगीतामा आउन चाहनेलाई के सल्लाह दिनुहुन्छ ?

– जुनै प्रतियोगितामा पनि जानु पहिले बुझ्नुस् कस्तो प्रतियोगिता हो त्यो भनेर । कतिपय सौन्दर्य प्रतियोगिता जितेपछि गर्ने के भन्ने कुरा पनि आउछ । केहीमा धेरै अवसर पनि छन् । सबै बुझ्नुस्, आफुलाई के ठीक लाग्छ र केमा बेष्ट दिनसक्छु जस्तो लाग्छ । त्यसमा मात्र भाग लिनुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप